विश्वको दोस्रो उच्चहिमाल केटूमा कीर्तिमान कायम गरेपछि फर्किंदा पाकिस्तानमा पाएको स्वागतप्रति नेपाली ओरोही टोलीका नेता निर्मल पुर्जा (निम्सदाइ) ले विशेष कृतज्ञता व्यक्त गरेका छन्।
अहिलेसम्म हिउँदको समयमा कसैले पनि चढ्न नसकेको केटूको शिखर आरोहण गरेर १० जना नेपाली आरोहीहरुको टोलीले गत शनिबार कीर्तिमान कायम गरेको थियो।
त्यसपछि फर्किंदा पाकिस्तानमा त्यहाँका राष्ट्रपति डा. अरिफ अल्भी, सेनाप्रमुख कमार जाभेद बज्वा, संस्कृति मन्त्री जुल्फिकर बुखारी र गिलगिट बालिस्तानका मन्त्री नसिर अली खान लगायतले देखाएको आतिथ्यताप्रति पुर्जाले आभार व्यक्त गरेका हुन्।
‘स्कर्दु र इस्लामाबादमा पुग्दा प्राप्त आत्मीय स्वागतबाट म र मेरो सम्पूर्ण टोलीमा खुशीको सीमा रहेन,’ पुर्जाले शनिबार अपरान्ह ट्विटमा भनेका छन्।
त्यो भावनाबाट आफूहरु औधी खुशी भएको उनले बताएका छन्। पाकिस्तानमा रहँदा त्यहाँ आफूहरुलाई आफ्नै घरमा रहेकोजस्तै अनुभूति भएको उनको भनाइ छ।
पाकिस्तानका राष्ट्रपति, सेनापति, मन्त्रीहरु लगायत उच्चपदाधिकारीहरुले आफूहरुलाई गरेको सम्मानबाट आफूहरु अत्यन्त सम्मानित महशुस गरेको उनले बताएका छन्।
पुर्जाले केटूमा कीर्तिमान गर्ने सो टोली र समग्र नेपाली आरोही समुदायप्रति त्यहाँ व्यक्त प्रशंसा र प्रोत्साहनका शब्दलाई आफूहरुले उच्च महत्व दिएको बताएका छन्।
‘ठूला हिमालहरुमा साना साना कुराले पनि निकै अर्थ राख्छन्। भरियाहरु, बेसक्याम्पमा प्राप्त सहयोग, लजिस्टिक व्यवस्था गर्नेहरु, कुक आदि सबैको महत्वपूर्ण भूमिका हुन्छ,’ उनले भनेका छन्, ‘उनीहरु सबै हाम्रो आरोहणका मेरुदण्ड हुन्, सबैप्रति धेरै धन्यवाद। धन्यवाद पाकिस्तान।’
— Nirmal Purja MBE (@nimsdai) January 23, 2021Me and my entire team are beyond happy and humbled to have received such a pleasant warm welcome on arrival at Skardu and Islamabad. We are overjoyed with emotions and our hearts are full of gratitude. Many thank you to all our Pakistani family for making us feel at home. 1/4 pic.twitter.com/sU1dR7cqfx

प्रतिक्रिया