ad ad

कारोबार


नेपालमै धमाधम एसेम्बलिङ उद्योग खोल्दै दुईपांग्रेका मुख्य ‘प्लेयर’

नेपालमै धमाधम एसेम्बलिङ उद्योग खोल्दै दुईपांग्रेका मुख्य ‘प्लेयर’

वसन्त अर्याल
भदौ ३, २०७९ शुक्रबार ११:४२, काठमाडौँ

सरकारले एसेम्बलिङ उद्योगलाई छुट र आयातित दुईपांग्रेमा कर बढाएसँगै नेपाली अटोबजारका ‘मुख्य प्लेयर’हरु एसेम्बलिङ उद्योग खोल्ने तयारीमा जुटेका छन्। 

दुईपांग्रे बिक्रेताहरुले सरकारी नीतिको लाभ उठाउन नेपालमै एसेम्बलिङ उद्योग खोल्ने तयारी गरेका हुन्। 

बजाज, टीभीएस, यामाहा, होन्डा, हिरोलगायत कम्पनीले नेपाली दुईपांग्रेको मुख्य बजार हिस्सा ओगटेका छन्। बजाज र टीभीएसले यसअघि नै एसेम्बलिङ थालेका थिए। अब यामाहा, हिरोले एसेम्बलिङको लागि प्रक्रिया अघि बढाएका हुन्। 

भन्सार विभागको तथ्यांकअनुसार २०७८/०७९ मा २ लाख ७८ हजार मोटरसाइकल तथा स्कुटर आयात भएका थिए। त्यसअघि आब २०७७/०७८ मा ३ लाख ५३ हजार दुईपांग्रे नेपाल भित्रिएका थिए। 

अर्थमन्त्री जनार्दन शर्माले २०७८ भदौमा प्रतिस्थापन विधेयकमार्फत तयारीका दुईपांग्रे अन्तःशुल्क वृद्धि र एसेम्बलिङ उद्योगले छुट बढाएका थिए। 

आर्थिक ऐन २०७७ अनुसार २५० सीसीसम्मका बाइकमा ४० प्रतिशत अन्तःशुल्क लाग्दै आएकोमा आर्थिक ऐन २०७८ मा वर्गीकरण फरक पारी कर वृद्धि गरे। आर्थिक ऐन २०७८ मा १२५ सीसीसम्मका बाइकमा ४० प्रतिशत, १२५ देखि २ सय सीसीसम्मकामा ५० प्रतिशत, २ सयदेखि २५० सम्मको ६० प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था गरेको छ। 

आर्थिक ऐन २०७९ मा मोटरसाइकलमा २०० देखि २५० सीसीसम्मका मोटरसाइकलमा ४० प्रतिशत भन्सार महशुल लगाउन थालेको छ। २५० देखि ५०० सीसीसम्मकोमा ७० प्रतिशत र ५०० देखि माथिका मोटर साइकलमा ८० प्रतिशत भन्सार बढेको छ। 

यसअघि सबै दुईपांग्रेमा ३० प्रतिशत भन्सार महशुल लाग्ने व्यवस्था थियो। अब २०० सीसीभन्दा कम सीसीका मोटरसाइकल तथा स्कुटरमा ३० प्रतिशत भन्सार महशुल लाग्ने भएको छ।  

उनले विद्युतीय रिक्सा र विद्युतीय मोटरसाइकल वा स्कुटर उत्पादन गर्ने उद्योगले प्रयोग गर्ने कच्चा पदार्थ वा पार्टपुर्जामा १ प्रतिशतमात्र भन्सार महशुल लाग्ने व्यवस्था गरेका छन्।

सरकारले यस्ता उद्योगलाई अन्तःशुल्कमा २५ प्रतिशत छुट दिँदै आएकोमा बजेट संशोधन गर्दै ५० प्रतिशत पुर्याएको हो। अर्थमन्त्री शर्माले उत्पादनमूलक उद्योगलाई प्रोत्साहन गर्न एसेम्बलिङ उद्योगमा पनि ५० प्रतिशत पुर्याएको बताउने गरेका छन्। 

नाडाका कोषाध्यक्ष मिलनबाबु मल्लले सरकारको नीतिले बाहिरबाट गाडी ल्याएर बिक्री गर्नसक्ने अवस्था नभएको बताए। 

‘सरकारले नेपालमै एसेम्बलिङ उद्योग खोल्नको लागि प्रोत्साहन गरेको छ’, मल्लले भने, ‘नेपालमा उद्योग नखोल्नेले प्रतिस्पर्धा गर्नै अप्ठ्यारो हुन्छ।’

उनले अबको केही वर्षमा बजाज, टीभीएससँगै, यामाहा, हिरो, होन्डाका मोटरसाइकल नेपालमै एसेम्बलिङ हुने बताए। 

सिमरामा रहेको टीभीएस एसेम्बलिङ प्लान्ट।

हिरो र यामाहाले प्लान्ट बनाउँदै 
यामाहाको आधिकारिक बिक्रेता एमएडब्लु ग्रुपले भैरहवामा प्लान्ट स्थापना गरिरहेको छ। 

एमएडब्लु अटो प्रा.लिले मोटरसाइकल उत्पादन गर्न उद्योग दर्ता गराएको छ। कम्पनीले वार्षिक ३१ हजार मोटरसाइकल र १९ हजार स्कुटर उत्पादन गर्ने लक्ष्य राखेको छ। 

‘हामीले एसेम्बलिङ प्लान्ट बनाउन जग्गा लिइसकेका छौँ’, एमएडब्लु इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत राजु श्रेष्ठले भने, ‘एसेम्बलिङ प्लान्ट स्थापनाका लागि उत्पादक कम्पनीसँग सहमति लिनुपर्छ।’

यामाहा जापानको बहुराष्ट्रिय कम्पनी हो। नेपालमा एसेम्बलिङको लागि एमएडब्लु ग्रुपले प्रयास गरे पनि स्वीकृति पाएको छैन। यामाहाका डिलरले सरकारले कर बढाउँदा बजाज र टीभीएससँग प्रतिस्पर्धा गर्न अप्ठ्यारो परेको बताउँदै आएका छन्।

त्यस्तै हिरो मोटोकर्पको आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङले बाराको परवानीपुरमा हिरोको एसेम्बलिङ उद्योग स्थापना गर्दै छ। कम्पनीले वार्षिक ४० हजार सवारी उत्पादन गर्नसक्ने गरी प्लान्ट स्थापना गर्न लागेको जनाएको छ। 

‘हिरोका मोटरसाइकल तथा स्कुटर नेपालमै एसेम्बलिङ गर्ने प्रक्रियामा रहेका छौँ’, नेपाल जनरल मार्केटिङका अध्यक्ष अभिक ज्योतिले भने, ‘एसेम्बलिङको लागि अध्ययन पनि गरिरहेका छौँ।’

हिरोका नेपालमा मोटरसाइकसँगै स्कुटरको माग उच्च छ। 

अरु को–को आउँदै छन्?
२०७८ असोज १ गते एसजी ग्रुपका अध्यक्ष शिव प्रसाद घिमिरेले नेपालमै मोटरहेडका मोटरसाइकल एसेम्बलिङ गर्ने घोषणा गरेका थिए। उनले २ वर्षभित्र उद्योग स्थापना गर्ने बताएका थिए। 

उनले कम्पनी एस.जी अटोक्राफ्ट प्रा.लि गत जेठ १७ गते उद्योग विभागमा दर्ता भएको छ। बाराको जितपुर सिमरा उपमहानगरपालिकामा उद्योग स्थापना गर्ने भएको छ। 

३ अर्ब कुल चुक्ता पुँजी रहेको उद्योगले विद्युतीय २ पांग्रे र पेट्रोल इन्जिनका मोटरसाइकल तथा स्कुटर एसेम्बलिङ गर्नेछ। कम्पनीले कार, बस उत्पादनको लक्ष्य राखेको छ। 

अप्रिला र भेस्पाको आधिकारिक बिक्रेता दुगड ग्रुपले नेपालमा एसेम्बलिङ उद्योग दर्ता गराएको छ। दुगड अटो क्लिनिक प्रा.लि ३० करोड चुक्ता पुँजी रहेको २ पांग्रे र ३ पांग्रे उत्पादन गर्ने उद्योग दर्ताको समयमा उल्लेख गरेको छ। 

कम्पनीले मकवानपुर औद्योगिक क्षेत्रमा वार्षिक २४ हजार दुईपांग्रे उत्पादन क्षमताको प्लान्ट स्थापना गर्ने उल्लेख गरेको छ। 

सीजी अटोमोटिभ इन्डस्ट्री प्रा.लिले बाराको परवानीपुरमा वार्षिक १० हजार मोटरसाइकल उत्पादन गर्न उद्योग दर्ता गराएको छ। सीजीले ३ पांग्रे र चारपांग्रे गाडी उत्पादन गर्ने उल्लेख गरेको छ। सुजुकीका चारपांग्रे चौधरी ग्रुपअन्तर्गतको सीजी मोटोकर्प आधिकारिक बिक्रेता छ भने सुजुकी मोटरसाइकलको विशाल ग्रुपअन्तर्गतको भिजी इम्पेक्स आधिकारिक विक्रेता हो।

त्यस्तै ग्लोबल अटोमोबाइल्स प्रा.लिले पर्साको विन्दबासिनी वार्षिक ३० हजार मोटरसाइकल तथा स्कुटर एसेम्बलिङ गर्ने योजना बनाएको छ। 

२ कम्पनी सफल 
बजाजको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिको भगिनी कम्पनीको रुपमा हुलास अटो क्राफ्टले मोटरसाइकल एसेम्बलिङ गरिरहेको छ। हुलास अटो क्राफ्टले प्रालिले नवलपरासीको रामग्राममा एसेम्बलिङ प्लान्ट सञ्चालन गरिरहेको छ। 

हुलास अटो क्राफ्टमा उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहेका शेखर गोल्छाको ८० प्रतिशत र लोकमान्य गोल्छाका छोरा आकाश गोल्छाको नाममा २० प्रतिशत लगानी छ। 

कम्पनीले २०१९ मा ५ अर्ब २० करोड रुपैयाँको बिक्री गरेको थियो भने २०२० मा ७ अर्ब ६० करोड आम्दानी गरेको थियो। २०२१ को पहिलो ६ महिनामै ७ अर्ब २९ करोडको कारोबार गरेको थियो। सरकारले एसेम्बलिङ उद्योगमा दिएको छुटको कारण कम्पनीको नाफा समेत बढेको छ। बजाजले नेपालमा पल्सर, एभेन्जरसहित सबै ३ पांग्रे सवारीसाधनको एसेम्बलिङ गर्न थालेको छ। 

त्यस्तै शंकर ग्रुपअन्तगर्तको जगदम्बा अटो ग्रुप प्रा.लिले सिमरामा उद्योग खोली सञ्चालनमा ल्याएको छ। टीभीएस मोटर्सको आधिकारिक बिक्रेता जगदम्बाले वार्षिक ६० हजार र स्कुटर ४० हजार उत्पादन क्षमता छ। जगदम्बा मोटर्सले करिब १ अर्ब लगानीमा टीभीएसका मोटरसाइकल उत्पादन गर्न थालेको थियो। 

जगदम्बाले टीभीएसको सहकार्यमा प्लान्ट सुरु गरेकाले शतप्रतिशत एसेम्बलिङ सामग्री उत्पादक कम्पनीबाटै ल्याउने गरेको छ।

सरकारका ४ शर्त
उद्योग विभागले नेपालमै मोटरसाइकल एसेम्बलिङ गर्नका लागि उद्योग खोल्न आवश्यक शर्त निर्धारण गरेको छ। 

विभागले कम्प्लिटली नक्ट डाउन अर्थात् सीकेडीको नीतिअनुसार मापदण्ड तोकेको हो। सीकेडी पार्टपुर्जा आयात गरेर नेपालमा एउटा पूर्ण सवारीसाधन तयार गरिनुपर्ने विभागले जनाएको छ।

विभागले चार प्रावधानमा उद्योगले पहिलो वर्ष कम्तीमा १० प्रतिशत आन्तरिक मूल्यअभिवृद्धि गर्नुपर्नेछ भने पाँचौँ वर्षको अन्त्यसम्म कम्तीमा ३० प्रतिशत मूल्यअभिवृद्धि गर्नुपर्ने मापदण्ड बनाएको छ। 

त्यस्तै यस्ता उद्योगले पहिलो वर्ष कम्तीमा ५० जना प्रत्यक्ष कामदार राखेर रोजगारी सिर्जना गर्नुपर्नेछ। त्यस्तै पाँचौँ वर्षसम्म यस्तो संख्या कम्तीमा २ सय पुर्याउनुपर्नेछ।

एसेम्बलिङ उद्योगले स्वदेशकै वस्तुको समेत खपत गर्नुपर्ने शर्त राखिएको छ। पाँच वर्षभित्र कम्तीमा १० प्रतिशत स्वदेशी वस्तु हुनुपर्नेछ।

त्यस्तै चौथो शर्तचाहिँ उद्योगले त्यस क्षेत्रमा पार्ने प्रभाव र त्यसमा गरिनुपर्ने समन्वयबारे उल्लेख छ। यस्ता उद्योगका लागि हुने वातावरणीय र सुरक्षाको परीक्षण भने सरकारी संस्थाहरु वातावरण विभाग, यातायात व्यवस्था विभाग र उद्योग विभागले बनाएको संयुक्त समितिले गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .