कारोबार


पठाओबाटै बुकिङ हुन थाल्यो हेलिकप्टर, बंगलादेश र श्रीलंकाबाट पर्यटक ल्याउने योजना

पठाओबाटै बुकिङ हुन थाल्यो हेलिकप्टर, बंगलादेश र श्रीलंकाबाट पर्यटक ल्याउने योजना

उद्धव थापा
असार ४, २०८३ बिहिबार १७:५८, काठमाडौँ

‘एक बिहान। एउटा परिवारका पाँच जनाले चिया पिउँदै योजना बनाउँछन्। दिउँसो उनीहरु हिमालको काखमा रमाउँदै फोटो खिच्छन्। र, साँझ घरमा बसेर दिनभरको यात्रा सुनाइरहेका छन्।’

यो सुन्दा तपाईंलाई कसैको सपनाजस्तो लाग्न सक्छ। तर होइन। नेपालको पर्यटन र यात्रा संस्कृतिमा पछिल्लो समय आएको सानो तर अर्थपूर्ण परिवर्तन हो यो। 

अब आकस्मिक रुपमै बनेका योजनाहरू अधुरो हुनेछैनन्। छोटो समयमा पनि टाढाको गन्तव्य पुगेर फर्किन सक्ने सुविधा सम्भव हुन थालेको छ। पाँच जनाको टोलीमा एक जनाले ३४ हजार रूपैयाँ मात्रै खर्च गर्न सक्दा अनलाइनबाटै हेलिकप्टर ‘बुक’ भइहाल्छ। 

यसरी तत्कालै हेलिकप्टर चढेर घुम्ने योजना बनाउने कुरा केही वर्ष अघिसम्म कल्पनामै सीमित थियो। हेलिकप्टर यात्रा केवल सम्भ्रान्त वर्गको लागि हो भन्ने मानसिकता थियो। 

त्यसबाहेक, आपत्कालीन उद्धार वा विशेष अवसरमा मात्रै हेलिकप्टर उडान हुन्छ भन्ने आमधारणा थियो। सामान्य परिवार वा साथीभाइको समूहले अचानक योजना बनाएर हेलिकप्टर चढ्ने कुरा नेपालीका लागि निकै टाढाको सपनाजस्तै थियो।

तर, प्रविधिले त्यो दूरी घटाउँदै लगेको छ।

अब यदि पाँच जना साथीभाइ वा परिवारको समूह छ र छोटो समयमै मन परेको गन्तव्य पुगेर फर्किनुपर्ने आवश्यकता छ भने मोबाइलबाट केही क्लिकमै हेलिकप्टर ‘बुक’ गर्न सकिन्छ।

नेपालको राइड सेयरिङ प्लेटफर्म ‘पठाओ नेपाल’ले सुरु गरेको अनलाइन हेलिकप्टर बुकिङ सुविधाले हेलिकप्टर चढ्ने सहजता दिलाएको हो।

सेवा घोषणाको २० दिनमै दुईपटक बुकिङ
अझ रोचक पक्ष त के छ भने यो सेवा घोषणा भएको २० दिनभित्रै अनलाइनबाट दुई पटक हेलिकप्टर बुकिङ भइसकेको छ। यसले नेपालीहरू नयाँ प्रविधि र सहज सेवाप्रति उत्साहित रहेको संकेत पनि गर्छ।

नेपालजस्तो हिमाल, पहाड र दुर्गम भूगोल भएको देशमा हेलिकप्टर केवल विलासिताको साधन मात्र होइन, समयको बचत गर्ने विकल्प पनि बन्न सक्छ। काठमाडौंको व्यस्त जीवनबाट केही घण्टामै हिमाली दृश्यावलोकन गरेर फर्किन चाहनेहरू, विशेष पारिवारिक भेटघाट, धार्मिक यात्रा वा आकस्मिक भ्रमणका लागि यो सेवा आकर्षक हुन सक्छ।

नेपालको पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने गरी पठाओ नेपालले ‘पठाओ हेली’ सेवा सुरू गरेको पहिलो सातामै बुकिङ आएको तर मौसम बिग्रिएका कारण बुकिङ रद्द गर्नुपरेको पठाओ नेपालमा प्रबन्ध निर्देशक यशु थकालीले बताए।

‘अहिलेसम्म गोसाइँकुण्डको लागि दुईवटा बुकिङ सफल भएको छ। यसले हामीलाई थप अगाडि बढाउन उत्साहित बनाएको छ’, थकालीले नेपालखबरसँग भने।

पठाओले जेठ १४ गतेबाट सिम्रिक एयरलाइन्ससँगको सहकार्यमा हेलिकप्टर बुकिङ सेवा ‘पठाओ हेली’को सुरुवात गरेको थियो। पठाओ हेलीमार्फत भएको बुकिङअनुसार जेठको २२ र २५ गते गोसाइँकुण्डमा उडान गरिएको उनले बताए।  

यात्रुले पठाओ एप अथवा पठाओ हेलीको वेबसाइट पठाओ हेली डटकममार्फत हेलिकप्टर बुकिङ गर्न सक्ने सुविधा छ।

यी गन्तव्यमा गर्न सकिन्छ हेलिकप्टर बुकिङ 
लाङटाङ, माछापुच्छ्रे बेसक्याम्प, स्याङबोचे, कालापत्थर, मुक्तिनाथ, गोसाइँकुण्ड, सगरमाथा आधारशिविर र अन्नपूर्ण आधारशिविर लगायतका धार्मिक, प्राकृतिक र पर्यटकीय गन्तव्यका लागि हेलिकप्टर बुक गर्न सुविधा दिइएको छ। 

हेलिकप्टरबाट सगरमाथाको अवलोकन उडान गर्दाको मूल्य ७ लाख १२ हजार ९९९ तोकिएको छ। मुक्तिनाथ पुगेर फर्किन ४ लाख १४ हजार ९९९ तिर्नुपर्छ। 

‘तीर्थयात्रा, नवविवाहित दम्पतीका लागि रमणीय यात्रा, पारिवारिक भ्रमण तथा साथीभाइसँग मिलेर छोटो समयमा विभिन्न पर्यटकीय गन्तव्य घुम्नका लागि पठाओ हेली उपयुक्त हुने विश्वास लिएका छौँ’, थकालीले भने। 

अहिले धेरैजसो दुई जनाको टिमले हेलिकप्टर उडानबारे चासो राख्ने गरेको उनले बताए। 

‘हेलिकप्टर बुकिङ गर्न दुई जनाको टिमले धेरैजसो चासो राख्ने गरेका छन्। हेलिकप्टरको क्षमता पाँच जनासम्मको हो। दुई जनाले पाँच जनाकै मूल्य तिर्नुपर्दा समस्या भएको पाएका छौँ’, थकालीले भने, ‘दुई–दुई जनाको फरक फरक टिमलाई एउटै उडानमा जाने गरी व्यवस्थापन गर्ने प्रयास गरिरहेका छौँ।’  

गोसाइँकुण्डको लागि हेलिकप्टर बुकिङ गर्दा १ लाख ६९ हजार ९९९ तोकिएको छ। यो मूल्यअभिवृद्धि करसहितको मूल्य हो। हेलिकप्टर बुकिङ गरेर रद्द गर्दा ७ दिन अगाडिसम्म कुल बुकिङ रकमको १० प्रतिशत शुल्क लाग्ने नियम कम्पनीले बनाएको छ। 

उडानको ७ दिनदेखि १ दिन अघिसम्म रद्द गरेमा ३३.३ प्रतिशत शुल्क लाग्ने र निर्धारित समयमा उपस्थित नभई यात्रा नगरेको अवस्थामा सम्पूर्ण शुल्क तिर्नुपर्ने नियम बनाइएको छ।

बंगलादेश र श्रीलंकाबाट पर्यटक तान्ने लक्ष्य
पठाओले नेपालसँगै बंगलादेश र श्रीलंकाबाट पर्यटक ल्याएर हेलिकप्टर सेवा दिने गरी तयारी गरेको प्रबन्धनिर्देशक थकालीले बताए। 

यसका लागि बंगलादेशको इस्टर्न बैंक पब्लिक लिमिटेड कम्पनी र श्रीलंकाको बैंकसँग सहकार्य गरेर ती देशका पर्यटक नेपाल ल्याउने गरी काम गरिरहेको उनको भनाइ छ। 

‘बंगलादेश र श्रीलंकाको बैंकले आफ्ना ग्राहकका लागि नेपालमा हेलिकप्टर सयरको स्किम बनाउने र त्यसअनुसार उनीहरुलाई पठाओ हेलीले नेपालमा यात्रा गराउने गरी काम भइरहेको छ’, थकालीले भने, ‘यसले नेपालको पर्यटन प्रवर्द्धनमा सघाउ पुग्नुका साथै अर्थतन्त्रलाई पनि गतिशील बनाउन योगदान मिल्छ।’

बंगलादेशमा पठाओ राइड सेयरिङमा ५० प्रतिशतभन्दा बढी बजार हिस्सा लिएको कम्पनी हो।

घुमघाम र पर्यटन प्रवर्द्धनमा मात्रै होइन, आपत्कालीन सेवामा पनि पठाओमार्फत हेलिकप्टर बुकिङ गर्न मिल्ने थकालीले बताए। 

‘पठाओको वेबसाइटमा उपलब्ध नम्बरबाट हाम्रो कल सेन्टरमा फोन गरेर आपत्कालीन सेवाको लागि पनि हेलिकप्टर बुकिङ गर्न मिल्छ’, उनले भने, ‘हेलिकप्टर उपलब्ध रहेको समयमा ३० मिनेटभित्रै उडान गर्न सक्ने गरी व्यवस्था मिलाएका छौँ।’

त्यसरी आपत्कालीन सेवामा हेलिकप्टर बुकिङ गर्दा उडान प्रतिघण्टाको हिसाबले मूल्य तिर्नुपर्ने उनले बताए। 

अहिले प्रतिघण्टा हेलिकप्टर उडानको मूल्य करिब ३५ सय रुपैयाँ अमेरिकी डलर छ। बिहीबारको विनिमय दरअनुसार त्यो मूल्य ५ लाख २८ हजार १७८ रुपैयाँ हुन्छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad