कारोबार


स्याटेलाइट इन्टरनेट : मस्क र रेबेकासँग ओलीको वार्ता, चीन र भारतको सुरक्षा चासो

‘भारतकोजस्तै नेपालको पनि सबै डेटा अमेरिका जान्छ कि भन्ने चासो छ’
स्याटेलाइट इन्टरनेट : मस्क र रेबेकासँग ओलीको वार्ता, चीन र भारतको सुरक्षा चासो

वसन्त अर्याल
मंसिर ११, २०८१ मंगलबार १४:१३, काठमाडौँ

अमेरिकी ट्रिलेनियर इलन मस्कको कम्पनी स्टारलिंकले नेपालमा पनि स्याटेलाइट इन्टरनेट ल्याउन जोडबल गरेको छ।

विश्वका धनाढ्य इलोन मस्कले दक्षिण एसियाका अन्य देशसँगै नेपालमा आफ्नो व्यवसाय विस्तार गर्न खोजेका हुन्। उनको स्टारलिंकले स्याटेलाइटबाट एक सय बढी देशमा इन्टरनेट सेवा दिइरहेको छ।

स्टारलिंक नेपालमा २–३ वर्षदेखि यता आउने चर्चामा छ। तर पछिल्ला केही महिनायता भने औपचारिक रुपमै आउन खोजेको देखिएको छ।

चीन भ्रमणको अन्तिम तयारीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मस्कसँग गत शुक्रबार भिडियो संवाद गरे, जसले फेरि भूराजनीतिक तरंग पनि पैदा गरेको छ। स्याटेलाइटबाट इन्टरनेट दिनेगरि स्टारलिंक नेपाल आउन खोजेको चर्चामा चिनियाँ र भारतीय पक्षले पनि चासो बढाएका छन्।   

हाल केबल तारमार्फत इन्टरनेट चलिरहेको प्रणालीमा परिवर्तन गर्दै अन्तरिक्षमा रहेका स्याटेलाइटहरूबाट स्टारलिंकले इन्टरनेट प्रवाह गर्छ।

स्टारलिंक स्याटेलाइट प्रविधिको इन्टरनेट सेवा हो। पृथ्वीको तल्लो कक्षमा घुम्ने स्टारलिंकको बेस, राउटर, स्टारलिंक केबल र एसी केबलबाट इन्टरनेट चल्छ।

प्रधानमन्त्री ओलीले मस्कसँग कुराकानी भएको बताउँदै नेपाल भम्रणको निम्तो दिएको सामाजिक सञ्जाल एक्समै उल्लेख गरेका छन्।

प्रधानमन्त्री कार्यालयले मस्कसँग कुन–कुन विषयमा छलफल भयो भन्ने स्पष्ट जानकारी दिएको छैन। तर प्रधानमन्त्री कार्यालयका अधिकारीहरुले नेपालका प्रधानमन्त्री र मस्कबीच स्टारलिंकको विषयमा कुराकानी भएको उल्लेख गरेका छन्।

नेपालमा स्याटेलाइट इन्टनेट सेवा उपलब्ध गराउने प्रयास जारी राख्ने विषयमा छलफल भएको उनीहरुको भनाइ छ।  

मस्क र ओलीबीचको भर्चुअल कुराकानी (प्रधानमन्त्रीको सचिवालय)

प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका गएको समयमै न्युयोर्कमा मस्कसँग भेटघाट गर्ने तय भएको थियो। तर त्यो समय मस्क न्युयोर्क बाहिर भएकाले भेटघाट हुन सकेन। यसै सिलसिलामा शुक्रबार भर्चुअल संवाद भएको बताइएको छ। 

भदौमा स्टारलिंककी ग्लोबल लाइसेन्सिङ एन्ड मार्केटिङ डाइरेक्टर रेबेका हन्टरसहितको टोली नेपाल आएको थियो। टोलीले प्रधानमन्त्री ओली र सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङसँग भेट गरेको थियो। सञ्चारमन्त्री गुरुङले अमेरिकी राजदूत र स्टारलिंककी निर्देशकले आफूसँग भदौमा भेटेर नेपालमा काम गर्ने चाहना राखेको सार्वजनिक रुपमा बताइसकेका छन्।

स्रोतहरूका अनुसार स्टारलिंकले यो भेटघाटमार्फत् नै नेपाल आउन औपचारिक रुपमा पहल थालेको थियो।

तर यो भेटमा प्रधानमन्त्री ओलीले संभवतः भारत र चीनको पनि चासो बुझेर हुनसक्छ, स्टारलिंकको टोलीलाई सकारात्मक जवाफ दिएका थिएनन्। 

पहिला ठूलठूला जनसंख्या भएका मुलुकहरूमा व्यवसाय विस्तार गरेर मात्रै नेपाल आए हुने संकेत  गर्दै ओलीले स्वीकृति दिने वा नदिने विषयमा स्पष्ट निर्णय नदिएको अधिकारीहरुले दाबी गरेका छन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव गजेन्द्र ठाकुरले स्टारलिंकले आधिकारिक रुपमा मन्त्रालयमा प्रविधिबारे जानकारी नदिएकाले धेरै भन्न सकिने अवस्था नरहेको बताए। 

‘स्टारलिंकको बिफ्रिङपछि मात्रै कस्तो प्रविधि हो, सुरक्षामा कस्ता चुनौती छन्, थाहा हुन्छ,’ ठाकुरले नेपालखबरसँग भने, ‘आर्थिक रुपमा कस्तो प्रभाव पार्छ, अरु सेवा प्रदायकसँग कसरी प्रतिस्पर्धा गर्नसक्छ भन्ने विश्लेषण नै गर्न पाएका छैनौँ।’

ठाकुरले स्टारलिंकले राजनीतिक तहमा मात्रै कुराकानी गरेको भन्दै कर्मचारी तहमा छलफल हुनै बाँकी रहेको बताए। 

‘राजनीतिक तहमा छलफल हुँदा एउटा वातावरण बन्न सहयोग पुग्छ। माथिल्लो तहमा राम्रो बुझाइ हुँदा कर्मचारीलाई कार्यान्वयन गर्न सहज हुन्छ’, उनले थपे, ‘विश्वका अरु देशमा सस्तोमा इन्टरनेट उपलब्ध गराएको देखिन्छ। हामीले पनि ल्याउँदा राम्रो नै हुनसक्छ।’

भारतमा पनि स्टारलिंकले आफ्नो सेवा विस्तारका लागि प्रयास गरिरहेको छ। तर भारतीय अधिकारीहरुले सुरक्षाबारे बढी चासो राखेका छन्। 

‘छिमेकी मुलुक भारतमा डेटा सुरक्षाको कारण देखाउँदै अनुमति रोकिएको भन्ने देखिन्छ’, ठाकुरले भने, ‘भारतको सबै तथ्यांक अमेरिका जान्छ कि भन्ने चासोजस्तै नेपालको पनि छ। नेपालीहरुको तथ्यांक कसरी सुरक्षा गरिन्छ भन्ने महत्त्वपूर्ण विषय हो।’

अमेरिकी राजदूतसहित स्टारलिंकको टिमसँग भेट्दै सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ

स्टारलिंकमा डेटा सुरक्षाको चिन्ता
गत मे १९ मा मस्क आफैँले इन्डोनेसियामा स्पेस एक्सको स्याटेलाइट इन्टरनेट सेवाको औपचारिक सुरुवात गरेका थिए। यसअघि नै मलेसिया, फिलिपिन्स, मंगोलिया, जापानमा स्टारलिंक उपलब्ध भइसकेको छ। 

दक्षिण एसियामा माल्दिभ्समा सञ्चालनमा आइसकेको छ भने श्रीलंकाको संसदले वर्षौं पुरानो दूरसञ्चार सेवासम्बन्धी कानुन संशोधन गर्दै स्टारलिंक भित्र्याउन सहजीकरण गरेको छ। 

२८ वर्षमा पहिलोपटक संशोधन भएको श्रीलंकाली कानुनअनुसार अब दूरसञ्चार सेवाको लागि तीन प्रकारको अनुमति दिइने व्यवस्था गरिएको छ। योसँगै स्टारलिंकले सञ्चालन अनुमति पाइसकेको छ। 

सार्कका भुटान र बंगलादेशमा २०२५ बाट स्टारलिंकको इन्टरनेट सञ्चालनमा आउने बताइएको छ। अफ्गानिस्तानमा कुनै प्रक्रिया अघि नबढाएको स्टारलिंक भारतमा कानुनी स्वीकृतिको पर्खाइमा छ। भारतमा स्टारलिंक इन्टरनेट विस्तारमा विशेष पहल गर्दे आएका मस्क यसका लागि भारतको दूरसञ्चार मन्त्रालयबाट सैद्धान्तिक स्वीकृति लिन सफल भइसकेका छन्।

स्टारलिंक उन्नत प्रविधियुक्त स्याटेलाइटहरु र युजर हार्डवेयरसँग संयोजित द्रुतगतिको इन्टरनेट हो। 

यो इन्टरनेटमा डाउनलोड १० जीबीपीएससम्म, अपलोड १० जीबीपीएससम्म रहेको कम्पनीले जनाएको छ। स्टारलिंक स्याटेलाइट नेटवर्कबाट स्टारलिंक गेटवे, कम्युनिटी गेटवे हुँदै स्थानीय नेटवर्कमा उपलब्ध हुन्छ। 

नेपालमा कानुन नै छैन
नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक सन्तोष पौडेल स्टारलिंक सर्भिसेज एलएलसीले नेपालमा इन्टरनेट सञ्चालन गर्न २० प्रतिशत सेयर नेपालीलाई दिनुपर्ने बताउँछन्। 

‘स्टारलिंकले २० प्रतिशत सेयर स्वामित्व नेपालीलाई दिएर कम्पनी दर्ता गरी स्वीकृतिको लागि प्राधिकरणमा आवेदन दिनसक्छ’, निर्देशक पौडेलले भने, ‘स्टारलिंकले अहिले पूर्ण स्वामित्व आफैमा राख्न खोजेको छ, जुन सुविधा हाम्रो कानुनले दिएको छैन।’

उनले अहिलेसम्म स्टारलिंकबाट प्राधिकरणमा आधिकारिक रुपमा नेपालमा इन्टरनेट प्रयोग गर्न चाहेको भन्ने पत्र वा आवदेन नपरेको बताए।  

प्राधिकरणकै उपनिर्देशक डा प्रदिप पौड्यालले पनि स्टारलिंक नेपाल भित्रिनका लागि प्राविधिकभन्दा पनि कानुनी अप्ठ्यारो बढी रहेको बताए।  

‘विद्यमान दूरसञ्चार ऐनअनुसार स्टारलिंक आउन खोजे नेपालीलाई सेयर दिएर आउनुपर्छ। यसमा पनि लाइसेन्स लिँदा छुट्टै मोबाइल हुने कि नहुने विषय आउन सक्छन्’, उनले भने, ‘प्राविधिक रुपमा नेपालमा स्टारलिंकबाट इन्टरनेट पुर्‍याउन खासै अप्ठ्यारो छैन। उसले चाहेको स्पेक्ट्रम (फ्रिक्वेन्सी) सरकारले निर्णय गरेर दिनसक्छ।’

सरकारले स्पेक्ट्रम वितरण गर्दा सिधै नभई प्रतिस्पर्धा गराएर मात्र दिनुपर्ने हाम्रो कानुनी व्यवस्था भएकाले स्टारलिंकलाई मात्र दिन नमिल्ने अवस्था छ। त्यसका लागि छुट्टै सुविधा कानुनमा राख्नुपर्छ।

‘नयाँ दूरसञ्चार ऐन बन्ने प्रक्रियामा छ। संसदले स्टारलिंकजस्ता कम्पनीलाई आउन सजिलो बनाइदिने र सरकारी नियमावली त्यसैअनुसार बनाए कार्यान्वयन गर्न धेरै अप्ठ्यारो हुँदैन’, पौडेलले नेपालखबरसँग भने। 

इन्टरनेट सेवा उपलब्ध गराउन अमेरिकाको फ्लोरिडास्थित केप कानाभरलमा स्पेस एक्सको फाल्कन रकेटबाट स्याटेलाइट प्रक्षेपण गरिएको अहिले ५ वर्ष भएको छ। त्यतिबेला कम्पनीले २०२० बाट नै विश्वमा बिम इन्टरनेट पु¥याएको थियो। ६० वटा स्याटेलाइट पृथ्वीको तल्लो कक्षमा पठाएसँगै इन्टरनेट सेवा सुरु गरिएको थियो। 

२०२४ को नोभेम्बरसम्म आइपुग्दा ७ हजार बढी साना स्टारलिंक स्याटेलाइटहरु पृथ्वीको तल्लो कक्षमा फन्को मारिरहेका छन्। जसले पृथ्वीको सतहमा इन्टरनेट सेवा दिन्छन्। २०२४ मा कम्पनीले ६.६ बिलियन अमेरिकी डलर आम्दानी गर्ने लक्ष्य राखेको छ। 

सन् २०२३ को एक तथ्यांकअनुसार अहिले पनि २ अर्ब ६० करोड विश्व जनसंख्या इन्टरनेटको पहुँचबाहिर छ। तर पृथ्वीका कुनै पनि कुनामा स्टारलिंकले इन्टरनेट पु¥याउने बताउँदै आएका अर्बपति मस्क त्यसलाई व्यवहारमा पनि पूरा गर्ने चरणमा देखिएका छन्। इन्साइडर टेकका अनुसार ११३ देशमा स्टारलिंकको इन्टरनेट सुरु भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad