११ महिनामै १ खर्ब १ अर्ब रुपैयाँको सवारी तथा तिनका पार्टस आयात भएका छन्। सरकारले सवारीसाधनबाटै ७४ अर्ब ४७ करोड ५६ लाख रुपैयाँ भन्सार राजस्व संकलन गरेको हो।
वैशाखसम्म ९ हजार ८५९ गाडी भित्रिँदा ८२ अर्ब २४ करोड रुपैयाँ बाहिरिएको थियो। जेठमा बजेटअघि विद्युतीय गाडी भित्रिएकाले एकै पटक १९ अर्ब बढीको साधन भित्रिएका हुन्। जेठ महिनामा मात्रै ३६ सय ३८ सवारी साधन भित्रिएका छन्।
अन्तर्राष्ट्रिय बजारमा आइस इन्जिनका गाडीको तुलनामा विद्युतीय गाडीको मूल्य बढी हुँदा आयातको रकम ह्वात्तै बढेको देखिन्छ।
व्यवसायीहरुले जेठ १५ गते बजेटमार्फत विद्युतीय गाडीको कर बढ्ने आकलनमा ह्वात्तै गाडी आयात भएका थिए। तर सरकारले बजेटमा विद्युत गाडीको कर स्थिर राखेको छ।
विभागको तथ्यांकअनुसार ११ महिनामा १३ हजार ४९२ विद्युतीय सवारीसाधन भित्रिएका छन्। जसमा ५० किलोवाटसम्मका ४ हजार ७२८ सवारीसाधन भित्रिँदा ५० देखि १०० किलोवाटसम्मका ७ हजार ३५८ भित्रिएका छन्। १०० देखि २०० किलोवाटसम्मका १३ सय ५४ गाडी र २०० माथिका ४१ वटा छन्।
पेट्रोल इन्जिनका ८ हजार ८७ गाडी भित्रिएको भन्सारको तथ्यांकले देखाएको छ। दुईपांग्रे पेट्रोलियम साधन भने १ लाख ७५ हजार भित्रिएका छन्।
Shares

प्रतिक्रिया