सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र फेसबुकको माउ कम्पनी मेटाका प्रतिनिधिबीच संवाद भएको छ।
मन्त्रालयले वैशाख ७ गतेसम्म दर्ताका लागि समय दिएको विषयमा सिंगापुरको कार्यालयसँग छलफल गरेको हो।
सामाजिक सञ्जालहरू कर कार्यालयमा दर्ता भई नेपाल सरकारलाई कर तिरिरहेका छन्। तर सञ्चार मन्त्रालयले सूचीकरण हुनका लागि आह्वान गरे पनि ठूला कम्पनी आउन मानेका छैनन्।
‘नेपालमा ८३ प्रतिशत प्यानिट्रेसन मेटाको छ,’ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले भने, ‘मेटाका फेसबुक, ह्वाटस्एप, इन्स्टाग्राम चल्छन्। त्यसबाहेक टिकटक १३ प्रतिशत हिस्सा हुँदा एक्स, लिंक्डइनको थोरै हिस्सा छ। त्यसैले मेटाका प्रतिनिधिसँग छलफल गरेका हौँ।’
मन्त्रालयकी सचिव राधिका अर्यालसहितका प्रतिनिधि भर्चुअल संवादमा सहभागी थिए। त्यस क्रममा मेटाका प्रतिनिधिले माथिल्लो निकायमा छलफल गरी आइतबार–सोमबारसम्म जवाफ दिने बताएका छन्।
फेसबुक, एक्सलाई सूचीकरण हुन मन्त्रालयले दियो १ महिना, नभए नेपालमा प्रतिबन्ध लगाउने चेतावनी
‘हामीले नेपालमा मेटा सूचीकृत भई अरू कम्पनीको रोल मोडल बन्न आग्रह गरेका छौँ। मेटाले गरे मात्रै अरू कम्पनी सूचीकृत हुन्छन्,’ सहसचिव ठाकुरले भने, ‘दर्ता हुन्छौँ वा हुँदैनौँ केही भनेन। कम्पनीको व्यवस्थापनसँग थप छलफल गरी नेपाललाई जवाफ दिने बताएका छन्।’
सञ्चार मन्त्रालयले सामाजिक सञ्जाललाई सूचीकरण हुँदा कुनै शुल्क नलाग्ने बताएको छ।
Shares

प्रतिक्रिया