नेपालको फिक्स्ड ब्रोडब्यान्ड (इन्टरनेट सेवा) दक्षिण एसियाली मुलुकमध्ये तीव्र देखिएको छ।
इन्टरनेटको गति मापन गर्ने संस्था ‘ओकला’ले सार्वजनिक गरेको सन् २०२६ को जनवरीको ‘स्पिडटेस्ट ग्लोबल र्यांक’मा नेपालको फिक्स्ड ब्रोडब्यान्ड दक्षिण एसियाली मुलुकमध्ये सबैभन्दा तीव्र रहेको पाइएको हो।
ओकलाका अनुसार ८४.३८ एमबीपीएस गतिको इन्टरनेट साथ नेपाल विश्वको ८९औँ स्थानमा पर्न सफल भएको छ।
तथ्यांकअनुसार सार्कमा नेपालपछि बंगलादेश दोस्रो स्थानमा छ। बङ्गलादेश ६४.३७ एमबीपीएसका साथ विश्वको ९६औँ स्थानमा र भारत ६१.६७ एमबीपीएसका साथ ९८औँ स्थानमा छन्।
यसैगरी ३५.७९ एमबीपीएस गतिको साथ श्रीलंका १२६औँ, २०.३० एमबीपीएसका साथ माल्दिभ्स १३९औँ, १८.०६ एमबीपीएसका साथ पाकिस्तान १४५औँ र ४.७९ एमबीपीएस गतिको साथ अफगानिस्तान १५०औँ स्थानमा छन्।
भुटान सार्क राष्ट्र भए पनि ओकलाको र्यांकमा नाम समावेश छैन।
लास्ट माइल (घरसम्म) नेपालको फिक्स्ड ब्रोडब्यान्डमा प्रयोग हुने प्रविधि शतप्रतिशत फाइबर रहेकाले सार्क मुलुकको तुलनामा नेपालको इन्टरनेट स्पिड द्रुतगतिको हुन पुगेको नेपाल इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान)का अध्यक्ष सुधीर पराजुलीले बताए।
‘अन्य मुलुकमा एडीएसएल र अन्य प्रविधि छ। हाम्रोमा फाइभर त्यसमा पनि धेरै सेवा प्रदायकले गिगाबाइट प्यासिभ अप्टिकल नेटवर्क (जिपोन) प्रविधिमार्फत सेवा प्रदान गरिरहेका छन्। जिपोनमार्फत १ गिगाबाइटसम्म लास्टमाइलसम्म पुर्याउन सकिन्छ’, पराजुलीले भने।
ग्राहकको गुनासोका कारण अधिकतम इन्टरनेट सेवा प्रदायकले ५० एमबीपीएसभन्दा कम क्षमताको ब्यान्डविथ बिक्री गर्न छाडिसकेका छन्। जिपोन प्रविधि र ५० ब्यान्डविथभन्दा माथिको इन्टरनेट उपयोग गर्नेको संख्या अधिकतम हुँदा नेपालको इन्टरनेट स्पिड दक्षिण एसियाली मुलुकमध्ये अब्बल हुनपुगेको अध्यक्ष पराजुली बताउँछन्।
विश्वको सबैभन्दा तीव्रगतिको इन्टरनेट सेवा सिंगापुरमा उपलब्ध छ। विश्वव्यापी वरीयतामा ४१६.१० एमबीपीएस गतिको इन्टरनेटसहित सिंगापुर शीर्ष स्थानमा छ।
यस्तै ३८७.४१ एमबीपीएससहित संयुक्त अरब इमिरेट्स (यूएई) दोस्रो र ३४८.०२ एमबीपीएसका साथ फ्रान्स तेस्रो स्थानमा रहेको ओकलाको तथ्यांकमा देखिन्छ।
Shares

प्रतिक्रिया