बिचुटेन डाटा भोल्टले नेपालकै पहिलो टियर ४ हाइपरस्केल डेटा सेन्टर निर्माण गर्ने भएको छ।
बिहीबार नेपाली उद्यमीहरु नवीन अग्रवाल, मीन अग्रवाल (फेयर ग्रुप), अनुज कियाल (कियाल ग्रुप), विशाल कुमार जाटिया र शरद गोयलको नेतृत्वमा रहेको कम्पनीले उक्त डेटा सेन्टर निर्माणको घोषणा गरेको हो।
यो नेपालकै पहिलो टियर ४ प्रमाणित डेटा सेन्टर हुने कम्पनीले जनाएको छ। यसले ९९.९९५ प्रतिशत अपटाइमको सुनिश्चितता गर्नेछ। अर्थात् वर्षभरिमा २६ मिनेटभन्दा कम मात्र प्राविधिक अवरोध हुन सक्छ । जसले बैंकिङ र दूरसञ्चारजस्ता संवेदनशील क्षेत्रका लागि उच्चतम विश्वसनीयता प्रदान गर्ने कम्पनीको भनाइ छ।
यो परियोजना काठमाडौं (साइट १) र वीरगन्ज (साइट २) गरी दुई रणनीतिक स्थानहरुमा रहनेछ। २४० किलोवाट क्षमताबाट सुरु भई सन् २०३० सम्म यसलाई ५ मेगावाटसम्म विस्तार गर्ने योजना रहेको कम्पनीले जनाएको छ।
यसका लागि विश्वव्यापी साझेदारी गरिएको छ। कम्पनीका अनुसार प्रविधि र विशेषज्ञताका लागि भीभीडीएन, गुगल क्लाउड, एएमडी र माइक्रोनजस्ता प्रविधि कम्पनीहरुसँग रणनीतिक साझेदारी गरिएको हो। यसले स्वदेशी प्रविधि र रोजगारीमा योगदान मिल्नेछ।
यो पूर्वाधारले नेपालमा सूचना प्रविधि र इन्जिनियरिङ क्षेत्रमा ठूलो मात्रामा रोजगारी सिर्जना गर्ने कम्पनीको दाबी छ। साथै भविष्यमा नेपालमै सर्भर, क्यामेरा, ल्यापटप र ट्याब्लेटजस्ता उपकरणहरु उत्पादन गर्ने कम्पनीको लक्ष्य छ। साथै नेपालको डेटा नेपालभित्रै सुरक्षित राख्ने कुरालाई समेत परियोजनाले सुनिश्चित गर्ने दाबी गरिएको छ। यो डेटा सेन्टर ऊर्जा दक्ष र पूर्णतया नेपालको जलविद्युत्मा आधारित हुने भएकाले यसले दिगो र वातावरणमैत्री प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने कम्पनीको भनाइ छ।
तस्बिरहरू :




















सबै तस्बिर : सरोज शाही/नेपालखबर
Shares

प्रतिक्रिया