कारोबार


बजेट बनाउँदा तयारीगत कमजोरी भएको हुन सक्छः अर्थमन्त्री वाग्ले

बजेट बनाउँदा तयारीगत कमजोरी भएको हुन सक्छः अर्थमन्त्री वाग्ले

नेपालखबर
जेठ २५, २०८३ सोमबार १९:५४, काठमाडौँ

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट बनाउँदा तयारीगत कमीकमजोरी भएको स्वीकारेका छन्।

नेपाल उद्योग वाणिज्य महासंघले आज (सोमबार) काठमाडौँमा आयोजना गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटः ‘नीति संवाद’ कार्यक्रममा सम्बोधन गर्दै उनले छोटो अवधिमा नयाँ बजेट ल्याउनु परेकाले केही प्राविधिक कमजोरीहरू भएको हुन सक्ने बताएका हुन्। 

तर, यो बजेटले आगामी ५ वर्षको आर्थिक विकासको स्पष्ट रोडम्याप कोरेको उनले दाबी गरे।

‘५ वर्षमा देशलाई कुन दिशामा लैजाने र कस्ता आर्थिक सुधारहरू गर्ने भन्ने विषयमा यो सरकारको कार्ययोजना र संकल्प एकदमै स्पष्ट छ,’ उनले भने, ‘हामीले पाँच वटा बजेटको समष्टिगत परिकल्पना र दीर्घकालीन मार्गचित्र कोरेर यो पहिलो वर्षको बजेट ल्याएका हौँ।’

यसको कार्यान्वयनमा देखिने व्यवहारिक जटिलता, करका दरमा भएका अन्योल वा अन्य प्राविधिक कमीकमजोरीलाई निजी क्षेत्रको सुझावका आधारमा सुधार्दै र परिमार्जन गर्दै अघि बढ्न सरकार पूर्णरूपमा खुला रहेको उनले बताए।

अर्थमन्त्री डा. वाग्लेले देशको वित्तीय अवस्था र बजेट निर्माणको जटिल बाध्यात्मक परिस्थितिका बीच बजेट तयार गरेको बताए। ‘हाम्रो कुल विनियोजनमध्ये करिब ७० प्रतिशत हिस्सा त सार्वजनिक ऋणको साँवाब्याज भुक्तानी, कर्मचारीको पारिश्रमिक, निवृत्तिभरण र सामाजिक सुरक्षा जस्ता अनिवार्य दायित्व र निश्चित शीर्षकहरूमा खर्च हुन्छ,’ उनले भने, ‘हामीसँग नयाँ सोच, नयाँ आयोजना र आर्थिक उत्प्रेरणाका कार्यक्रमहरू ल्याउन जम्मा ३० प्रतिशत मात्र स्रोत बाँकी रहन्छ। यही सीमित जगमा उभिएर हामीले निजी क्षेत्रलाई उत्साहित बनाउने र उत्पादन बढाउने प्रयास गरेका छौँ।’

निजी क्षेत्र आर्थिक विकासको मुख्य संवाहक भएकाले सरकारको उद्देश्य व्यवसायलाई निरुत्साहित गर्ने नभई यसलाई व्यवस्थित, पारदर्शी र प्रतिस्पर्धी बनाउने भएको उनको भनाइ छ। ‘बजारमा देखिएको शिथिलता तोड्न र संकुचनमा परेको निजी क्षेत्रको मनोबल उच्च बनाउन मौद्रिक नीति र वित्त नीतिबीच चुस्त समन्वय गरेर अगाडि बढिनेछ,’ मन्त्री वाग्लेले भने, ‘म सम्पूर्ण उद्योगी साथीहरूलाई ढुक्क भएर लगानी बढाउन आग्रह गर्दछु, तपाईंहरूका जायज व्यावसायिक अप्ठ्यारा फुकाउन म मन्त्रालयमा २४सै घण्टा संवाद गर्न तयार छु।’

यस्तै उनले विगत लामो समयदेखि जकडिएर रहेको नीतिगत तहको ‘पोलिसी कब्जा’ र सीमित समूहको हित रक्षा गर्ने ‘माइक्रो सिन्डिकेट’ हरूको समूल अन्त्य गर्न सरकार पछि नहट्ने स्पष्ट पारे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad