ad ad

कारोबार


बैंकहरूलाई राष्ट्र बैंकको अर्को उपहार : काउन्टर-साइक्लिकल बफर शून्य प्रतिशत छुट्याए पुग्ने

बैंकहरूलाई राष्ट्र बैंकको अर्को उपहार : काउन्टर-साइक्लिकल बफर शून्य प्रतिशत छुट्याए पुग्ने

नेपालखबर
भदौ १२, २०८१ बुधबार १२:५७, काठमाडौँ

नेपाल राष्ट्र बैंकले बैंकहरूलाई कर्जा विस्तारमा सहजीकरण गर्न काउन्टरसाइक्लिकल बफरमा छुट दिएको छ।

वाणिज्य बैंकहरूले क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५ अनुसार ०.५ प्रतिशत थप पुँजीकोष छुट्याउनुपर्ने व्यवस्थालाई संशोधन गरेर शून्य प्रतिशत मात्रै राखे पुग्ने व्यवस्था गरेको हो।

राष्ट्र बैंकले बुधबार (क) (ख) र (ग) वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई एकीकृत निर्देशन २०८० जारी गर्दै काउन्टरसाइक्लिकल बफर तत्काललाई शून्य प्रतिशत राख्न मिल्ने व्यवस्था गरेको छ। 

कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर र निजी क्षेत्रमा प्रवाह हुने कर्जाको वृद्धिदरको अन्तर बढ्दै गएर निजी क्षेत्रको ऋणको अधिक भारमा पर्दै गएपछि राष्ट्र बैंकले काउन्टरसाइक्लिकल बफर कार्यान्वयनमा ल्याएको थियो। यसअनुसार वाणिज्य बैंकहरूले प्राथमिक पुँजीकोषको थप ०.५ प्रतिशत पुँजी छुट्याउनुपर्ने व्यवस्था गरेको थियो।

कोरोना संक्रमणले अर्थतन्त्र चलायमान नभएको भन्दै राष्ट्र बैंकले कर्जा विस्तारलाई खुकुलो बनाउन उक्त कार्यान्वयनलाई रोकेको थियो।

गत वर्षबाट कार्यान्वयनमा ल्याएपछि वाणिज्य बैंकहरूले २०८०/८१ का लागि काउन्टरसाइक्लिकल बफर लागू गरेर थप पुँजीकोषको जोहो गर्नुपर्नेछ। राष्ट्र बैंकले चालू आर्थिक वर्षका लागि भने बैंकहरूले यस्तो पुँजी शून्य प्रतिशत मात्रै राखे पुग्ने व्यवस्था गरेको हो।

बैंकहरूले पुँजीकोष सीमामा पुर्‍याउन नसक्दा पछिल्लो समय अपेक्षित कर्जा विस्तार गर्न सकेका थिएनन्।

राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिबाट १२ प्रतिशतको कर्जा विस्तार गर्ने योजना अघि सारेसँगै बैंकहरूलाई सहजीकरण गर्न काउन्टरसाइक्लिकल बफरलाई चलाएको हो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .