कारोबार


रहेनन् भारतका ‘वारेन बफेट’ राकेश झुनझुनवाला

रहेनन् भारतका ‘वारेन बफेट’ राकेश झुनझुनवाला

स्व. राकेश झुनझुनवाला


नेपालखबर
साउन २९, २०७९ आइतबार १२:२५, काठमाडौँ

चर्चित भारतीय सेयर लगानीकर्ता राकेश झुनझुनवालाको आइतबार बिहान मृत्यु भएको छ। 

६२ वर्षीय उनलाई भारतका ‘वारेन बफेट’ पनि भनिन्थ्यो। उनको कुल सम्पत्ति ५ अर्ब ८० करोड अमेरिकी डलर रहेको फोर्ब्सले जनाएको छ। 

मुटुमा समस्या भएर उनको मृत्यु भएको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनको मृत्युमा शोक व्यक्त गर्दै आर्थिकजगतमा अमिट छाप छोडेर गएको बताएका छन्। 

धेरैपटक उनको तुलना वारेन बफेटसँग गरिने गरेको भारतीय मिडियाले जनाएका छन्। उनलाई भारतीय सेयरबजारका ‘बिग बुल’ पनि भनिन्थ्यो। 

कलेज पढ्दादेखि उनी सेयरबजारमा प्रवेश गरेका थिए। सुरुमा ५ हजार भारु मात्र लगानी गरेका उनले केहीअघि मात्रै जेट एयरवेजका पूर्वमुख्य कार्यकारी अधिकारी विनय दुवे र इन्डिगोका पूर्वप्रमुख आदित्य घोषसँग मिलेर नयाँ विमान सेवा कम्पनी आकाश एयरको सुरुवात गरेका थिए। यो एयरलाइनले यही महिना मुम्बईबाट अहमदाबादसम्म उडान सुरु गरेको छ। 

झुनझुनवाला भारतका ४८औँ सबैभन्दा धनी व्यक्ति थिए। चार्टर्ड एकाउन्टेन्ट (सीए) रहेका उनले कम्पनीको खाताको अडिट गर्न छोडेर सेयर लगानीको बाटो छानेका थिए। सन् १९८५ मा ५ हजार भारु लगानीबाट सुरु गरेका उनले सन् २०१८ सम्ममा लगानीको मूल्य बढेर १ खर्ब १० अर्ब भारुसम्म पुगेको थियो। 

उनको लगानी स्टार हेल्थ, टाइटन, र्यालिस इन्डिया, केनरा बैंक, इन्डियन होटल्स कम्पनी, एग्रो टेक फुड्स, नजारा टेक्नोलोजिज र टाटा मोटर्समा रहेको थियो। जुनमा सकिने त्रैमासिकको अन्त्यसम्म उनका ४७ वटा कम्पनीमा लगानी थियो। 

टाइटन, स्टार हेल्थ, टाटा मोटर्स र मेट्रो ब्रान्ड्स जस्ता कम्पनीमा उनको ठूलो हिस्सा थियो। उनी हंगामा मिडिया र एप्टेकका प्रमुख पनि थिए। उनी धेरै कम्पनीको बोर्डमा समेत थिए। 

उनको जन्म १९६० जुलाई ५ मा राजस्थानको परिवारमा भएको थियो। उनी मुम्बईमा हुर्किएका थिए। मुम्बईमा उनका बुबा आयकर आयुक्त थिए। उनले साइडेन्हेम कलेजबाट स्नातक डिग्री लिएका थिए। 

उनले सन् १९८६ मा टाटा टीको ५ हजार सेयर ४३ भारु प्रतिकित्तामा किनेका थिए। तीन महिनापछि यो सेयर १४३ भारु पुग्यो। जहाँ उनलाई पहिलो नाफा मिलेको थियो। तीन वर्षपछि २० देखि २५ लाख भारु कमाइ गरे। उनले जुन समयमा सेयर बजारमा लगानी सुरु गरे त्यो बेला सेन्सेक्स १५० अंकसम्म पुगेको थियो।  नवभारतटाइम्सबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .