कारोबार


दीपक र शुलभले हिमालयन रिइन्स्योरेन्सको सेयर किन्न ४५ करोड कर्जा दुरुपयोग गरेको आरोप

दीपक र शुलभले हिमालयन रिइन्स्योरेन्सको सेयर किन्न ४५ करोड कर्जा दुरुपयोग गरेको आरोप

नेपालखबर
जेठ २८, २०८३ बिहिबार १८:५०, काठमाडौँ

विवादास्पद व्यापारी दीपक भट्ट र जगदम्बा स्टिल्सका सञ्चालक शंकर अग्रवाल, छोराहरू शुलभ र साहिल अग्रवालले ४५ करोड रुपैयाँ कर्जा दुरुपयोग गरी हिमालयन रिइन्स्योरेन्सको सेयर किनेको पाइएको छ। 

भट्टको कम्पनी इन्फिनिटी होल्डिङ्समार्फत हिमालयन रिइन्स्योरेन्सको सेयर किन्न शंकर समूहले जगदम्बा स्टिल्सको नाममा बैंकबाट लिएको कर्जा दुरुपयोग गरेको प्रहरी अनुसन्धानमा खुलेको हो।

यसविरुद्ध विशेष सरकारी वकिलको कार्यालयले भट्टसहित चार जनाविरुद्ध बैंकिङ कसुरमा उच्च अदालत पाटनको वाणिज्य इजलासमा बिहीबार मुद्दा दर्ता गरेको छ। उक्त मुद्दामा भट्टसँगै सुलभ अग्रवाल, साहिल अग्रवाल र शंकरलाल अग्रवाललाई प्रतिवादी बनाइएको छ।

अनुसन्धान विवरणअनुसार इन्फिनिटी होल्डिङको चुक्ता पुँजी आर्थिक वर्ष २०७७/७८ मा अस्वाभाविक रूपमा बढेको देखिन्छ। कम्पनीको चुक्ता पुँजी २०७७ असार मसान्तसम्म ३ करोड रुपैयाँ रहेकामा २०७८ असार मसान्तसम्म आइपुग्दा ४८ करोड रुपैयाँ पुगेको थियो। तर, उक्त पुँजी वृद्धिको स्पष्ट र विश्वसनीय स्रोत नखुलेको अभियोग पत्रमा उल्लेख छ।

अनुसन्धानमा भट्टको व्यक्तिगत बैंक खातामा जगदम्बा स्टिल्सको खाताबाट ४५ करोड रुपैयाँ रकमान्तर गरिएको देखिएको छ। त्यसपछि सोही रकम भट्टको व्यक्तिगत खाताबाट उनी स्वयं एकल सेयरधनी रहेको इन्फिनिटी होल्डिङको खातामा सारिएको र उक्त रकम प्रयोग गरी हिमालयन रिइन्स्योरेन्सको सेयर खरिद गरिएको पाइएको छ।

उक्त कारोबारलाई वैध देखाउन भट्ट र जगदम्बा स्टिल्सबीच जग्गा खरिद–बिक्रीको बैना सम्झौता गरिएको भन्दै प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोको अनुसन्धान त्यसलाई ‘कृत्रिम कारोबार’ को रूपमा व्याख्या गरेको छ। अनुसन्धान अनुसार हिमालयन रिइन्स्योरेन्सको सेयरमा लगानी गर्न प्रयोग गरिएको रकमको स्रोत वैध देखाउने उद्देश्यले मात्रै जग्गा बैनाको कागजात तयार गरिएको आरोप लगाइएको छ।

जगदम्बा स्टिल्सको नाममा प्रवाह भएको वर्किङ क्यापिटल कर्जाबाट रकम निकालेर क्रमशः दीपक भट्टको व्यक्तिगत खातामार्फत इन्फिनिटी होल्डिङ प्रालिमा स्थानान्तरण गरिएको र अन्ततः सोही रकम हिमालयन रिइन्स्योरेन्सको सेयर खरिदमा प्रयोग भएको उल्लेख छ।

यसरी इन्फिनिटी होल्डिङ प्रालिले हिमालयन रिइन्स्योरेन्समा गरेको ४५ करोड रुपैयाँको लगानीको वास्तविक स्रोत जगदम्बा स्टिल्सको नाममा लिइएको कर्जा रकम रहेको तथा उक्त रकम दुरुपयोग गरी विभिन्न खातामार्फत रकमान्तर गरिएको अनुसन्धानबाट देखिएको छ।

अनुसन्धानका क्रममा संकलन भएका बैंक खाताको विवरण, वित्तीय कारोबारको विश्लेषण तथा सम्बन्धित कागजातका आधारमा उक्त रकमको प्रवाह जगदम्बा स्टिल्सबाट भट्ट हुँदै इन्फिनिटी होल्डिङ प्रालिसम्म पुगेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad