हुलाकी राजमार्गअन्तर्गत झापा र मोरङ जिल्ला जोड्ने रतुवा खोलाको पुल विस्तारका लागि ठेक्का लागेको छ। १५ वर्षदेखि पुल विस्तार अलपत्र पर्दा स्थानीय बासिन्दा पैसा तिरेर बाँसको अस्थायी पुलबाट रतुवा खोला तर्न बाध्य छन्।
हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय (इटहरी) का अनुसार साढे दुई वर्षभित्र सम्पन्न गर्नेगरी रतुवा पुल विस्तारको ठेक्का लगाइएको हो।
योजना कार्यालयका इन्जिनियर प्रमोद खतिवडाका अनुसार गत पुस १८ गते देव एन्ड सायर समता आशिष सन्दीप जेबीले पुल विस्तारको ठेक्का लिएको हो। यसले पुल २०८२ असार मसान्तसम्म निर्माण सम्पन्न गरी सक्नुपर्ने इन्जिनियर खतिवडाले बताए।
कूल २२ करोड १२ लाख ३७ हजार रुपैयाँ लागतमा विस्तार हुने पुलको झापातर्फ २५ मिटरको एक स्पन थपिनेछ भने मोरङतर्फ २५/२५ मिटरको दुई स्पन थपिने छन्। त्यसैगरी झापातर्फ साढे ६ सय मिटर र मोरङतर्फ १४ सय मिटरको खोलामा तटबन्ध गरिने छ।
हुलाकी राजमार्गअन्तर्गत झापा–मोरङ जोड्ने सडक मोटर चल्ने अवस्थामा रहे पनि पुल नहुँदा सडक पूर्ण रूपमा प्रयोगमा आउन सकेको छैन। रतुवा खोलामा पुल विस्तार भएपछि प्रदेश १ को राजधानी रहेको विराटनगरबाट हुलाकी राजमार्ग हुँदै छोटो दूरीको याात्रामा झापाको पुरानो बजार गौरीगन्ज, भद्रपुरलगायत दक्षिणी क्षेत्र आवतजावतमा सहज हुनेछ।
रतुवामा पुल अलपत्र हुँदा झापाबाट विराटनगर आउन पूर्वपश्चिम राजमार्ग भएर यात्रा गर्नुपर्ने बाध्यता छ। हुलाकी राजमार्गबाट आवतजावत गर्नुपर्दा दुईपांग्रे सवारीसाधनमा आउन सकिने भए पनि रतुवा खोला तर्न कठिन हुने भएकाले कतिपय स्थानीयले ६ किलो मिटर दक्षिणमा रहेको भारतको फुलवरिया पुल प्रयोग गर्ने गरेका छन्।
हुलाकी राजमार्ग भएर यात्रा गर्नेले खोलामा तयार बाँसको पुलबाट आउजाउ गर्दा साइकल र मोरटसाइकल तारेको २० र ५० रुपैयाँ तिर्नुपर्ने हुन्छ।
लामो समयदेखि रतुवा खोलामा पक्की पुल एकतर्फी मात्र निर्माण भएकाले प्रयोगमा आउन सकेको छैन। यसैकारण अस्थायी रूपमा बनाइएको बाँसको पुल प्रयोग गर्नुपर्ने भएको हो।
पुलको मोरङतर्फ भागमा खोलाको ठूलो भंगालो पर्छ। हुलाकी राजमार्गअन्तर्गत झापातर्फ गौरीगन्ज र मोरङतर्फ रतुवामाईलाई रतुवा खोलाले जोडेको छ। जसमध्ये गौरीगन्ज गाउँपालिका एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रअन्तर्गत पर्छ भने रतुवामाई पूर्व एमाले मोरङ अध्यक्षसमेत रहेका सांसद ऋषिकेश पोखरेलको निर्वाचन क्षेत्रमा पर्छ।
मोरङ क्षेत्र नम्बर २ मा यसअघि पूर्वरक्षा मन्त्रीसमेत रहेका डा. मीनेन्द्र रिजाल विजयी भएका थिए। यसपटकको निर्वाचनमा भने कांग्रेस नेता सुजाता कोइरालालाई हराउँदै एमालेका पोखरेल विजयी भए।
रतुवामाई नगरपालिकाकी उपमेयर दमन्तादेवी चुँडालका अनुसार रतुवाखोलाको पक्की पुल प्रयोग गर्ने अवस्थामा नहुँदा गौरीगन्जदेखि विराटनगरसम्म ४५ किलोमिटरको यात्रा दमक, इटहरी हुँदै सय किलोमिटर पार गर्नुपर्ने अवस्था छ।
झापा र मोरङ जिल्लाका सर्वसाधारणलाई खोला वारपार गर्नदेखि लिएर स्थानीय उत्पादन बजारसम्म पुर्याउन निकै समस्या भइरहेको छ। उपमेयर चुँडालका अनुसार बर्खाको समयमा शुल्क तिरेर डुंगाबाट आवतजावत गर्नुपर्ने अवस्था छ।
बाढी आएका बेला डुंगाबाट खोला तर्न पनि निकै जोखिम हुने गरेको छ। सात वर्षअघि डुंगा पल्टिँदा खोलाले बगाएर ४ जनाको मृत्यु भएको थियो भने तीन जना अहिलेसम्म बेपत्ता छन्।
खोलामा पुल बनेको १५ वर्ष भए पनि पुल डिभिजन कार्यालय (इटहरी) ले लम्बाइ कम भएको भन्दै बढाउने प्रयत्न तत्कालीन समयमा गरे पनि सडक विभागको पुल महाशाखाले अनुमति दिएन। मोरङ–सुनसरी पुल आयोजनाले आर्थिक वर्ष २०६४/६५ मा कालिका–ओसिए जेभीलाई पुल निर्माणको ठेक्का दिएको थियो। करसहित १० करोड ३२ लाख ९१ हजार रुपैयाँमा ठेक्का पाएको निर्माण कम्पनीले ढुकुटीबाट पैसा लिए पनि पुल निर्माण भने अलपत्र पर्यो।
रतुवा खोलाको मध्य भागमा पुल बनेको छ। सडक डिभिजन कार्यालयअन्तर्गत सुनसरी–मोरङ पुल आयोजनाले कालिका ओभरसिज प्रालिमार्फत २ सय ५ मिटर लम्बाइ र साढे ७ मिटर चौडाइको पुल निर्माण गरेको थियो। तर, पुलको पूर्वपट्टि करिब सय मिटर क्षेत्रमा तटबन्ध गरेर पुललाई सडकसम्म नजोड्दा पुल प्रयोगविहीन भएको हो।
उक्त खोलामा करिब सय मिटर पुल थप गर्नुपर्ने अवस्था छ। प्रयोगविहीन अवस्थामै पुल डेढ वर्षअघि केन्द्रीय सरकार मातहतको हुलाकी सडक आयोजनालाई हस्तान्तरण गरिएको थियो।
प्रतिक्रिया