कारोबार


गौतमबुद्ध विमानस्थलबाट हवाइ कार्गोका लागि व्यवसायी तयार, सहुलियत दरमा सेवा दिने जजिराको प्रस्ताव

गौतमबुद्ध विमानस्थलबाट हवाइ कार्गोका लागि व्यवसायी तयार, सहुलियत दरमा सेवा दिने जजिराको प्रस्ताव

नेपालखबर
भदौ ९, २०७९ बिहिबार १२:२५, काठमाडौँ

गत जेठ २ बाट उपत्यकाबाहिर सञ्चालनमा आएको पहिलो अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय हवाइ कार्गोका लागि व्यवसायीहरुले चासो देखाएका छन्। 

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कार्गो सुरु गर्नेबारे यही भदौ ३ गते सेक्यु फ्रेट इन्टरनेशनल प्रालिका प्रबन्ध निर्देशक ईश्वरबहादुर गुरुङ र टपलाइन वर्ल्डवाइड कार्गो प्रालिका सेल्स एन्ड मार्केटिङ मेनेजर राजेन्द्र बानियाँले स्थलगत अवलोकन समेत गरेका हुन्। 

टोलीले भैरहवाका उद्योगी व्यवसायीहरुसँग समेत अन्तर्क्रिया गरेको नेपाल फ्रेट फरवार्डर एसोसिएसनका सचिव समेत रहेका गुरुङले जानकारी दिए। सो क्रममा रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेल, कार्यकारी निर्देशक यादव भण्डारीलगायत कार्यकारिणी समितिका उद्योगी व्यवसायीहरुसँग उक्त विमानस्थलमार्फत हवाइ ढुवानी गरी आफ्नो उत्पादन विदेश निर्यात गर्न सकिने बताएका थिए।  

घरेलु तथा साना उद्योग महासंघ रुपन्देही जिल्लाका अध्यक्ष ध्रुव धिताल, उपाध्यक्ष र महासचिव लगायत अन्य त्यस क्षेत्रबाट विदेशमा वस्तु निर्यात गरिरहेका उद्योगी व्यवसायीलाई समेत त्यहीँबाट निर्यात गर्न सकिनेबारे प्रोत्साहन गरेको गुरुङ्गको भनाइ छ। 

टोलीले विमानस्थलको पूर्वाधार र प्रक्रियाबारे जानकारी लिएको छ। कार्गो आयातनिर्यातका लागि व्यवसायी तयार भएकाले विमानस्थलका भन्सार एजेन्ट आदित्य शर्मालाई तयारी रहन व्यवसायीहरुले भनेका छन्। 

उता सातामा ३ दिन उडान गरिरहेको जजिरा एयरवेजका नेपालका कार्गो प्रतिनिधि टपलाइन वर्ल्डवाइड कार्गो प्रालिका प्रबन्धनिर्देशक सुनिल श्रेष्ठले कम्पनीले सेप्टेम्बर १५ बाट भैरहवा विमानस्थलबाट सातै दिन उडान गर्ने भएकाले कार्गो सेवा सुरु गर्न सकिने बताएका थिए। उनी टर्कीको पिगासस एयरवेजको समेत नेपालको कार्गो प्रतिनिधि हुन्। 

श्रेष्ठका अनुसार काठमाडौं, कुवेत, सर्बिया हुँदै युरोप, अमेरिका र क्यानडामा समेत यही विमानस्थलबाट कार्गो पठाउन सकिन्छ। जजिराले भैरहवा विमानस्थलबाट आफ्नो विमानले कार्गो सुरु गर्न चाहने व्यवसायीलाई सहुलियत दरमा सेवा दिने कम्पनीका सेल्स एन्ड मार्केटिङ मेनेजर राजेन्द्र बानियाँले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .