कारोबार


कास्की जिल्ला प्रशासन कार्यालय आफैँ ठगिएपछि...

कास्की जिल्ला प्रशासन कार्यालय आफैँ ठगिएपछि...

फाइल तस्बिर


नेपालखबर
असोज २१, २०८१ सोमबार ९:३१, कास्की

बजार अनुगमन गर्ने र गैरकानुनी कार्य गर्नेलाई सजाय तथा जरिवाना गर्नेसक्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई छ। उपभोक्ता ठगिन नदिनका लागि वेलावेला प्रशासनले बजार अनुगमन पनि गर्दै आएको छ।

उपभोक्ताको अधिकार संरक्षणका लागि कार्य गर्ने नियामक निकाय कास्की प्रशासन आइतबार आफैँ ठगिन पुगेको छ। एक कार्यक्रममा खाजा ल्याउने भोजनालयले प्रशासनलाई नै ठगेको हो।

कार्यालयले शिक्षा विकास तथा समन्वय एकाइमा लागुऔषधसम्बन्धी अन्तरक्रिया आयोजना गरेको थियो।कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक, कर्मचारीलगायत ४० जनाको सहभागिता थियो।

सहभागीलाई खाजाका लागि पोखराको चिप्लेढुङ्गामा रहेको मारवाडी भोजनालयमा माग गरिएको थियो। तर माग गरिएको भन्दा निकै कम परिमाणमा खानेकुरा आपूर्ति गरेर ठगी गरेपछि प्रशासनले सो सेवा भोजनालयलाई दुई लाख जरिवाना गरेको छ। 

भोजनालयले मागबमोजिम वस्तु उपलब्ध नगरी उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ खण्ड (ङ) बमोजिम कसुर गरेको पाइएकाले कारबाही गरेको सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताए।
 
यो दफामा वस्तु तथा सेवाको वास्तविक गुणस्तर, परिणाम, मूल्य, नापतौल, ढाँचा वा बनावट आदि ढाँटी लुकाइछिपाइ वा झुक्याइ त्यस्तो वस्तु वा सेवा बिक्री वा प्रदान गर्ने, कुनै वस्तुको कृत्रिम अभाव सृजना गर्नेलगायत कार्य गरेकामा रु दुई लाखदेखि तीन लाख रुपैयाँसम्म जरिवाना लाग्ने उल्लेख छ।

‘तोकिएको परिमाणभन्दा कम परिमाणमा खाजा ल्यानुभयो। तोकिएका परिकारभन्दा निकै कम परिकार थिए। मूल्य तोकिएकै थियो। त्यसैले तत्कालै कारबाही गरेका हौँ’, सहायक प्रजिअ क्षेत्रीले भने। प्रशासनका अनुसार सो भोजनालयका सम्बन्धमा यसअघि समेत उपभोक्ताबाट गुनासो आउने गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad