कारोबार


स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई १४ करोड जरिवाना, अरु ४ बैंक पनि राष्ट्र बैंकको कारबाहीमा

स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई १४ करोड जरिवाना, अरु ४ बैंक पनि राष्ट्र बैंकको कारबाहीमा

नेपालखबर
बैशाख १८, २०८२ बिहिबार १३:२९, काठमाडौँ

नेपाल राष्ट्र बैंकले स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई १४ करोड बढी जरिवाना गरेको छ। 

तोकिएका क्षेत्रमा कर्जा प्रवाह गर्नुपर्ने न्यूनतम प्रतिशतभन्दा कम कर्जा प्रवाह गरेको भन्दै बैंकलाई जरिवाना लगाइएको हो।

आव २०८१/८२ को दोस्रो त्रैमासिक (२०८१ पुस मसान्तसम्मको) अवधिमा स्ट्यान्डर्ड चार्टर्ड बैंकले तोकिएका क्षेत्रमा कर्जा प्रवाह गर्नुपर्ने न्यूनतम प्रतिशतभन्दा कम कर्जा प्रवाह गरेकोले १४ करोड ८५ लाख २५ हजार ५ सय ६६ रुपैयाँ जरिवाना लगाएको केन्द्रीय बैंकले जनाएको छ। 

योबाहेक सीईओसहित अन्य ४ बैंक पनि कारबाहीमा परेका छन्।

यसमा नेपाल बैंकका पूर्वअध्यक्ष चन्द्रबहादुर अधिकारीलाई कर्जा दुरुपयोगमा ५ लाख जरिवाना गरेको छ भने बैंकका सीईओ तिलकराज पाण्डेलाई राम्रोसँग काम गर्न नसकेको भन्दै एक पटकका लागि सचेत गराएर छोडेको छ।  

पाण्डेलाई राष्ट्र बैंकले बैंक र सीईओबीच भएको सम्झौताअनुसार बैंकको रणनीतिक योजना, वार्षिक बजेट तथा कार्यक्रम प्रभावकारी रुपमा योजना कार्यान्वयन गराउन नसकेको, कर्जा समयमै स्वीकृति तथा नवीकरण गराउन नसकेको, उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीहरुबीच आपसी समन्वय गर्न नसकेको भन्दै एक पटकका लागि सचेत गराएर छोडेको छ।  

यस्तै राष्ट्र बैंकले लक्ष्मी सनराइज बैंकका सीईओ अजय बिक्रम साहलाई कर्जा राष्ट्र बैंकको निर्देशन पालना नगरेको, बैंकको संस्थापक सेयरधनीलाई निर्देशनविपरीत गएर कर्जा सुविधा उपलब्ध गराएको लगायत कसुरमा नसिहत दिएको छ। योसँगै बैंकले कर्जा वर्गीकरण नगरेको, खराब कर्जाअनुसार कर्जा नोक्सानी व्यवस्थापन पर्याप्त नगरेकालगायतका कसुरमा बैंकलाई कारबाही गरेको छ।

अहिले वाणिज्य बैंकहरुले बढेको खराब कर्जा लुकाउनका लागि त्यस्ता कर्जाहरुलाई खराबमा वर्गीकरण नगरी ढाकछोप गर्दै आएका छन्।

कर्जा नोक्सानी व्यवस्थापनसँगै राष्ट्र बैंकले कडाइ गरेको कर्जा वर्गीकरणमा बैंकहरुले बेवास्ता गर्दै निष्क्रिय कर्जा पनि सक्रिय कर्जामा वर्गीकरण गर्ने पाइएपछि राष्ट्र बैंकले बैंकहरुलाई कारबाही गरेको हो । 

राष्ट्र बैंकले कुमारी बैंकले निष्क्रिय कर्जा र सूक्ष्म निगरानी कर्जामा वर्गीकरण नगरेको भन्दै बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाललाई नगर्न सचेत गराएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad