सेयरबजारमा आज ७.३८ अंकको गिरावट आएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार बजार परिसूचक नेप्से उक्त अंकले घटेर २०५३.१६ विन्दुमा झरेको हो।
सेन्सिटिभ सूचक पनि आज १.४७ अंकले ओरालो लागेको छ।
२२२ कम्पनीको सेयर किनबेच भएकामा १ अर्ब ७२ करोड ६२ लाख ८७ हजार रुपैयाँको कारोबार भएको हो।
आज ५२ लाख ३० हजार कित्ता सेयर बिक्री भएका छन्। बिहान ११ बजे खुलेको बजार १२ बज्दा २०४४ विन्दुमा पुगेको थियो। त्यसपछि उतारचढाव जारी रह्यो। दिउँसो २ बजे २०६१ विन्दुमा पुगे पनि पुनः ओरालो लागेर बजार बन्द भएको हो।
आज सामूहिक लगानी कोषबाहेकका सबै उपसूचक राताम्य रहे। योसँगै आज ४७ कम्पनीको सेयर बढेको छ भने १२४ वटाको घटेको र १६ वटाको उही मूल्यमा कारोबार भएको छ।
कसले कमाए?
आज अपर हेवा खोलाका लगानीकर्ताले १० प्रतिशत कमाएका छन्। त्यसैगरी मन्दाकिनी हाइड्रोका लगानीकर्ताले पनि ९.९७ प्रतिशत कमाएका छन्। अन्य लगानीकर्ताले कम दरमा कमाएका छन्।
सोमबार लगानीकर्ताहरुले ६.७५ प्रतिशतसम्म गुमाउनुपरेको छ। आज हिमाल दोलखा हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ। कम्पनीको २३५ रुपैयाँ प्रतिकित्ता अन्तिम मूल्यमा २८ करोडको सेयर कारोबार भएको हो।
Shares
प्रतिक्रिया