कारोबार


सामसङ इनोभेसन क्याम्पसका ५६ विद्यार्थीहरूलाई प्रमाणपत्र

सामसङ इनोभेसन क्याम्पसका ५६ विद्यार्थीहरूलाई प्रमाणपत्र

नेपालखबर
भदौ ५, २०८२ बिहिबार १७:५३, काठमाडौँ

सामसङले कम्पनीको सामाजिक उत्तरदायित्व कार्यक्रम सामसङ इनोभेसन क्याम्पसअन्तर्गत कोडिङ र प्रोग्रामिङ कोर्सको तेस्रो ब्याच पूरा गरेका त्रिभुवन विश्वविद्यालयको पूर्वीय इन्जिनियरिङ क्याम्पसका ५६ जना विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गरेको छ।

यसैको साथै नयाँ ब्याचको एआई र बिग डेटाको तालिम सुरु हुने कम्पनीले जनाएको छ। 

त्रिभुवन विश्वविद्यालयका कुलपति प्रो. डा. दीपक आर्यल, पूर्वीय क्याम्पस प्रमुख डा. सञ्जय उप्रेती र इन्जिनियरिङ अध्ययन संस्थाका डीन प्रो. डा. सुशील बी. बज्राचार्यको उपस्थितिमा एक कार्यक्रम आयोजना गरी विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो।

सामसङ नेपाल कार्यालयका मानवस्रोत प्रबन्धक जयन्तमणि कायस्थले कोडिङ र प्रोग्रामिङको तेस्रो ब्याच सफलतापूर्वक पूरा भएकोमा प्रसन्नता व्यक्त गरे। 

सामसङ इनोभेसन क्याम्पसले नेपाली युवाहरूलाई भविष्यमुखी सीपहरूले सशक्त बनाउँदै आएको उनको भनाइ छ। 

उनले भने, ‘त्रिभुवन विश्वविद्यालयसँगको सहकार्यमा हामी एआई, बिग डेटा र आईओटीको तालिमलाई अझ बलियो बनाउने र विद्यार्थीहरूलाई भविष्यको रोजगारीको लागि तयार गर्न लक्ष्य राखेका छौँ।”

डिसेम्बर २०२२ मा त्रिभुवन विश्वविद्यालयमा सुरु भएको सामसङ इनोभेसन क्याम्पसले नेपाली युवाहरूलाई एआई, आईओटी, बिग डेटा र कोडिङ र प्रोग्रामिङमा तालिम दिई एक बलियो प्रविधि र नवीनताको इकोसिस्टम निर्माणमा योगदान दिइरहेको छ। एल्गोरिदम, डाटा स्ट्रक्चर र प्रोग्रामिङको ज्ञानको आधारमा विद्यार्थीहरूको छनौट गरिन्छ।

इन्जिनियरिङ अध्ययन संस्थाका डीन, प्रो. डा. सुशील बी. बज्राचार्यले भने, “नेपालमा यो प्रतिष्ठित कार्यक्रम सञ्चालन गर्न सामसङसँग सहकार्य गर्न पाउँदा हामी गर्वित छौं। कोडिङ र प्रोग्रामिङ कोर्सलाई धेरै सराहना मिलेको छ र हामी हाम्रा विद्यार्थीहरूको लागि भविष्यको प्रविधि सिकाइको दायरा अझ बिस्तार गर्न चाहन्छौं।”

यस कार्यक्रममा प्राविधिक सीपको साथै रोजगारीयोग्यता, समस्या समाधान र सृजनात्मकता जस्ता सफ्ट स्किलहरुको पनि तालिम दिइन्छ।

साथै, विद्यार्थीहरूले एआई, बिग डेटा, कोडिङ र प्रोग्रामिङ र आईओटी प्रविधिहरू प्रयोग गरी सामाजिक महत्वका परियोजनाहरूमा पनि काम गर्छन्। यसले वास्तविक संसारका चुनौतीहरूको समाधान गर्न मद्दत गर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad