कारोबार


समानान्तरको अडानपछि सहसचिवलाई सरुवा गरेर थालियो ग्वार्को फ्लाइओभरको काम

समानान्तरको अडानपछि सहसचिवलाई सरुवा गरेर थालियो ग्वार्को फ्लाइओभरको काम

नेपालखबर
माघ २३, २०८१ बुधबार १८:८, काठमाडौँ

सहसचिवलाई सरुवा गरेपछि निर्माण कम्पनीले ग्वार्को फ्लाइओभरको काम पुनः सुरु गरेको छ।

फ्लाइओभर निर्माणमा त्रुटि देखाएर पुनः काम लगाएको भन्दै काम रोकेको कम्पनी कर्मचारी सरुवा भएपछि निर्माणमा फर्किएको हो। 

समयमा काम नगरी हर्जना तिरिरहेको कम्पनीले त्रुटि सच्याउन नमान्दा सडक विभागसँग विवाद भएको थियो। सडक विभागअन्तगर्तको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक प्रभातकुमार झाले कम्पनीलाई पुनः काम गर्न निर्देशन दिएका थिए। 

चार लेनको फ्लाइओभर निर्माणको जिम्मेवारी आशिष–समानान्तर–रेलिगेर जेभीले त्रुटि सच्याएर काम गर्नुको साटो कर्मचारीले दुःख दिएको भन्दै काम नै रोकेको थियो।  

सडक विभागअन्तर्गत सुरुङमार्ग, फ्लाइओभर हेर्ने केन्द्रले त्रुटि सच्याउनैपर्ने अडानले निर्माण कम्पनी काम छाडेर सम्पर्कविहीन भएको थियो। ठेक्का हत्याउन सत्ता र शक्ति प्रयोग गर्दै आएको समानान्तरले झाकै कारण काम नबढ्ने अड्डी कस्यो। 

‘निर्माण कम्पनीको त्रुटि हुँदा प्रभात सरले सच्याउनैपर्छ भन्नुभएको थियो तर विभाग र मन्त्रालयबाटै सहयोग नपाएपछि सरुवा माग गर्नुभएको हो’, सडक विभागका एक अधिकारीले नेपालखबरसँग भने, ‘आफ्ना कर्मचारीले लिएको अडानमा सडक विभागको नेतृत्व र मन्त्रालयले समेत त्रुटि सच्याउने विषयमा सहयोग नगर्दा प्रभात सर सरुवा हुनुभएको हो।’

२०७८ फागुन १२ बाट सुरु भएकोे थियो। गत पुस ८ गते नै निर्माण सक्नुपर्ने थियो तर विभिन्न बहाना देखाउँदै ढिलासुस्ती गरेको छ। 

सडक विभागका महानिर्देशक रामहरि पोखरेलले काम गर्दा केही प्राविधिक त्रुटि भएकाले सच्याएरै काम अघि बढ्ने बताए। उनले कर्मचारीसँगको विवाद ठूलो नभएको दाबी पनि गरे।  

‘कुनै समस्या भए पनि निर्माणपछि मेरो जिम्मेवारी हो भन्दै केही विवाद भएको मात्रै हो’, महानिर्देशक पोखरेलले भने, ‘गल्ति गरेको कुरा करेक्सन हुनैपर्छ। १ ठाउँमा अलि धेरै समस्या देखिएको छ। अरु स–साना गल्ति सच्याएर काम गर्न भनेका छौँ।’

विवाद भएपछि झाले आफैँ सरुवा हुन्छु भनेर मन्त्रालयमा निवेदन दिएका थिए। 

‘निर्माण कम्पनीले सरुवा गराएको भनी प्रचार भयो। त्यस्तो होइन सामान्य   विवाद भएपछि उहाँले सरुवा माग गर्नुभएको हो’, महानिर्देशक पोखरेलले भने, ‘धेरै नकारात्मक रुपमा लिनुहुँदैन।’

तर विभागकै इन्जिनियरले नेतृत्वले त्रुटि सच्याउने विषयमा अडान नलिँदा सरुवापछि मात्रै काम हुने अवस्था आएको बताए। 

गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका सीडीई प्रदीप भण्डारीले निर्माण कम्पनीले आफ्ना त्रुटि सच्याएर निर्माणको काम सुरु गरेको जानकारी दिए। 

‘हिजो साँझबाटै उनीहरुले त्रुटि सच्याउने काम गर्न सुरु गरेको छ’,  भण्डारीले भने, ‘सबै सक्याउन चैतसम्मको समय माग गरेका छन्।’

पुस ८ गते नै कम्पनीको ठेक्का अवधि सकिएको छ। निर्माणको काम ढिलाइ भएबापत निर्माण कम्पनीले हर्जना तिरेरै काम गर्ने बताएको छ।

निर्माण व्यवसायीले दैनिक ८५ हजार हर्जना सरकारलाई तिर्नुपर्नेछ। अहिले करिब ८३ प्रतिशत काम सकिएको छ। फ्लाइओभर करिब ५०० मिटरको हुनेछ। 

‘फ्लाइओभरको काम कहिले सकिन्छ निर्माण कम्पनीको काममा भर पर्छ’, सीडीई भण्डारीले भने।

इन्जिनियरिङ प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलमा निर्माण सम्झौता भएको छ। जसअनुसार ठेकेदार कम्पनी आफैँले डिजाइन गरी फ्लाइओभर निर्माणको काम भइरहेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad