ad ad

कारोबार


एमसीसी कार्यान्वयन हुन अझै १ वर्ष लाग्ने, हालसम्म सकियो साढे ४ अर्ब

एमसीसी कार्यान्वयन हुन अझै १ वर्ष लाग्ने, हालसम्म सकियो साढे ४ अर्ब

दीपक भट्ट
भदौ २, २०७९ बिहिबार १५:५०, काठमाडौँ

६३ अर्बको एमसीसी परियोजनाअन्तर्गतको प्रसारणलाइन निर्माण र सडक मर्मत परियोजना सुरु हुन अझैै १ वर्ष लाग्ने भएको छ। 

संयुक्त राज्य अमेरिकाको एमसीसी सहयोगअन्तर्गतको ५ वर्षे परियोजनाको कार्यान्वयन अवधि सन् २०२३ को अगस्ट १३ बाट मात्र सुरु हुने भएको हो। 

मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए नेपाल)का अनुसार एक वर्षपछि परियोजना कार्यान्वयनमा आउने र सन् २०२८ मा सम्पन्न गर्ने लक्ष्य छ। 

तर कार्यान्वयनमा आउनुअगावै यसको खर्च भने साढे ४ अर्ब बढी भइसकेको छ। एमसीए नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर विष्टका अनुसार ४ अर्ब ७७ करोड रुपैयाँ खर्च भएको हो। 

यो खर्च स्वाभाविक भएको एमसीए नेपालले बताएको छ। कार्यकारी निर्देशक विष्टले १२ दशमलव ७८ प्रतिशत पूर्वतयारीको लागि खर्च गरिने जानकारी दिए। 

‘यसकारण पनि यो खर्च हुनु स्वाभाविक हो। भौतिक काम सुरु हुनुअगाडि पनि महत्वपूर्ण कामहरु सक्याउनुपर्ने हुन्छ। त्यसमा खर्च भएको छ’, विष्टले भने। 

सोहीअनुसार आयोजनाले पूर्वतयारीको लागि ८ अर्ब रुपैयाँ खर्च गर्न पाउनेछ। पूर्वतयारीकै क्रममा लागत भने बढेको एमसीए नेपालले जनाएको छ। 

संसदबाट मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदनमा ढिलाइ हुँदा ६४ लाख ५० हजार अमेरिकी डलरबराबरको लागत बढेको अनुमान गरिएको छ। 

अहिलेसम्म के कति काम भयो?
कार्यकारी निर्देशक विष्टका अनुसार अहिलेसम्म पूर्वतयारीको मात्रै काम भएको छ।   प्रसारणलाइनअन्तर्गत करिब ३१५ किलोमिटर लामो ४०० केभी क्षमताको प्रसारणलाइनका साथै तीन नयाँ विद्युत् सबस्टेसन निर्माण हुनेछ। 

प्रसारणलाइन काठमाडौं, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, मकवानपुर, चितवन, पाल्पा, नवलपुर र परासी जिल्ला हुँदै जानेछ। 

विद्युत् प्रसारण आयोजनाअन्तर्गत अहिलेसम्म वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार भएर स्वीकृत भएको छ। त्यस्तै रातमाटे सबस्टेसन निर्माणका लागि नुवाकोटमा जग्गा अधिग्रहणको मुआब्जा वितरण सम्पन्न भएको छ। 

प्रभावित हुने क्षेत्रका सरोकारवालाहरुसँग परामर्श तथा सार्वजनिक सुनुवाइ कार्यक्रमहरु सम्पन्न भएको छ। रुख गणना तथा लगत संकलनका लागि स्थलगत अध्ययन र जिल्ला तथा प्रदेशस्तरीय परामर्श गोष्ठी सम्पन्न भएको छ। 

प्रसारणलाइन मार्गमा पर्ने रुख कटाउन अनुमति प्रक्रिया अगाडि बढेको छ। प्रसारणलाइन र सबस्टेसनको डिजाइन कार्यसम्पन्न भएको छ। प्रसारणलाइनको ३ सय १५ किमिको रेखांकनमध्ये करिब ३० किमि पुनः सर्वेक्षण सुरु भइसकेको एमसीए नेपालले बताएको छ।  

प्रसारणलाइनको ठेक्का प्रक्रियाका लागि टेण्डर डकुमेन्ट तयारी अवस्थामा रहेको र टेण्डर अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका आधारमा एमसीसीको खरिद नियमावलीअनुसार हुने तयार भएको छ। गैरसरकारी कम्पनीहरुले मात्र भाग लिन पाउने छन्। 

रातमाटे, दमौली र नयाँ बुटवल सबस्टेसनको ठेक्का प्रक्रियाका लागि टेण्डर डकुमेन्ट  तयारी अवस्थामा पु¥याएको एमसीए नेपालले जनाएको छ। ट्रान्समिसनलाइन पुनर्वास कार्य योजना र जीविकोपार्जन पुनस्र्थापना कार्यक्रमसम्बन्धी परामर्शदाता छनोट प्रक्रिया अगाडि बढिसकेको देखिएको छ। 

रातमाटे सबस्टेसनबाट प्रभावित स्थानीय बासिन्दालाई जीविकोपार्जन पुनर्स्थापना कार्यक्रम कार्यान्वयन थालनी भइसकेको छ। आयोजना कार्यान्वयनका लागि आवश्यक प्रायः निर्देशिका र योजना लागत अनुमानलगायतका दस्तावेजहरु तयारी अवस्थामा रहेको बताएको छ। 

सडक मर्मत आयोजनाअन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागको निर्णयअनुसार सडक मर्मतसम्भार तथा स्तरोन्नति कार्य दाङको धानखोलादेखि शिवखोलासम्म करिब ७७ किलोमिटरसम्म गर्ने सहमति भएको छ। 

राष्ट्रिय राजमार्गका करिब ७ हजार किलोमिटर सडकखण्डको डिलोकेसनबाट मापन गरेर सडकको बाँकी आयु प्रक्षेपण गर्नुको साथै आवधिक मर्मतसम्भार गर्ने निश्चित भएको छ। 

नमूना डिजाइन र सुपरिवेक्षण परामर्शदाताको प्रयोगशाला सडक विभागमा स्थापना भइसकेको छ। सडक विभाग र सडक बोर्ड नेपाललाई गरिने प्राविधिक सहयोग कार्य अगाडि एमसीए नेपालले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .