ad ad

कारोबार


ब्याजदर बढेकोमा निजी क्षेत्र आक्रोशित, किस्ता र ब्याज नबुझाउने चेतावनी

ब्याजदर बढेकोमा निजी क्षेत्र आक्रोशित, किस्ता र ब्याज नबुझाउने चेतावनी

वाशुदेव मिश्र
असोज २८, २०७९ शुक्रबार १८:३०, पोखरा

पोखराका उद्योगी/व्यवसायीहरुले बैंकले एकाएक कर्जामा बढाएको ब्याजदरको चर्को विरोध गरेका छन्। उनीहरुले ब्याजदर नघटाइ पहिलो त्रैमासिक अर्थात् असोज मसान्तमा तिर्नुपर्ने कर्जाको किस्ता र ब्याज नबुझाउने चेतावनी पनि दिएका छन्। 

पोखरा र लेखनाथ उद्योग वाणिज्य संघ, नेपाल उद्योग परिसंघ गण्डकी प्रदेश, पोखरा पर्यटन परिषद्सहित १३ वटा व्यावसायिक संघ/संस्थाले शुक्रबार अर्थमन्त्री जनार्दन शर्मा, नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारी र बैंकर्स एसोसियनका अध्यक्ष अनिलकुमार उपाध्यायलाई ध्यानाकर्षण पत्र बुझाउँदै सो घोषणा गरेका हुन्।  

ध्यानाकर्षण पत्रमा बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपसँगै कर्जामा ब्याजदर वृद्धि गर्दा समग्र अर्थतन्त्र धराशायी हुने अवस्थामा र निजी क्षेत्र उद्योग/व्यवसायीहरुले ब्याज, सावाँको किस्ता भुक्तान गर्नै नसक्ने अवस्था सिर्जना भएको जिकिर गरिएको छ। 

‘बैंक तथा वित्तीय संस्थाहरुबाट पटक–पटक गरिने ब्याजदर वृद्धि तथा असहज अवस्थामा किस्ता भुक्तानीको ताकेता एवं मानमर्दनले निजी क्षेत्र पीडित बनेको छ’,पत्रमा भनिएको छ, ‘कोभिडले आक्रान्त अर्थतन्त्र उकालो नलाग्दै औद्योगिक क्षेत्रमा कर्जाको सीमा घट्ने सम्भावनाले देशको कुल ग्राहस्थ उत्पादनमै प्रवाव पार्ने निश्चित भएको छ।’

ध्यानाकर्षण पत्रमा पटक–पटकको ब्याजदर वृद्धि एवं कर्जा भुक्तानीको उपक्रममा दिइने मानशिक यन्त्रणा एवं चर्को सेवा शुल्क निजी क्षेत्रले धान्न नसक्ने दाबी गर्दै कर्जामा भएको व्याजदर अविलम्ब एकल अंंक हुनेगरी घटाउन,व्यवसायीहरुलाई मानशिक तनाव दिने प्रवृत्तिको अन्त्य गर्न, २०७९ आश्विन महिनाभित्र बुझाउनुपर्ने भनिएको त्रैमासिक किस्ता र ब्याज तिर्ने समयसीमा बढाउन, विभिन्न शीर्षकमा लिइने सेवा शुल्कलाई पारदर्शी र मनासिव बनाउन, कर्जाको ब्याजदर पुनर्संरचना गर्न, बैंक तथा वित्तीय संस्थाले अगाडि बढाएका धितो लिलामीका प्रक्रियाहरु तत्काल रोक्न,कोभिडका कारण थला परेको अर्थतन्त्र उकास्न विशेष कार्यक्रमको व्यवस्था गर्न एवं पर्यटनलाई प्राथमिकता प्राप्त क्षेत्र घोषणा गरी सो क्षेत्रमा कर्जा प्रवाह गर्न माग गरिएको छ। 

ध्यानाकर्षण पत्रमा गतवर्ष कार्यान्वयनमा आएका पुनर्कर्जा कोष,पुनर्तालिकीकरण एवं व्यवसाय जीवन रक्षा कोषजस्ता कार्यक्रमहरुअन्तर्गत प्रवाह सेवाको समयसीमा बढाइनुपर्ने माग पनि गरिएको छ। 

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिको नेतृत्वमा गएको टोलीले जिल्ला प्रशासन कार्यालय कास्कीमार्फत् अर्थमन्त्री र नेपाल राष्ट्र बैंंक पोखरा शाखामार्फत् गभर्नरलाई ध्यानाकर्षण पत्र बुझाइएको संघका महासचिव बलराम आचार्यले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .