कारोबार


सर्किटमा खेल्ने लगानीकर्तालाई रोक्न नयाँ व्यवस्था, फेरिँदै छ अन्तिम सेयरमूल्य गणनाको विधि

सर्किटमा खेल्ने लगानीकर्तालाई रोक्न नयाँ व्यवस्था, फेरिँदै छ अन्तिम सेयरमूल्य गणनाको विधि

सम्झना घिमिरे
फागुन ८, २०८१ बिहिबार २०:६, काठमाडौँ

केही दिनयता सेयर लगानीकर्तामाझ ‘एमकेटी’ शब्द निकै चर्चामा छ।

धितोपत्रको दोस्रो बजारको कारोबारमा प्रयोग हुने यो शब्दले उनीहरुको ध्यान खिचिरहेको छ।

सामाजिक सञ्जालमा ‘एमकेटी’लाई लिएर लगानीकर्ता विभिन्नखालका बहसमा उत्रिरहेका छन्।

खासमा मार्केट अर्डरको छोटो रूप नै ‘एमकेटी’ हो। धितोपत्र बजार व्यवस्थापन गर्दै आएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सेयरको अन्तिम कारोबार मूल्य गणना गर्ने विधि परिवर्तन गर्ने निर्णय गरेसँगै ‘एमकेटी’ शब्द चर्चित बनेको हो। 

सेयरबजारमा यो नयाँ शब्द भने होइन। यसअघि नै यो व्यवस्था रहे पनि कार्यान्वयनमा भने थिएन। 

अहिले नेप्सेले कारोबारको अन्तिम समयमा हुने चलखेल नियन्त्रणका लागि यसको कार्यान्वयन गर्न खोज्दै छ। 

योसँगै धितोपत्रको दोस्रो बजारका कारोबारमा आएका कम्पनीको अन्तिम मूल्य र सुरुवाती मूल्यको गणना विधिमा परिवर्तन हुनेछ। हाल बजार बन्द हुने अन्तिम समयको मूल्यलाई नै भोलिपल्टको सुरुवाती मूल्य मान्ने व्यवस्था छ। 

नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले धितोपत्र कारोबार सञ्चालन विनियमावलीको ११ विनियमको (ग) उपविनियममा रहेको बुँदा संशोधन गर्न लागेको बताए। 

उनले भने, ‘बजारको अन्तिम मूल्य गणना गर्दा अब २ बजेर ४५ मिनेटदेखि ३ बजेसम्मको मूल्यलाई आधार मानी भारित औसत मूल्य निकालेर सोही मूल्यलाई भोलिपल्टको कारोबारको सुरुवाती मूल्य मान्ने गरी व्यवस्था गर्न लागिएको हो।’ 

पराजुलीका अनुसार अब २ बजेर ४५ मिनेटदेखि ३ बजेसम्म देखिएको कम्पनीको मूल्यको उतारचढावलाई आधार मानेर त्यसको औसत मूल्य निकालिनेछ। यहीअनुसार भोलिपल्टको कारोबारको सुरुवाती मूल्य तोकिनेछ। 

अहिले ३ बजेसम्मकै मूल्यलाई भोलिपल्टको सुरुवाती मूल्य मानिँदै आएको छ। दोस्रो बजार बन्द हुनु केही मिनेट तथा सेकेन्डमा लगानीकर्ताले सेयर खरिद चाप बढाएर कम्पनीको मूल्यमा सर्किट लगाउनेजस्ता कामहरु गर्दै आएका थिए। 

सेयर कित्ता खरिदबिक्री नबढ्दै मागका आधारमा अन्तिम समयमा मूल्यमा सर्किट लगाउने विकृति बजारमा बढ्न थालेपछि नेप्सेले मूल्य निर्धारणको विधि परिवर्तन गर्ने प्रक्रिया अगाडि बढाएको थियो। 

यसअनुसार नेप्सेले धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को सो व्यवस्था परिमार्जन गर्न संशोधन अगाडि सारेको हो। 

विनिमावलीको उक्त बुँदामा नेप्से आफैँले समय निर्धारण गर्नसक्ने अधिकार छ। 

विनियमावलीले अधिकार दिए पनि अन्य प्रावधानहरुमा असर पुग्ने भन्दै नेप्सेले नियामक धितोपत्र बोर्डमा स्वीकृति माग्न बोर्डमा पत्र पठाउने निर्णय गरेको छ। यद्यपि पत्र भने बोर्डमा पुगिसकेको छैन।

बोर्डका व्यवस्थापन तथा कानुन विभागका कार्यकारी निर्देशक विनयदेव आचार्यले नेप्सेबाट विभिन्न समयमा अन्तिम मूल्य निर्धारण परिवर्तनको कुरा उठे पनि पत्र नआइसकेको बताए। 

‘ऐन संशोधन वा निर्देशन जारी गरेर सो व्यवस्था कार्यान्वयनमा ल्याइन्छ’, उनले थपे, ‘नेप्सेबाट सोको पत्र अहिलेसम्म आएको छैन। तर उहाँहरुले प्रक्रिया अगाडि बढाउनुभएको भन्ने सुनेको छु।’ 

लगानीकर्ताको केही समूहले मनसायगत रुपमै बजार बन्द हुने अन्तिम समयमा मूल्यमा चलखेल गर्ने गरेको भन्दै यसअघि नै नीतिगत व्यवस्था गर्नुपर्ने आवाज उठ्दै आएको छ। मूल्यमा चलखेल गर्ने ‘लुपहोल’ रहेको थाहा पाएसँगै बोर्डले समेत यो विषयमा अध्ययन पनि गरिरहेको छ।

निर्देशक आचार्यले अन्तिम मूल्य गणना विधिबारे अध्ययन भइरहेको उल्लेख गरे। 

उनले भने, ‘धेरै अगाडिदेखि यसबारे आवाज उठ्दै आएको छ। हामीले अन्तिम मूल्य गणना विधिबारे अध्ययन नै गरिरहेका छौँ।’ 

धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ ले कारोबार सञ्चालनलाई चार भागमा वर्गीकरण गरेको छ भने अन्तिम कारोबारको समय ३ देखि साढे ३ बजेसम्मलाई तोकेको छ। 

विनियमावलीले १०:३० देखि ११ बजेसम्मको कारोबारलाई प्रारम्भिक कारोबार, ११ बजेदेखि ३ बजेसम्मलाई बोलकबोल र निरन्तर कारोबार तथा ३ बजेदेखि ३:०५ सम्मको कारोबारलाई अन्तिम कारोबार मानेको छ। 

विनियमावलीले बोर्डलाई जानकारी नदिएर पनि उक्त व्यवस्था हेरफेर गर्न सक्ने अधिकार नेप्सेलाई दिएको छ। सोही अधिकारमा टेकेर नेप्सेले अन्तिम कारोबार समयलाई परिवर्तन गर्न लागेको हो। 

यसरी १५ मिनेटको कारोबार मूल्यलाई आधार मानेर त्यसमा भारित औसत मूल्य निकाल्दा लगानीकर्ताले मूल्यमा चलखेल गर्न पाउनेछैनन्। 

१५ मिनेटअगाडि खरिद माग आएमा उक्त सेयर खरिद हुने सम्भावना बढ्छ। अहिले अन्तिम केही सेकेन्डमा खरिदकर्ताले धमाधम मूल्य बढाएर सेयर माग गर्ने तर खरिद नगर्ने गरी अर्डर गर्ने गर्थे। 

यसले अन्तिम समयमा कम्पनीको मूल्य १० प्रतिशतसम्मले बढ्न पुग्थ्यो। जुन सेयर भोलिपल्ट सुरुमै बेचेर त्यस्ता लगानीकर्ताले नाफा निकाल्ने गर्थे। 

अब भने लगानीकर्ता खरिदको मनसाय नै नभई खरिद माग गर्न नसक्ने अवस्था सिर्जना गर्ने र अन्तिम समयमा मूल्यमा चलखेल गर्नबाट रोक्न सकिने नेप्सेको अपेक्षा छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad