राजनीति


मन्त्री नेम्वाङद्वारा रसियन राजदूतसँग रेलमार्गमा सहकार्यको प्रस्ताव

मन्त्री नेम्वाङद्वारा रसियन राजदूतसँग रेलमार्गमा सहकार्यको प्रस्ताव

नेपालखबर
भदौ ९, २०७७ मंगलबार १४:५३,

भौतिक पूर्वाधार तथा यातायात एवम शहरी विकास मन्त्री वसन्तकुमार नेम्वाङ्सँग नेपालका लागि रसियाका राजदुत एलेक्सी नोभिकोभले शिष्टाचार भेटवार्ता गरेका छन्।

सिंहदरबार स्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज भएको भेटवार्तामा मन्त्री नेम्वाङ्ले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप रुसले तयार गर्दै गरेकोमा बधाई दिनुका साथै पूर्ण सफलताको कामना गर्दै विश्व मानव जातिलाई बचाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

भेटमा मन्त्री नेम्वाङ्ले पूर्वपश्चिम विद्युतीय रेलमार्गको कम्तिमा पनि इनरुवा–बर्दिवास खण्डको निर्माणमा लगानी सहितको सहकार्य गर्ने बारे छलफल गरेका छन्। त्यस्तै करिब ४.५ खर्ब लागत लाग्न सक्ने ७२ किलोमिटर लम्बाई रहेको संघीय राजधानी काडमाडौंको मेट्रो प्रोजेक्टमा समेत रुसी सहकार्य सम्बन्धमा छलफल भएको छ।

उक्त मेट्रो प्रोजेक्टको पाँच खण्ड मध्ये कुनै पनि खण्डमा रुसी प्रविधि र लगानी सहित सहभागी हुन गरिएको प्रस्तावमा राजदुत नोभिकोभले नेपालको विकासमा सहकार्य गर्न आफू उत्साहित रहेको र रसियन सरकारसँग पहल गर्ने प्रतिवद्धता व्यक्त गरे।

भेटमा द्धिपक्षीय हित तथा पारस्पिरिक सम्बन्धका बारेमा छलफल हुनका साथै रुसी सहयोगमा निर्माण भएका विगतका परियोजनाहरु कान्ति अस्पताल, पनौती हाइड्रोइलेट्रिक स्टेशन, पूर्वपश्चिम राजमार्गको पथलैया–ढल्केबर खण्ड, जनकपुर सिगरेट उद्योग, कृषि औजार कारखाना, विरगञ्ज सुगर मिल र रोजिन एण्ड टर्पाईन प्लाण्ट बारे समेत छलफल भएको मन्त्रालयले जनाएको छ।

उक्त भेटमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देबेन्द्र कार्की, सहसचिव गोपाल सिग्देल र रेल विभागका महानिर्देशक बलराम मिश्र सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .