निर्वाचन विशेष


बुटवल उपप्रमुखका प्रतिस्पर्धी : एमालेकी अर्याल र गठबन्धनका गुरुङलाई राप्रपाकी ‘कान्छी’को चुनौती

बुटवल उपप्रमुखका प्रतिस्पर्धी : एमालेकी अर्याल र गठबन्धनका गुरुङलाई राप्रपाकी ‘कान्छी’को चुनौती

सुदीप भण्डारी
बैशाख १८, २०७९ आइतबार २०:३५, काठमाडौँ

लुम्बिनी प्रदेशको मुकाम बुटवलमा चुनावी माहोल निकै तातेको छ। उपमहानगरका प्रमुखका उम्मेदवारसँगै उपप्रमुखका उममेदवारहरू पनि आफ्नो पक्षमा माहोल बनाउन घर दैलोमा व्यस्त छन्।

बुटवल उपमहानगरपालिकाको उपप्रमुख पदमा १२ जनाको उम्मेदवारी कायम छ। निर्वाचन अधिकृतको कार्यालयका अुनसार ५ जना दलगत र ७ जना स्वतन्त्र उम्मेदवार रहेका छन्। 

विगतको चुनावी परिणामलाई आधार मान्दा बुटवल पनि कांग्रेस र एमालेबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ। एमालेबाट बाबुराम भट्टराई प्रमुखको उम्मेदवार बन्दा सावित्रा अर्याल उपप्रमुखको उम्मेदवार बनेकी छन्। 

यता कांग्रेस ५ दलीय गठबन्धनको नेतृत्व गर्दै चुनावमा होमिएको छ। कांग्रेसका खेलराज पाण्डे बुटवलको प्रमुखको उम्मेदवार बन्दा नेकपा एकीकृत समाजवादीका चिनबहादुर गुरुङ उपप्रमुखको उम्मेदवार बनेका छन्। 

त्यसैले बुटवलको उपप्रमुखमा एमालेकी अर्याल र गठबन्धनका गुरुङको चर्चा धेरै छ। राप्रपाबाट उपप्रमुखको उम्मेदवार भएकी २५ वर्षीया भगवती पाण्डेले पनि चुनावी माहोल तताएकी छन्। 

एमालेबाट उम्मेदवार बनेकी सावित्रा अर्याल पार्टीको मर्यादाक्रममा प्रमुखका उम्मेदवार भट्टराई भन्दा माथि छिन्। अर्याल एमालेको केन्द्रीय सदस्य हुन् भने भट्टराई प्रदेश सदस्य मात्र हुन्।  

२०४९ को स्थानीय चुनावमा सावित्रा तत्कालिन बुटवल नगरपालिकाको कार्यपालिका सदस्यमा मनोनित भएकी थिइन्। उनी २०५४ मा वडा सदस्यमा निर्वाचित भएकी थिइन्।

सामाजिक क्षेत्रमा लागेकी उनकै पहलमा बुटवलमा साधना महिला विद्यालय स्थापना भएको थियो। महिलाहरूले चलाएको सामुदायिक रेडियो मुक्तिकी पूर्वअध्यक्ष पनि हुन्।

अघिल्लो स्थानीय चुनावमा गोमा आचार्यसँगै उनको पनि उपप्रमुखको रुपमा चर्चा थियो। यस पटक उपमहानगरबाट प्रमुख सिफारिस भएका ८ जनामा नाम परेको भएपनि उपप्रमुखको उम्मेदवार बनेकी हुन्। 

गठबन्धनको तर्फबाट उपप्रमुखको उम्मेदवार बनेका चिनबहादुर गुरुङ एकीकृत समाजवादीका बुटवल नगर अध्यक्ष हुन्। यातायात मजदुर संगठनबाट राजनीति थालेका गुरुङ २०५५ सालमा एमालेको संगठित सदस्य भएका थिए। पछि यातायात मजदुर तथा व्यवसायी भलाई कोषको अध्यक्ष पनि भए।

२०५४ सालमा तत्कालिन बुटवलबाट वडा सदस्य बनेका उनी २०७४ सालको चुनावमा पनि बुटवल ३ बाट वडा सदस्य थिए। एमालेमा हुँदा माधव नेपाल पक्षमा रहेका उनी पार्टी विभाजनसँगै एकीकृत समाजवादीमा आएका हुन्। 

गठबन्धसँग उपप्रमुखमा महिला उम्मेदवार नहुँदाको फाइदा आफूलाई आउने एमालेले अपेक्षा गरेकाे छ।

२०७४ सालको चुनावमा बुटवल उपमहानगरपालिकामा एमाले र कांग्रेस–माओवादी केन्द्रको गठबन्धनबीच प्रतिस्पर्धा थियो। प्रमुखमा एमालेका शिव सुवेदी करिब २४ सय मतान्तरले विजयी हुँदा एमालेकै उपप्रमुखकी उममेदवार गुमादेवी आचार्यले माओवादी केन्द्रका जगत बस्नेत भन्दा १० हजार मत बढी ल्याएकी थिइन्। 

यसपटक पनि गठबन्धनसँग महिला उम्मेदवार नहुँदाको फाइदा आफूलाई हुने एमालेकी उपप्रमुखकी उम्मेदवार सावित्रा आर्यालको दाबी छ। अर्यालले महिला, बालबालिका, अपांगता भएकाहरुका लागि थुप्रै योजना आफूसँग भएको बताइन्।  

‘गठबन्धनको पक्षबाट महिला उम्मेदवार छैन। उहाँहरुले जिते महिलाको गुनासो कसले सुन्छ’ उनले भनिन् ‘मैले महिलालाई शिक्षीत बनाउन र आर्थिक रुपमा शसक्तिकरणको लागि धेरै काम गर्ने छु। म राजनीतिक मात्र होइन सामाजिक अभियान्ता पनि हो त्यसैले जित निश्चित छ।’ 

यस पटक बुटवलमा कांग्रेस र माओवादी केन्द्रको मात्र गठबन्धन छैन, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी पनि एक भएका छन्। एमालेले ५ वर्षमा केही काम नगरेको र ५ दल एक भएकाले आफ्नो जित सुनिश्चित रहेको गठबन्धनका उपप्रमुखका उम्मेदवार चिनबहादुर गुरुङ बताउँछन्। 

‘एमालेले बुटवलमा घोषणा पत्रका उल्लेख भएका धेरै काम गरेन। त्यसैले भोट गठबन्धनका उम्मेदवारलाई नै आउँछ’ उनले भने, ‘हामी सामूहिक रुपमा लागेकाले गठबन्धनकै विजय हुन्छ। एमाले भित्र रहेका धेरै इमान्दार कार्यकर्ताको भोट पनि मलाई आउँछ।’  

उपप्रमुखमा कान्छी उम्मेदवार राष्ट्रिय प्रजातन्त्र पार्टीकी भगवती पाण्डे पनि घर दैलो अभियानमा छिन्। मुख्य दलहरुहरुले नागरिकलाई निराश र दिक्क बनाएकाले त्यसको फाइदा आफूले पाउने पाण्डेले बताइन्। 

‘अहिलेको सरकार र मुख्य दलहरु प्रति मतदाताहरु धेरै निराश हुनुहुन्छ। उहाँहरुले हामीबाट केही आशा गर्नुभएको छ’ उनले भनिन्, ‘झण्डा बोकेर नहिँडे पनि हामीलाई मत दिनुहुन्छ भन्ने लागेको छ। मैले जितेमा बुटवलको विकासको साथै महिलाको क्षेत्रमा पनि धेरै काम गर्छु।’ 

बुटवलको उपप्रमुखको लागि राप्रपा नेपालबाट प्रदीप शेरचन र मंगोल नेसनल अर्गनाइजेसनबाट विजया पुन मगर उम्मेदवार बनेका छन्। त्यस्तै मनु रानाले स्वतन्त्र उम्मेदवारी दिएकी छन्।

किसन गुरुङ, डिलाराम रेग्मी, पशुपति पाण्डे, विकास भट्टराई, हरिप्रसाद पराजुली र हुमनाथ पाण्डे उपप्रमुखको स्वतन्त्र उम्मेदवारको रुपमा रहेका छन्। 

बुटवलको उपप्रमुखमा स्वतन्त्रतर्फ ६ जना पुरुष र एक जना महिला उम्मेदवार रहेका छन्। दलगत तर्फ ३ जना महिला र २ जना पुरुष उम्मेदवारहरु रहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .