ad ad

कारोबार


वर्षात् र सडक अवस्थाले उल्लासमय छैन पोखराको पर्यटन

कोभिडपछि चिनियाँ आउन छाडे, युरोप र अमेरिकाबाट निकै कम
वर्षात् र सडक अवस्थाले उल्लासमय छैन पोखराको पर्यटन

फाइल तस्बिर


नेपालखबर
भदौ २, २०७९ बिहिबार ११:५१, काठमाडौँ

मुग्लिङ–पोखरा सडक विस्तारले पोखराको पर्यटनमा असर परेको छ। 

सडक विस्तारसँगै पहिरोलगायतको कारण आन्तरिक पर्यटकको आवागमनमा असर गरेको हो। 

कोभिडपछि छिमेकी मुलक भारत र बंगलादेशबाट पर्यटक आउन थाले पनि अन्य देशका एकदमै कम छन्। युरोपेली र अमेरिकी पर्यटकको संख्या केही रहे पनि चिनियाँ पर्यटक नगन्यमात्रामा छन्। 

कोभिडपछि नेपालको पर्यटन क्षेत्र आन्तरिक पर्यटककै कारण धानिएको छ। पर्यटन व्यवसायीका अनुसार वसन्त ऋतुमा पर्यटकको आवगमनले शरद् ऋतुमा उत्साह थप्ने विश्वास छ। 

अहिले पोखराको पर्यटन क्षेत्रमा २५–३० प्रतिशत मात्रै अकुपेन्सी रहेको व्यवसायी बताउँछन्। 

उत्साहित हुने अवस्था छैन : व्यवसायी 
पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी बहादुर भट्टराईले वर्षायाम सुरु भएसँगै उत्साहित हुने अवस्था नरहेको बताए। भट्टराईले पोखरामा आन्तरिक पर्यटक घट्नुमा सडक ‘कनेक्टिभिटी’ कमजोर रहनुलाई कारण मान्छन्। 

‘बाटो विस्तार भइरहेको छ। पहिरोले बाटो बन्द हुँदा अहिले पर्यटक आगमन घटेको छ’, भट्टराईले भने, ‘अहिले ट्राभलमा मानिसले कम रुचि देखाएका छन्। बाटो मर्मतको काम भइरहेको छ, अब विस्तारै बढ्ला।’

नेपालमा भएका राजमार्ग सधैँ सहज र सुरक्षित बनाउन सकेमात्रै पर्यटक आवगमन बढ्ने व्यवसायीको भनाइ छ।  

जुलाईमा ४४ हजार पर्यटक भित्रिए 
पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार २०२२ जुलाईमा ४४ हजार पर्यटक भित्रिएका छन्। कोभिड अगाडिको सामान्य अवस्थामा ५८ हजार पर्यटक नेपाल आएका थिए। अझै २४ प्रतिशत पर्यटक कम आइरहेका छन्। 

अहिले बंगलादेशबाट सबैभन्दा बढी पर्यटक नेपाल आइरहेका छन्। २०१९ को तुलनामा २९.४ प्रतिशतले पर्यटक बढेका छन्। त्यस्तै भारतबाट पनि १० प्रतिशतले पर्यटक बढेका छन्। भुटानबाट भने ८१.८ प्रतिशतले पर्यटक घटेको पर्यटन बोर्डले जनाएको छ। चाइना, जापान, दक्षिण कोरियाबाट पर्यटक आगमन ह्वात्तै घटेको छ। 

गत अप्रिलमा २०२१ को तुलनामा पर्यटक १६० प्रतिशतले बढेका थिए। अप्रिलमा ५८ हजार ३४८ पर्यटक नेपाल भित्रिएका थिए।  

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले वर्षात् सुरु भएसँगै पोखरामा पर्यटकको आगमन घटेको बताए। 

‘अहिले पर्यटकको लागि लो सिजन हो’, सुवेदीले थपे, ‘वर्षातको कारण टे«किङ लगायत जान अप्ठ्यारो भएकाले कम पर्यटक आउँछन्।’

उनले २ हप्तादेखि होटल अकुपेन्सी एकदमै कम रहेको जानकारी दिए। 

अहिले मुग्लिङ–पोखराको बाटोलाई २ लेनबाट चारलेनको बनाउने गरी विस्तार भइरहेको छ। उक्त सडक २ घण्टाको भए पनि अहिले सकसपूर्ण यात्रा गर्नुपर्छ। २ घण्टाको बाटोमा अहिले ३ घण्टा लाग्ने भएको छ। 

‘अहिले पोखराको हवाइ चाप धेरै छ। सडक बिग्रिएकाले हवाइ यात्रा गर्ने बढेका छन्’, सुवेदीले भने, ‘तर हवाइयात्राबाट आउँदा भाडा नै अत्यधिक भएकाले सबैले खर्च धान्न सक्दैनन्। यसले पर्यटक आवागमन घटाएको छ।’

अहिले नजिकका सहरबाट पोखरा पुग्नलाई ४ हजारदेखि ६ हजार छ। आउजाउमा ८ देखि १२ हजार सकिन्छ। २ जनासँगै यात्रा गर्दा २० हजार बढी हवाइ खर्च हुँदा पर्यटक आगमन घटाउने व्यवसायीको भनाइ छ। 

शरद ऋतुको लागि बुकिङ सुरु 
पोखराका पर्यटन व्यवसायीले सेम्टेम्बरपछि बुकिङ सुरु हुनथालेको बताएका छन्। कोभिडले असर पारेन भने आगामी सिजनमा पोखरा भरिने विश्वास गरेका छन्। विगतमा ४ महिनादेखि नै बुकिङ आउने गरे पनि अहिले अग्रिम बुकिङ कम हुने गरेको उनीहरुको भनाइ छ।  

‘कोभिडअगाडि जस्तो बुकिङ आएका छैनन्’, सुवेदीले भने, ‘पहिला पोखरा आउँदा होटल बुकिङ नगरे पाउन मुश्किल हुन्छ भन्ने थियो। कोभिडको कारण अहिले होटल चाप छैन भनी सिधै आउने बढ्न सक्छन्।’

परिषद्का अध्यक्ष गोपी बहादुर भट्टराईले सेप्टेम्बर–अक्टुबरमा राम्रै पर्यटक आउने बताए। उनले कोभिडको त्रास पहिलाजस्तो नभएकाले विस्तारै पर्यटक बढ्ने बताए। 

‘ट्राभलसम्बन्धी प्रोटोकल विस्तारै हट्दै गइरहेका छन्’, भट्टराईले भने, ‘पर्यटन बोर्डसँग मिलेर प्रोमोसनको काम गरिरहेका छौँ।’

यसले विश्वमा नेपाल सुरक्षित छ भन्ने सन्देश विश्वभर फैलाइरहेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .