चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकमा आइपुग्दा उच्च खराब कर्जामा कुमारी बैंकलाई हिमालयन बैंकले उछिनेको छ।
दोस्रो त्रैमासिकसम्म सबैभन्दा धेरै खराब कर्जा कुमारी बैंकमा थियो। तर तेस्रो त्रैमासिकमा आइपुग्दा हिमालयन सबैभन्दा धेरै खराब कर्जा बोक्ने बैंक बनेको हो।
दोस्रो त्रैमासिकमा कुमारी बैंकको खराब कर्जा ६.९६ प्रतिशत थियो। बैंकले तेस्रो त्रैमासिकमा आइपुग्दा खराब कर्जा घटाउन नसके पनि दोस्रो नम्बरमा ओर्लिएको छ। तेस्रो त्रैमासिकमा कुमारी बैंकको खराब कर्जा ६.९८ प्रतिशत छ भने पहिलो स्थानमा उक्लिएको हिमालयन बैंकको ७.६८ प्रतिशत छ।
दोस्रो त्रैमासिकसम्म हिमालयनको खराब कर्जा ४.९८ प्रतिशत थियो। पछिल्लो तीन महिनामै बैंकको खराब कर्जामा उच्च वृद्धि देखिएको हो।
२ बाहेक बाँकीमा बढ्यो खराब कर्जा
यो अवधिमा दुई वाणिज्य बैंकबाहेक सबै बैंकको खराब कर्जा बढेको छ भने तीन वाणिज्य बैंकहरू अझै पनि खराब कर्जाको दबाबबाट बाहिर नै देखिएका छन्।
तुलनात्मक रुमपा दोस्रो त्रैमासिकभन्दा तेस्रो त्रैमासिकमा खराब कर्जा बढे पनि एभरेष्ट, सानिमा र स्ट्यान्डर्ड चार्टर्ड भने दबाबबाहिर देखिएका छन्। यी बैंकहरूको चैतसम्म खराब कर्जा क्रमशः ०.६४ प्रतिशत, १.४४ प्रतिशत र ३.४३ प्रतिशत छ।
यस्तै दुई वाणिज्य बैंकले भने दोस्रो त्रैमासिकको तुलनामा तेस्रो त्रैमासिकमा खराब कर्जा घटाएका छन्।
दोस्रो त्रैमासिकमा ४.५ प्रतिशत खराब कर्जा रहेको सिद्धार्थ बैंकले तेस्रो त्रैमासिकमा यस्तो कर्जा घटाएर ४.०४ प्रतिशतमा कायम गरेको छ।
त्यस्तै राष्ट्रिय वाणिज्य बैंकले पनि खराब कर्जा ४.९६ प्रतिशतबाट ४.६९ प्रतिशतमा झारेको छ।
योबाहेकका १५ वटा वाणिज्य बैंकहरू भने उच्च खराब कर्जाको चपेटामा देखिएका छन्।
उच्च खराब कर्जा हुनेहरूमा हिमालयन, कुमारीसँगै नेपाल इन्भेस्टमेन्ट मेगा ६.०६ प्रतिशतसहित तेस्रो नम्बरमा छ।
यीबाहेक लक्ष्मी सनराइज बैंकको ५.८६ प्रतिशत, एनआईसी एसिया बैंकको ५.७५ प्रतिशत, सिटिजन्स ५.७१ प्रतिशत, प्राइम ५.५६ प्रतिशत, नेपाल बैंकको ५.४५ प्रतिशत र प्रभु बैंकको ५.०९ प्रतिशत खराब कर्जा छ।
यस्तै खराब कर्जा ४ प्रतिशतमा हुनेमा भने ८ वटा वाणिज्य बैंकहरू छन्। जसमा कृषि बैंक र ग्लोबल आईएमई बैंकको ४.९८ प्रतिशत, नबिल बैंकको ४.९६ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंक ४.६९ प्रतिशत, माछापुच्छ्रे ४.५९, एनएमबी ४.४७ प्रतिशत, नेपाल एसबीआई बैंकको ४.०६ प्रतिशत र सिद्धार्थ बैंकको ४.०४ प्रतिशत खराब कर्जा छ।
यीमध्ये नबिल बैंकको खराब कर्जा भने तेस्रो त्रैमासिकमा ह्वात्तै बढेको छ। एनबी बैंक मर्ज गरेर ल्याउँदा सँगै आएको निर्माण क्षेत्रको पोर्टफोलियोका कारण नबिलको खराब कर्जा बढेको हो।
दोस्रो त्रैमासिकसम्म १.७ प्रतिशत मात्रै खराब कर्जा रहेको नबिल बैंकको त्रेस्रो त्रैमासिकमा ४.९६ प्रतिशतमा पुगेको हो। कर्जा असुुलीमा चौतर्फी समस्या भोगिरहेका बैंकहरूले तेस्रो त्रैमासिक अवधिमा पनि कमजोर नै देखिएका हुन्।
सोही कारण अधिकांश वाणिज्य बैंकहरूले उच्च दरमा पुगेको खराब कर्जालाई व्यवस्थापन गर्नसकेका छैनन्।
Shares

प्रतिक्रिया