ad ad

कारोबार


ब्याज बढेसँगै आक्रोशित व्यवसायीले रोक्नथाले बैंकको ऋण भुक्तानी

अहिले ब्याज बढ्नु स्वाभाविक हो : विज्ञ
ब्याज बढेसँगै आक्रोशित व्यवसायीले रोक्नथाले बैंकको ऋण भुक्तानी

ब्याजदर वृद्धिको विरोध गर्दै उद्योगी व्यवसायी।


दीपक भट्ट
कात्तिक १, २०७९ मंगलबार ६:४६, काठमाडौँ

पछिल्लो समय बैंकको ब्याजदर वृद्धि भएको छ। बैंकबाट लिने तथा लिइएको कर्जाको ब्याजदर उच्च मात्रामा बढेको छ।   

चालू आर्थिक वर्षको पहिलो त्रैमासिक सकिँदासम्म बैंकको आधार दर (बेसरेट) वृद्धि भएपछि समग्र बैंकको ब्याजदरको आकार बढेको छ। असोज महिनाकै हाराहरीमा निक्षेपको दर बैंकहरुले तय गरे पनि कर्जाको ब्याजदर थप बढेको छ।  

कर्जाको ब्याजदर आधार दरमा ‘प्रिमियम’ थप गरेर लिने व्यवस्था छ। प्रिमियम भनेको तोकिएको मूल्यमा बढाइएको थप शुल्क हो। 

यसरी आधार दर नै बढेपछि बैंकहरुको कर्जाको आकार ठूलो भइसकेको छ। बैंकको आधार दर तय हुँदा कोष लागत प्रतिशत, अनिवार्य मौज्दात लागत प्रतिशत, वैधानिक तरलता लागत प्रतिशत, सञ्चालन लागत प्रतिशत र सम्पत्ति प्रतिफल प्रतिशत जोडिन्छ।

यसरी गणना भएको आधार दरमा बैंकहरुको ‘प्रिमियम’ जोड्नुपर्ने हुन्छ। यस आधारमा अहिले बैंकबाट लिइने ऋण (कर्जा)को ब्याजदर १७ प्रतिशतभन्दा माथि पुग्दै छ। यसरी बैंकको ब्याजदर बढ्दा उद्योगी व्यवसायीहरु आक्रोशित देखिएका छन्। 

ब्याजदर बढेकोमा निजी क्षेत्र आक्रोशित, किस्ता र ब्याज नबुझाउने चेतावनी

उद्योगीको आक्रोशित ‘प्रतिक्रिया’ 
उनीहरुले ब्याजदरको वृद्धि विरोध गर्दै बैंकको ऋण तिर्न रोकेका छन्। सुर्खेत उद्योग वाणिज्य संघ, होटल संघ नेपालले पछिल्लो समय जनाएको प्रतिक्रिया यसैको उदाहरण हो। 

सुर्खेतका व्यवसायीहरुले त ऋणको किस्ता तिर्न नै बन्द गरेका छन्। संघका अध्यक्ष लक्ष्मण कँडेलले सुर्खेतमा सबै उद्योगी व्यवसायीहरुले संयुक्त आन्दोलन गरेको बताए। 

त्यसको नेतृत्वकर्ता समेत रहेका उनले बैंकको ब्याजदर वृद्धिको विरोधमा सुर्खेत उद्योग वाणिज्य संघले २८ गते सुर्खेतको सम्पूर्ण व्यवसाय ठप्प पारेको बताए। 

त्यस्तै ३० र ३१ गते भने निक्षेप नै जम्मा नगर्ने अभियान चलाएको उनको भनाइ छ। 

अहिले सुर्खेत उ.वा. संघले बैंक बहिष्कार अभियान नै चलाएको छ। 

बैंकर्स संघको स्पष्टीकरण : अर्थतन्त्रलाई असर नपर्ने गरी ब्याजदर बढाइएको हो

उनले नेपालखबरसँग भने, ‘बैंकहरुले बढाएको ब्याजदर र सेवाशुल्क वृद्धिको विरोधमा ऋण नै नतिर्ने अभियान चलाइएको छ।’

यसको मतलब बैंकको पैसा नै नतिर्ने भन्ने नभएको उनले स्पष्ट पारे। 

यता पछिल्लो समय बढेको ब्याजदरको अप्ठ्यारो महशुस गर्नेमा सुर्खेत उ.वा. संघ एक्लो होइन। होटल संघ नेपाल (हान)ले पनि किस्ता र ब्याज तिर्ने समय थपिदिन माग गरिसकेको छ। 

अहिलेकै अवस्थामा अप्ठ्यारो रहेको भन्दै होटल व्यवसायीहरुले विज्ञप्ति नै निकालेर समय थपको माग गरेका छन्।  

होटल व्यवसायीको माग : बैंकको किस्ता र ब्याज तिर्ने समय थपिदेऊ

होटल तथा पर्यटन उद्योगलाई सञ्चालन खर्च नै धान्न मुस्किल परिरहेकोले उक्त माग गरिएको हानले बताएको हो। 

कोभिडपछि केही सहज देखिए पनि पर्यटकीय आवागमन र गतिविधि कम हुँदा खर्च धान्न गाह्रो भएकाले बैंकको किस्ता र ब्याज तिर्ने समय थपिदिन उनीहरुको माग छ। अन्यथा बैंकलाई ऋणको सावाँब्याज बुझाउन नसक्ने उनीहरुले चेतावनी नै दिएका छन्।  

हानले भनेको छ, ‘आजको सबैभन्दा जटिल समस्या भनेकै अहिले हामीलाई बैंकको बढ्दो व्याजदर र समयसीमाभित्र साँवा व्याज बुझाउने तीव्र ताकेता नै हो। अहिलेको परिस्थितिमा हामीले लिएको साँवाको किस्ता र त्यसमा वहन गर्नुपर्ने व्याज  तिर्ने हाम्रो जिम्मेवारी रहेको हुँदाहुँदै पनि यस परिस्थितिमा कुनै पनि हालतमा बैंकलाई साँवा व्याज बुझाउन सक्षम छैनौँ।’ 

ब्याजदरवृद्धिले विकराल अवस्था सिर्जना भएको र यसलाई राज्यले सम्बोधन गर्न नसकेको उनीहरुले बताएका छन्। 

ब्याजदर वृद्धिबारे जिल्लाका उद्योगीले दबाब दिएपछि महासंघले गरायो ध्यानाकर्षण

समाधान के त? 
सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष कँडेल राष्ट्र बैंकले यसमा निगरानी राख्न नसकेको उल्लेख गरे। 

उनले भने, ‘जसरी केन्द्रीय बैंकले यसलाई ध्यान दिनुपर्ने थियो, त्यो काम भएको छैन। राष्ट्र बैंकलाई नियमन गर्न बाध्य पार्नुपर्ने नेपाल उद्योग वाणिज्य महासंघले पनि सोअनुसार पहल गर्न सकेको छैन।’

महासंघको नेतृत्वकर्ता आफैँ बैंकको अध्यक्ष वा सञ्चालक भएकाले उद्योगीको बोली बोल्न नसकेको भन्दै उनले आफ्नै छाता संगठनका अधिकारीलाई समेत व्यंग्यात्मक संकेत गरे।  

‘यदि यसै हुने हो भने नयाँ महासंघ पनि जन्मन सक्छ’, उनले व्यावसायिक नेतृत्वलाई चेतावनी दिँदै भने। 

तल्लो तहबाट दबाब बढेपछि उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको पहलकदमी देखिनथालेको छ। 

सोमबारमात्रै अध्यक्ष गोल्छासहितको टोलीले राष्ट्र बैंकका अधिकारीहरुसँग भेट गरेको छ। 

जिल्लाका उद्योगीहरुले महासंघको नेतृत्वलाई दबाब दिएपछि ब्याजदर वृद्धिको विषयमा नेपाल राष्ट्र बैंकलाई टोलीले ध्यानकर्षण गराएको हो।

बैंकले ब्याज बढाएको विराेधमा वीरेन्द्रनगर बजार बन्द

ब्याज बढाएको भन्दै ‘बैंक धर्ना’मा बसे सुर्खेतका व्यवसायी

अध्यक्ष गोल्छाका अनुसार कार्यवाहक गभर्नर निलम ढुंगानालाई भेटेर ध्यानाकर्षण गराइएको हो।

सो क्रममा टोलीले अर्थतन्त्रमा आन्तरिक र बाह्य कारणले बहुआयामिक प्रभाव परिरहेको हुँदा तरलता व्यवस्थापन, ब्याजदर स्थायित्व, बाह्य क्षेत्र व्यवस्थापन एवं मूल्य स्थिरताका लागि नेपाल राष्ट्र बैंकले विशेष पहल गर्नुपर्नेतर्फ ध्यानाकर्षण गराएको छ।

‘उक्त भेटमा नेपालको निजी क्षेत्र सम्भवतः हालसम्मकै कठिन अवस्थाबाट गुज्रिरहेको र ब्याजदर स्थायित्वसँगै चालू पुँजी कर्जासम्बन्धी नयाँ व्यवस्थाको स्थगन आदि उपायका माध्यमबाट केन्द्रीय बैंकले निजी अर्थतन्त्र चलायमान बनाउनुपर्ने कुरा राखिएको छ’, गोल्छाले भने। 

उनका अनुसार समाधानका उपायहरुलाई बुँदागत रुपमा तयार गरेर पेश समेत गरिएको छ। 

बैंकहरुले ब्याज बढाउनु स्वाभाविक होइन : चन्द्र ढकाल

ब्याजदर वृद्धिले उद्यमी, व्यवसायी मर्कामा : अध्यक्ष मल्ल

उद्योगी व्यवसायीहरुले यसरी ब्याजदर बढिरहँदा वस्तु उत्पादन नै बन्द गर्नुपर्ने स्थिति आउनुपर्ने चेतावनी दिएका छन्। 

विज्ञ भन्छन्– ब्याजदर वृद्धि स्वाभाविक 
बढ्दो ब्याजदरले उद्योग व्यवसाय क्षेत्र ‘आतंकित’ भइरहँदा विज्ञहरु भने यसलाई स्वाभाविक मानिरहेका छन्। 

वित्तीय विज्ञ नरबहादुर थापाले कर्जाको ब्याजदर वृद्धि स्वाभाविक भएको बताए। 

‘समग्र अर्थतन्त्र अहिले केही कठिन अवस्थामा छ। त्यसलाई ब्यालेन्स (सन्तुलन) गर्न ब्याजदर बढाइनु स्वाभाविक कुरा हो’, उनको मत छ, ‘कर्जाको ब्याजदर बढ्दा समग्र अर्थतन्त्रलाई हित हुन्छ।’

तत्काल केही उत्पादनमूलक उद्योगलाई अप्ठ्यारो भए पनि अहिले ब्याजदर बढाउनैपर्ने अवस्था रहेको उनको तर्क छ। 

उनका अनुसार नेपालमा विदेशी विनिमय सञ्चिति निकै कमजोर छ। जुन १४/१५ महिना देखिको निरन्तरता हो। 

राष्ट्र बैंकतिरै सोझियो उच्च ब्याजदर समाधानको दायित्व

तर वस्तु आयात बढिरहेकोले यसलाई कम गर्ने उपाय नै आयात कर्जादर बढ्नुपर्ने उनले बताए। 

एलसीमा नगद मार्जिन गर्दा धेरैले चोर बाटो रोजे पनि अब ब्याजदर नै वृद्धि हुँदा त्यसमा केही नियन्त्रण हुने उनको भनाइ छ। 

उनले थपे, ‘विदेशी विनिमय रित्तियो भने नेपालको समग्र आत्मबल नै कमजोर हुन्छ। विदेशी विनिमय कमजोर हुँदा जाने बाटो भनेको श्रीलंका नै हो।’ 

त्यो स्थितिमा पुग्यो भने नेपालले नयाँ योजना अघि बढाउन नसक्ने भएकाले अहिले विदेशी विनिमय बढाउने नै काम गर्नुपर्ने उनको सुझाव छ। 

उनले अहिले नेपालमा मात्र नभई अमेरिका, युरोपमा समेत ब्याजदर बढिरहेको उदाहरण बताए। 

बैंकको ब्याजदर नबढ्ने, कति कायम हुन्छ कात्तिकमा?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .