म्याग्दीकाे बेनी नगरपालिका-९ तोरीपानीका ४९ वर्षीय शेरबहादुर परियार बाँस र निगालोको चोया काडेर डोका,डाला थुन्से, ढाकर बनाउँछन्।
बाँसका वस्तु बनाउन सिपालु उनले आफ्ना उत्पादन बेचेर पाँच जना परिवारको भरणपोषण गर्दै आएका छन्।
१९ वर्षको उमेरदेखि बाँस र निगालाको चोयामा उनले सीप भर्न थालेका हुन्। डोकाडाला बनाउने उनको जाँगर जवानको जस्तै छ। ‘५० वर्षको हुन लागेछु’, पसिनाले पोतिएको अनुहारमा मुस्कान ल्याउँदै उनी भन्छन्, ‘तर अझै जवान छु जस्तो लाग्छ।’
विपन्न परिवारका परियारले काम नगरे साँझ बिहान हातमुख जोर्न हम्मेपर्ने गरेको थियो। अब त्यस्तो अवस्था नरहेको उनी गर्वका साथ सुनाउँछन्।
‘विगतमा बजारमा बेच्न जानुपर्थ्यो। अहिले घरमै ग्राहक आउँछन्’, उनले भने। परियारले डोको बुनेर नै छोराछोरीलाई पढाए, बिहेबारी गराए। परियारले दैनिक पाँच वटासम्म डोका बुन्ने गर्छन्। एउटा डोको रु २५० देखि ३५० सम्ममा बिक्री हुने गरेको छ। रासस
Shares

प्रतिक्रिया