परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागले विकास गरेको 'मोफा मित्र' नामक मोबाइल एप सार्वजनिक गरिएको छ। परराष्ट्रमन्त्री शिशिर खनालले उक्त एप सार्वजनिक गर्दै औपचारिक शुभारम्भ गरेका हुन्।
मन्त्री खनालले कन्सुलर सेवालाई थप सहज, नागरिकमैत्री, प्रभावकारी तथा प्रविधिमैत्री बनाउन डिजिटल प्रविधिको उपयोग महत्त्वपूर्ण रहेको उल्लेख गरेका छन्। 'मोफा मित्र' एपमार्फत विदेशमा रहेका नेपाली नागरिक र नेपाली नियोगबीच सहज सम्पर्क, समन्वय तथा शीघ्र सूचना आदानप्रदानमा सहयोग पुग्ने विश्वास खनालले व्यक्त गरेका छन्।
कन्सुलर सेवासम्बन्धी गुनासा तथा समस्याको प्रभावकारी सम्बोधन गर्न एप सहयोग हुने बताइएको छ।
कन्सुलर सेवा विभागका महानिर्देशक दुरपदा सापकोटाले कन्सुलर सेवालाई थप सहज, सरल र प्रभावकारी बनाउने नेपाल सरकारको नीतिअनुरूप कन्सुलर सेवाको आधुनिकीकरण तथा डिजिटल रूपान्तरणका लागि विभाग निरन्तर क्रियाशील रहेको जानकारी दिइन्।
एपमार्फत विदेशमा समस्या परेका/अलपत्र परेका/हराएका नेपाली नागरिकहरूको खोजतलास तथा उद्धारका लागि अनलाइन निवेदन दर्ता, मृत्यु भएको अवस्थामा शव व्यवस्थापन, बीमा तथा क्षतिपूर्ति रकम दाबी लगायत अन्य गुनासो तथा समस्या दर्ता गर्न सकिने उनले जानकारी दिइन्।
आफ्नो निवेदन उपर भएको कारवाहीको जानकारी पनि एपबाट लिन सकिन्छ। साथै, नेपाली नियोगहरूको सम्पर्क विवरण तथा नियोगले प्रदान गर्ने सेवासम्बन्धी जानकारी, ट्राभल एड्भाइजरी तथा सुरक्षा सूचना एवं कन्सुलर सेवासम्बन्धी बारम्बार सोधिने प्रश्नहरू तथा अन्य उपयोगी जानकारीहरू समेत समावेश गरिएको सापकोटाले बताइन्।
एन्ड्रोइड तथा आइओएस दुवै प्लेटफर्ममा एप उपलब्ध छ।
Shares

प्रतिक्रिया