संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) नेपालले जलवायु न्यायप्रति जनचेतना अभिवृद्धि गर्ने आफ्नो पहलअन्तर्गत पूर्णिमा श्रेष्ठ र निमा रिन्जी शेर्पालाई जलवायु अभियन्ताका रूपमा मनोनित गरेको छ।
यूएनडीपीको सामाजिक सञ्जाल अभियानको पूर्वसन्ध्यामा पर्वतारोहीद्वय शेर्पा र श्रेष्ठलाई जलवायु अभियन्ताका रूपमा मनोनित गरेको हो।
यस सहकार्यले लैङ्गिक उत्तरदायी जलवायु न्यायमा क्रियाशील युवाहरूको नयाँ पुस्तालाई प्रतिनिधित्व गर्ने यूएनडीपीको विश्वास रहेको छ।
यस अभियानको मुख्य उद्देश्य महिला र आदिवासी समुदायजस्ता संवेदनशील समुदायहरूमा जलवायु परिवर्तनले परिरहेको असमान प्रभावहरूलाई उजागर गर्नु रहेको यूएनडीपीको भनाइ छ।
नेपालको विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नगण्य प्रभाव भएपनि नेपालका उच्च पहाडी र हिमाली क्षेत्रका वासिन्दाहरूले गम्भीर जलवायु असरहरूको सामना गर्नुपरेको छ।
यो क्रमशः बढ्दै जाँदा हिमनदी खुम्चिँने र जैविक विविधताको ह्रास आउनेदेखि कृषि, स्वास्थ, खानेपानी, पूर्वाधार, शिक्षा र मानिसको जीवनयापनलाई समेत असर पर्ने देखिन्छ।
सन् २०२० मा यूएनडिपी र इसिमोडले तीन वर्ष लगाएर गरेको एक अध्ययनले नेपालमा २ हजार ३ सय २३ हिमताल छन् भने ४७ वटा हिमताल अति नै जोखिममा रहेको देखाएको छ।
विश्वको हिमनदी प्रणालीको महत्वपूर्ण स्थान ओगटेका यी हिमालहरूलाई भविष्यका पुस्ताहरूका लागि सुरक्षित राख्न तत्काल सामूहिक प्रयास आवश्यक रहेको पनि युएनडिपीको सुझाव छ।
Shares

प्रतिक्रिया