कारोबार


नेप्टेचौर–पात्लेखेत सडक: ट्रयाक खुलेको १५ वर्षपछि स्तरोन्नति

नेप्टेचौर–पात्लेखेत सडक: ट्रयाक खुलेको १५ वर्षपछि स्तरोन्नति

नेपालखबर
बैशाख ३०, २०८२ मंगलबार ११:५०, म्याग्दी

म्याग्दीको बेनी नगरपालिका–९ नेप्टेचौरबाट काउरा–गिठीनी–आखेत हुँदै वडा नं १० पात्लेखेत जोड्ने सडक ट्रयाक खुलेको १५ वर्षपछि स्तरोन्नति भएको छ । बेनी–पाखापानी सडकको नेप्टेचौर–पात्लेखेत खण्डको वैकल्पिक छोटो दूरीको २०६७/६८ सालमा ट्रयाक खुलेको यो सडक सामान्य मर्मत गरेर यातायात सञ्चालन हुँदै आएको थियो । बेनी–पाखापानी म्याग्दीको प्राथमिकताप्राप्त र रणनीतिक महत्वको सडक योजना हो।

चालु आर्थिक वर्ष २०८१/८२ मा बेनी नगरपालिकाले सञ्चालन गरेको बेनी–अर्थुङ्गे– तोरीपानी–पाखापानी सडक योजनामार्फत प्रवेशविन्दु, रातोपहिरो, नेप्टेचौर, काउरा, आरते, गिठीनी र आखेत क्षेत्रको अप्ठ्यारो गाउँमा सडक फराकिलो पार्ने, ग्यावियन पर्खाल, नाली र ढलान गरेर स्तरोन्नति भएको हो।

सडक स्तरोन्नति भएपछि यात्रा सहज भएको बेनी नगरपालिका–९ काउराका विनोद चोखालले बताए। ‘नेप्टेचौरबाट तोरीपानी–ओखले–पात्लेखेत हुदै झिँ जोड्ने मूलसडक घुमाउँरो भएपछि १५ वर्षअघि छोटो दूरीको वैकल्पिक सडक निर्माण भए पनि प्राथमिकतामा परेको थिएन’, उनले भने, ‘स्तरोन्नति भएको ठाउँमा यसअघि साँघुरो सडक थियो । ग्रेड तथा घुम्ती मिलेको थिएन।’

ढलान गरेपछि सडकमा यात्रा गर्न सहज भएको चोखालले बताए । बेनी नगरपालिकाको प्राविधिक शाखाका प्राविधिक मिलन केसीका अनुसार विभिन्न ठाउँमा नौ सय आठ मिटर सडकलाई भित्ता काट्ने, पहिरो पन्छाएर फराकिलो पार्ने, टेवा पर्खाल, नाली निर्माण र ढलान भएको छ।

तीन करोड बजेट विनियोजन भएको योजना कार्यान्वयन गर्न २०८१ पुस १९ गते दुई करोड नौ लाखमा विकेश–दुप्चेश्वर–शुभम् जेभीले ठेक्का सम्झौता गरेको थियो। २०८२ असार २५ गतेसम्म ठेक्काको म्याद भएको योजना तीन महिनाअघि नै सम्पन्न भएको हो।

निर्माण कम्पनीका सञ्चालक सुवासचन्द्र कार्कीले सम्झौतालगत्तै पर्याप्त मजदुर र उपकरण परिचालन तथा निर्माण सामग्री व्यवस्थापन गरेर लक्ष्यअघि नै योजना निर्माण गरेको बताए। बजेट अभाव, आर्थिक सङ्कट, निर्माण सामग्रीको मूल्यवृद्धि, सामाजिकलगायत समस्या देखाएर धेरै आयोजनामा ढिलासुस्ती भइरहेको छ।

पहिलो चरणको ठेक्काबाट बचेको २० लाख बजेट बराबरको थप काम गर्न अर्को ठेक्का लगाएर काम थालिएको बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले बताए। आव २०८१/८२ मा बेनी नगरपालिकाले सबैभन्दा धेरै बजेट यही योजनामा विनियोजन गरेको थियो।

बेनी–पाखापानी सडकको बेनीबाट अर्थुङ्गे हुँदै किराखोरसम्म नगरपालिकामार्फत करिब छ किलोमिटर ढलान र कालोपत्र भएको छ। किराखोरबाट नेप्टचौर हुँदै तोरीपानीको गलेश्वर माविसम्मको चार किलोमिटर सडक स्तरोन्नतिका लागि प्रदेश सरकारको बजेटमा पूर्वाधार विकासका कार्यालयले गत वर्षदेखि आयोजना सञ्चालन गरेको छ।

प्रदेश सरकारले मुख्य सडक स्तरोन्नति गर्न आयोजना सञ्चालन गरेकाले नगरपालिकाले वैकल्पिक सडक स्तरोन्नतिको काम थालेको नगरप्रमुख सुरत केसीले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad