कारोबार


‘वार्षिक ९ खर्बको निर्यात क्षमता छ, लाभ लिन सकिएन’

निर्यात वृद्धिबारे चेम्बर र उद्योग सचिवबीच छलफल
‘वार्षिक ९ खर्बको निर्यात क्षमता छ, लाभ लिन सकिएन’

नेपालखबर
साउन ३०, २०७९ सोमबार १७:२२, काठमाडौँ

नेपाल चेम्बर अफ कमर्सले निर्यात प्रर्वद्धनको सम्भावनाबारे उद्योग सचिव डा. तोय नारायण ज्ञवालीसँग आज छलफल गरेको छ। 
औद्योगिक वातावरण बनाएर निर्यात प्रवर्द्धन गर्न सकिने विभिन्न विकल्पमा चेम्बरले उद्योग सचिव डा ज्ञवालीसँग छलफल गरेको हो। उत्पादन वृद्धिमार्फत निर्यात प्रवर्द्धनका लागि चेम्बरले सचिव ज्ञवालीलाई १६ बुँदे ध्यानाकर्षणपत्र समेत बुझाएको छ। 

चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले निर्यात प्रवर्द्धनका लागि सातै प्रदेशमा निर्यात घर खोल्न आग्रह गरे। उद्योगिक क्षेत्रमा वैदेशिक लगानी एवं सिप प्रर्वद्धन गर्नका लागि सरकार र चेम्बर अफ कमर्सबीच सहकार्य गर्न लागिएको अध्यक्ष मल्लले बताए। 

उनले भने, ‘विदेशमा सिकेको सीप र लगानी हाम्रा उद्योगहरुमा प्रवद्र्धन गर्न सकियो भने कहाली लाग्दो व्यापार घाटा कम गर्न सकिन्छ। यसका लागि सरकारसंग हातेमालो गर्न चेम्बर सदैव तयार छ।’

औद्योगिक ब्याजदर बढ्दा उत्पादन लागत बढेकाले उद्योगहरुमा एकल ब्याजदरको व्यवस्था कायम गर्न पनि अध्यक्ष मल्लले आग्रह गरे। दश करोड रुपैयाँबराबरको विद्युत् खपत गर्ने उद्योगलाई मात्रै १० प्रतिशत छुट दिएको भन्दै अध्यक्ष मल्लले सबै खाले उद्योगमा सहुलियत दिने हो भने निर्यात प्रवद्र्धन गर्न सकिने बताए।

मुख्य–मुख्य भन्सार नाकामा उच्चस्तरीय प्रयोगशाला नहुँदा नेपाली वस्तुहरुको निर्यातमा पटक पटक समस्या आउने गरेको अध्यक्ष मल्लको भनाइ छ। यस्तै उद्योगहरुमा वातावरणीय प्रभाव मुल्यांकन ईआईएको व्यवस्थामा सहजीकरण गरिदिन पनि अध्यक्ष मल्लले सचिव ज्ञवालीसँग आग्रह गरे। चेम्बर पदाधिकारीसँगको भेटका क्रममा उद्योग सचिव ज्ञवालीले औद्योगिक प्रर्वद्धन बोर्डमा निजी क्षेत्रका तर्फबाट चेम्बरको प्रतिनिधित्व गराउन आफूले पहल गर्ने बताए। विदेशबाट फर्किएका युवाहरुको सिप र लगानी प्रवद्र्धनका लागि छुट्टै नीतिगत व्यवस्थाको तयारी भइरहेको ज्ञवालीले बताए । 

यसका लागि वैदेशिक रोजगारसम्बन्धी छुट्टै रोष्टर बनाउने तयारी भइरहेको ज्ञवालीको भनाइ छ। वार्षिक ९ खर्ब रुपैयाँबराबरको निर्यात क्षमता भए पनि यसबाट लाभ लिन नसकिएको ज्ञवालीले बताए। चेम्बरका पदाधिकारीसँग सचिव ज्ञवालीले उद्योगहरुमा वातावरणीय प्रभाव मूल्यांकन ईआईएको सहजीकरणमा आफूले पहल गर्ने बताए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .