अबदेखि अविच्छिन्न वाइफाइ (सिमलेस कनेक्टिभिटी/रोमिङ/मोबिलिटी) मोबाइल अपरेटरले मात्र दिन पाउने भएका छन्।
नियामक नेपाल दूरसञ्चार प्राधिकरणले आइतबार सूचना जारी गर्दै मोबाइल अपरेटरले मात्र यस किसिमको वाइफाइ सेवा प्रदान गर्न सकिने जानकारी गराएको हो।
विगत केही वर्षदेखि इन्टरनेट सेवाप्रदायकहरुले पनि वाइफाइको माध्यमबाट अविच्छिन्न रुपमा इन्टरनेट प्रदान गर्दै आइरहेका थिए।
आईएसपीमार्फत अधिकतम स्थानमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध हुँदै आइरहेको थियो। यस्तो सेवाका कारण उपभोक्ताको रुचि मोबाइल डेटाभन्दा पनि निःशुल्क वाइफाइमा थियो।
आईएसपीले वाइफाइ हटस्पटमार्फत सेवा प्रदान गर्दा आफ्नो क्षेत्राधिकारमा हस्तक्षेप भएको मोबाइल अपरेटहरुको बुझाइ थियो।
निःशुल्क वाइफाइ सेवाका कारण मोबाइल अपरेटरहरुले आफ्नो आम्दानीमा नकारात्मक प्रभाव परेको भन्दै विरोध जनाउँदै आइरहेका थिए। उनीहरुले यो व्यवस्था हटाउन लबिङ समेत गरिरहेका थिए।
अहिले प्राधिकरणले सूचनामार्फत मोबाइल अपरेटरबाहेक अन्यलाई अविच्छिन्न वाइफाइ सेवा बन्द गर्न निर्देशन दिएको हो। निर्देशनको अवज्ञा गरे कानुनबमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ।
Shares

प्रतिक्रिया