राजनीति


यस्तो बन्यो कुलमान घिसिङको उज्यालो नेपाल पार्टीको टिम, अटेनन् सुमना र सुदन

यस्तो बन्यो कुलमान घिसिङको उज्यालो नेपाल पार्टीको टिम, अटेनन् सुमना र सुदन

नेपालखबर
कात्तिक २५, २०८२ मंगलबार १६:५८, काठमाडौँ

कुलमान घिसिङको उज्यालो नेपाल पार्टीले निर्वाचन आयोगमा अध्यावधिक विवरण बुझाएको छ। साउन २७ गते नै मानबहादुर तामाङको नेतृत्वमा निवेदन दिएको उज्यालो नेपाल पार्टी पूर्वऊर्जासचिव अनुपकुमार उपाध्यायको अध्यक्षतामा पुनर्गठन गर्दै ५१ सदस्यीय विवरण बुझाइएको जितराम वाइबाले नेपालखबरलाई जानकारी दिए। 

हाल ऊर्जा, भौतिक पुर्वाधार तथा सहरी विकासमन्त्री रहेका कुलमान भने चुनावताका मात्रै दलमा सक्रिय हुने भएका छन्। उनको विश्वासपात्र उपाध्यायको नेतृत्वमा आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचन सहभागी हुने गरी दल दर्ताका लागि अध्यावधिक विवरण पेस गरेका हुन्। 

'दर्ता होइन। साउन २७ गते नै दर्ता भएको उज्यालो नेपाल पार्टीको कार्यसमिति अध्यावधिक गर्ने काम भयो,' उनले भने, 'अध्यक्ष अनुपकुमार उपाध्याय हुनुहुन्छ। अरु सबै सदस्य रहने गरी विवरण अध्यावधिक गरिएको छ। कार्यसमिति परिवर्तन गरिएको छ।'
 
उनका अनुसार डडेलधुराको प्रदेश सभा २ मा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित सांसद डा तारा जोशी, प्राध्यापक डाक्टर महेन्द्र लावती, चर्चित कार्यक्रम प्रस्तोता रिमा विश्वकर्मा, खड्गबहादुर बस्नेत, टासी ल्हाजोमलगायतको नाम आयोगमा अध्यावधिक गरिएको हो।

टासी यसअघि सुशीला कार्की नेतृत्वकै सरकारमा पर्यटनमन्त्री बन्ने चर्चामा थिइन्। तर उनका विषयमा सामाजिक सञ्जालमा टिकाटिप्पणी भएपछि उनको मन्त्री बन्ने यात्रामा ब्रेक लागेको थियो। 

सुशीला कार्की नेतृत्वको चुनावी सरकारमा तीन वटा मन्त्रालय सम्हालिरहेका कुलमान घिसिङ आफै भने पार्टीको कार्यसमितिमा अहिले संलग्न छैनन्। उनले चुनावअघि मात्रै सभापति भएर पार्टीको नेतृत्व गर्ने र निर्वाचनमा भाग लिने तयारी रहेको बुझिएको छ। 

जेनजी पार्टी भनेर निर्वाचन आयोगमा दर्ता गरेका किरण विक पनि यो पार्टीमा सामेल भएको वाइबाले दाबी गरे। 

उनले पूर्वसांसद सुमना श्रेष्ठ, हामी नेपालका संयोजक सुदन गुरुङलगायत भने यो पार्टीमा नभएको जानकारी दिए।

'सुमना र सुदन अहिले टिममा हुनुहुन्न। सहकार्य गरेरै जाने भन्ने चाहिँ भएको छ,' उनले भने। वाइबाले जेन्जीका प्रतिनिधिहरू अहिले दलमा समावेश नभएको बताए।

'जेनजीहरूसँग छलफल नै बाँकी भएकाले उहाँहरू कोही पनि पार्टीमा बस्नु भएको छैन,' उनले थपे।  यो पार्टीले चुनाव चिह्न भने बिजुलीको चिम माग गरेको छ। 

आज बिहानमात्रै कुलमानले नै सुमना र सुदनसँग सुरुवाती समयदेखि नै सहकार्य गरेर जाने विषयमा छलफल गरेका थिए। मंगलबार बिहान उनले आफ्नै निवासमा उनीहरूसँग छलफल गरेका हुन्। 

कुलमानकै नेतृत्वमा नयाँ दल गठनको लागि सुमना लामो समयदेखि सक्रिय थिइन्। 
तर, मन्त्री पदमा रहेका घिसिङले तत्काल आफ्नो नेतृत्वमा दल दर्ता नगरी फागुन २१ गतेका लागि तय भएको चुनावकै छेकोमा मात्र दलमा सहभागी हुने बताए।

सोही अनुसार उनले पूर्वऊर्जासचिव उपाध्यायलाई अघि सारे। कुलमानको नेतृत्वमा दल दर्ता नहुने हो भने सामूहिक नेतृत्व हुनेगरी दल दर्ता गर्न सुमनाले सुझाव दिएकी थिइन्। 

उनको सुझाव कार्यान्वयन गर्न छलफलमा रहेकाहरू तयार नभएपछि सोमबार बिहान उनले घिसिङलाई शुभकामना दिँदै दल दर्तामा सहभागी नहुने बताएकी थिएन्। 

निर्वाचन आयोगले फागुन २१ गतेको प्रतिनिधि सभा चुनावका लागि कात्तिक ३० गतेसम्म दल दर्ताको निवेदन दिइसक्नुपर्ने सीमा तोकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad