कारोबार


शाह बाबुछोरा, पछिल्ला ५ वर्षमा जसले ४ पटक व्यक्तिगत आयमा सर्वाधिक कर तिरे

शाह बाबुछोरा, पछिल्ला ५ वर्षमा जसले ४ पटक व्यक्तिगत आयमा सर्वाधिक कर तिरे

निर्दोष घोरसाइने
कात्तिक ३०, २०८२ आइतबार १९:११, काठमाडौँ

२०५४ मंसिर १ गते मूल्यअभिवृद्धि कर लागू भएको दिन हो। यही दिनको सम्झनामा हरेक वर्ष सरकारले मंसिर १ गतेलाई राष्ट्रिय कर दिवस मनाउँदै आएको छ। 

यस पटक पनि आन्तरिक राजस्व विभागले विभिन्न कार्यक्रम आयोजना गरेर १४औँ राष्ट्रिय कर दिवस मनाउँदै छ। कर दिवससँगै विभागले सबैभन्दा धेरै कर तिर्ने करदातालाई विभिन्न विधामा सम्मान पनि गर्दै आइरहेको छ। तर करदाताले तिरेको कर भने खुलाउने गरिएको छैन।

करको महत्व र आवश्यकतालाई नागरिक तहसम्म सञ्चार गर्ने उद्देश्यले सरकारले २०६९ मंसिर १ गतेदेखि राष्ट्रिय कर दिवस मनाउन सुरु गरेको हो। राजस्व प्रशासनलाई स्वच्छ, पारदर्शी र प्रतिस्पर्धी बनाउन कर दिवसले सहयोग पुग्ने विश्वास लिइएको छ।

व्यक्तिगत आयमा बाबुछोराको प्रतिस्पर्धा 
पछिल्लो पाँच वर्षमा व्यक्तिगततर्फ सबैभन्दा धेरै आयकर बुझाउनेमा राजबहादुर शाह, विजयकुमार शाह र सिद्धार्थ शमशेर जबरा रहेका छन्।

यस अवधिमा विजयकुमार शाह तीन पटक तथा राजबहादुर शाह र सिद्धार्थ शमशेर जबरा एक÷एक पटक सबैभन्दा धेरै आयकर बुझाउने करदाताका रुपमा सम्मानित भएका छन्। 

राजबहादुर शाह २०८१, सिद्धार्थ शमशेर जबरा आव २०७८, विजयकुमार शाह आव २०८०, २०७९ र २०७७ मा सर्वाधिक आयकर बुझाउने करदाताको रुपमा सम्मानित भएका हुन्। 

२०८१ मंसिरमा सबैभन्दा धेरै आयकर बुझाउने व्यक्तिका रुपमा सम्मानित राजबहादुर शाह विजयकुमार शाहका छोरा हुन्। बुवा विजयकुमार शाहलाई पछि पार्दै राजबहादुर शाह गत वर्ष सार्वधिक आयकर तिर्ने व्यक्तिका रुपमा सम्मानित भएका हुन्। 

शाह बाबुछोरा मदिरा उत्पादन क्षेत्रसँग जोडिएका उद्यमी हुन्। उनीहरु जावलाखेल डिस्टिलरी, हिमालयन डिस्टिलरी, राज ब्रुअरी, एसियन ब्रुअरी र विजय डिस्टिलरीमा आबद्ध छन्। उनीहरुको कम्पनीले रुस्लान भोड्कादेखि गोल्डेन ओकसम्म उत्पादन गर्छ। 

सिद्धार्थ सम्शेर जबरा हस्पिटालिटी, जलविद्युत्, उत्पादनमूलक उद्योग, ट्राभल एण्ड टुरिज्मदेखि लगानी कम्पनीमा सक्रिय छन्। उनको सिप्रदी ट्रेडिङ, सिप्रदी इनर्जी, सिप्रदी अटोपार्टस, हिमालयन इन्टरनेशनल इनर्जी, भोटेकोशी पावर ककम्पनी, तारा म्यानेजमेन्ट, सूर्य फण्ड, सोल्टी ग्रुप, अमरावती ट्राभल, एम ट्रिप र सूर्य नोपल लगायत कम्पनीमा उनको लगानी छ। 

बैंकमा नबिल र ग्लोबलको प्रतिस्पर्धा 
पाँच वर्षको अवधिमा ४ पटक नबिल बैंक सबैभन्दा धेरै कर तिर्ने बैंक तथा वित्तीय संस्थाको रुपमा सम्मानित भएको छ।

नबिल बैंक आव २०७७, २०७८, २०७९ र २०८१ मा सर्वाधिक आयकर बुझाउने करदाताको रुपमा सम्मानित भएको थियो। ग्लोबल आईएमई बैंक २०८० मा यो सम्मानबाट सम्मानित भएको थियो।

आयकर दाखिल गर्ने करदाता
पछिल्लो चार वर्षमा सरकारी स्वामित्वको नेपाल टेलिकम सर्वाधिक आयकर दाखिल गर्ने करदाताको रुपमा सम्मानित भइरहेको छ।

नेपाल टेलिकमले २०७८ सालदेखि नियमित रुपमा सर्वाधिक आय कर दाखिल गर्ने करदाताको सूचीमा अग्रस्थानमा छ। २०७७ मा सूर्य नेपाल सर्वाधिक आयकर दाखिल गर्ने करदाताको रुपमा सम्मानित भएको थियो। 

वस्तु निर्यात 
निर्यात कारोबारबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने करदातामा डाबर नेपाल पछिल्लो पाँच वर्षमा चार पटक सम्मानित भएको छ।

डाबर नेपाल २०८१, २०८०, २०७८ र २०७७ मा सम्मानित हुँदा शिव शक्ति घ्यू २०७९ मा वस्तु निर्यातका आधारमा सबैभन्दा धेरै आयकर दाखिला गर्ने करदाताको रुपमा विभागले सम्मान गरेको थियो। 

विशेष उद्योग 
पछिल्लो चार वर्षदेखि विशेष उद्योगहरुमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाताका रुपमा एशियन पेण्ट्स प्रालि सम्मानित हुँदै आइरहेको छ। २०७७ मा भने हिमाल पावर लिमिटेड सम्मानित भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad