कारोबार


सुन्तले–बाघखोर क्षेत्र पर्यटककाे गन्तव्य बन्दै

सुन्तले–बाघखोर क्षेत्र पर्यटककाे गन्तव्य बन्दै

नेपालखबर
असोज १, २०८२ बुधबार ११:३९, भाेजपुर

भोजपुरकाे सुन्तले–बाघखोर क्षेत्र पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ।

सदरमुकाम नजिकै पर्ने यो रमणीय स्थान आन्तरिक पर्यटकको रोजाइमा परेको हो। यहाँ स्थानीय परिकारको स्वाद चाख्दै, सुन्दर हिमशृङ्खला र मनोरम दृश्यको अवलोकन गर्न पाइन्छ। प्राकृतिक सौन्दर्यसँगै साँस्कृतिक विविधताको अनुभव लिन पनि यो ठाउँमा आन्तरिक पर्यटकको चाप बढ्न थालेको छ।

बाघखोरका होटल व्यवसायी गणेश तामाङका अनुसार दैनिक धेरै पर्यटक यो क्षेत्रमा गरेका छन्। ‘सुन्तले-बाघखोर अहिले पर्यटकको रोजाइमा परेको गन्तव्य बनेको छ, भोजपुर आउने अधिकांश पर्यटक कम्तीमा एकपटक यो ठाउँमा आउँछन्। यहाँको सुन्दरताले पर्यटकलाई लोभ्याउँछ’, उनले भने। 

चिसो र स्वच्छ हावापानीमा रमाउँदै स्थानीय स्वादिलो परिकारको मजा लिन सकिने भएकाले पनि यो क्षेत्र पर्यटकका लागि लोभलाग्दो गन्तव्य बनिरहेको छ। तर, आवश्यक पूर्वाधारको अभावका कारण ठूलो सङ्ख्यामा पर्यटक आएमा व्यवस्थापनमा समस्या हुने गरेको तामाङ बताउँछन्।

भोजपुर–दिङ्ला सडक खण्डमा पर्ने यी स्थानमा सडक पहुँच सहज रहेको छ। शहरी व्यस्तताबाट टाढा केही समय शान्त वातावरणमा घुम्न चाहनेहरूका लागि यो उत्तम गन्तव्य हो। 

समुद्री सतहदेखि करिब दुई हजार ४०० मिटर उचाइमा रहेको यो क्षेत्रबाट सगरमाथा, मकालु, कञ्चनजङ्घा, गौरीशंकरलगायत हिमशृङ्खला, अरुण उपत्यका, अरुण नदी, साल्पासिलिछो चुचुरो, मैयुङ डाँडा, भोजपुर सदरमुकाम, टेम्केडाँडा र भोजपुर–खोटाङ सिमानाको चखेवा भञ्ज्याङको दृश्यावलोकन गर्न सकिन्छ।

पर्यटकलाई लक्षित गर्दै यहाँ भ्यू टावर तथा वनभोज स्थलको निर्माण गरिएको छ। यस क्षेत्रमा राई, शेर्पा र तामाङ समुदायको बसोबास छ। विभिन्न जातजातिका स्थानीय परिकार, रहनसहन र वेशभूषाले पनि पर्यटकलाई आकर्षित गर्ने गरेको छ। 

भोजपुर सदरमुकामबाट सुन्तले ठाउँ १० किलोमिटर र बाघखोर १२ किलोमिटर टाढा पर्छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad