ad ad

कारोबार


डिजेल पेट्रोलका सवारी आयात बन्द हुँदा कस्तो छ विद्युतीय गाडीको माग?

डिजेल पेट्रोलका सवारी आयात बन्द हुँदा कस्तो छ विद्युतीय गाडीको माग?

टाटा नेक्सन ईभी।


वसन्त अर्याल
साउन २३, २०७९ सोमबार ७:५९, काठमाडौँ

सरकारले पेट्रोल–डिजेलका गाडीको आयातमा पूर्णतया बन्देज लगाए पनि विद्युतीय गाडीको बजार ‘बुम’ हुनसकेको छैन। 

वाणिज्य मन्त्रालयले वैशाख १४ देखि डिजेल पेट्रोलका गाडीमा पूर्णत बन्देज लगाएपनि विद्युतीय गाडी विक्री बढ्न नसकेको हो। 

नेपाली बजारमा टाटा, हुन्डाई, महिन्द्रा, किया, निसान, एमजी, बीवाईडी लगायतका कम्पनीले बजारमा थुप्रै मोडल सार्वजनिक गर्दा पनि अटो बजारमा विद्युतीय गाडीले हस्तक्षेप गर्नसकेको छैन। ३ महिनादेखि आयात पूर्ण बन्देज रहँदा पनि विद्युतीय गाडीले ‘पिकअप’ लिन नसककेको हो। 

गत आर्थिक वर्ष २०७८/०७९ मा १८ सय ७ वटा गाडी भित्रिएका थिए। जसमा १०० किलोवाटसम्मका ९९६ वटा रहेको भन्सार विभागको तथ्यांकले देखाएको छ। 

नाडा उपाध्यक्ष तथा सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले आपूर्तिमा समस्या रहेको कारण बजारमा हस्तक्षेप गर्न नसकेको बताए। विद्युतीय गाडीको माग भए पनि आयात गर्न नसकिएको उनको भनाइ छ। 

‘विद्युतीय गाडीको माग घटेको छैन। बजारमा माग धेरै छ तर हामीले त्यो अनुसार गाडी ल्याउनसकेका छैनौँ’, उपाध्यक्ष श्रेष्ठले भने, ‘उत्पादक कम्पनीले हाम्रो मागअनुसार गाडी उपलब्ध गराउनसकेको छैन।’

सरकारले वैदेशिक मुद्रा सञ्चितिमा केही सुधार देखिए पनि विलासी वस्तुमाथिको आयात प्रतिबन्ध भदौ १४ सम्म लम्ब्याएको छ। 

सरकारले सुरुमा २५० सीसीमाथिका मोटरसाइकल र डिजेल पेट्रोलका गाडीको आयातमा बन्देज लगाएको थियो। तर अहिले १५० सीसीमाथिका मोटरसाइकल र डिजेल पेट्रोलका गाडीमा आयात बन्द रहेको छ। 

उपाध्यक्ष श्रेष्ठले डिजेल/पेट्रोलका गाडीको बिक्रीमा मन्दी छाएको र विद्युतीय गाडीमा बढाउन नसकिएको बताए। गाडी आयात बन्दसँगै बैंकहरुले फाइनान्स नगर्दा गाडी बिक्री हुन नसकेको उनको भनाइ छ। 

श्रेष्ठले भदौ १४ पछि पेट्रोल डिजेलका गाडीको आयात पनि खुल्ने विश्वास व्यक्त गरे। 

‘प्यासेन्जर भेहिकल(कार जिप)को बिक्री चाडपर्वको समयमा ३५ देखि ४० प्रतिशत हुन्छ’, उनले भने, ‘भदौमा पनि गाडी आयात खुलेन भने व्यवसायी टिक्न सक्ने अवस्था हुँदैन।’

विद्युतीय गाडी भित्र्याएको १ वर्षमा टाटाले ६ सय बढी बिक्री गरेको उल्लेख गरेको छ। टाटाका नेक्सन ईभी र टिगोर इभी बजारमा छन्।

 

कर बढाउँदा धेरै बिक्री हुने विद्युतीय गाडी नै भित्रिएन
सरकारले १०० किलोवाट माथिका गाडीमा कर बढाउँदा बजारमा सबैभन्दा धेरै बिक्री भएका एमजीका गाडी भित्रिनसकेका छैनन्। सरकारले बजेटमार्फत विद्युतीय गाडीमा ६० प्रतिशत अन्तःशुल्क र ६० प्रतिशत नै भन्सार बढाउने निर्णय गरेको थियो। 

एमजी मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता प्यारामाउन्ट मोटर्सका महाप्रबन्धक सचिन अर्यालले माग भए पनि गाडी नै आयात नभएको बताए। 

अर्यालले एमजीका विद्युतीय गाडी नै आयात नभएकाले बजारमा राम्रो माग भए पनि केही गर्नसक्ने अवस्था नरहेको बताए। 

‘सरकारले १० किलोवाट माथिका गाडीमा कर बढाएसँगै एमजीका विद्युतीय गाडी आयात भएका छैनन्’, महाप्रबन्धक अर्यालले भने, ‘बजारमा विद्युतीय गाडीको माग बढ्दो रहे पनि गाडी आउनसकेका छैनन्।’

उनले विद्युतीय गाडीको माग बढाउन करको दरमा हेरफेर आवश्यक रहेको बताए। उनले हाल विद्युतीय गाडी ल्याउन विश्वव्यापी सप्लाईको समस्या रहेको बताए। 

‘सरकारले कर फिर्ता लिँदैन भने गाडी ल्याउन त छाड्दैनौँ। महंगो मूल्यमा खरिद गर्न चाहनेलाई उपलब्ध गराउँछौँ’, अर्यालले भने, ‘अहिले गाडी आयात गर्न सप्लाईमा समस्या छ। गाडी माग गरे पनि उत्पादक कम्पनीले पठाउन सक्ने अवस्था छैन।’ 

एमजीको जेटएस नेपाली सडकमा सबैभन्दा धेरै गुड्ने विद्युतीय कार हो। सरकारले कर बढाएपछि उक्त गाडी भित्रिएका छैनन्।

सरकारले १०० किलोवाटदेखि २०० किलोवाटसम्मका विद्युतीय कार, जिप र भ्यानमा ३० प्रतिशत अन्तःशुल्क बढाएको छ। २०० देखि ३०० किलोवाटभन्दा बढीकोमा ४५ प्रतिशत छ। 

मोटरको पिकपावर ३०० किलोवाटभन्दा बढीको कार, जिप र भ्यानमा ६० प्रतिशत अन्तःशुल्क छ। यसअघि अन्तःशुल्कमा पूर्ण छुट दिएको थियो। 

त्यस्तै अर्थमन्त्री जनार्दन शर्माले भन्सार महशुलमा पनि भारी वृद्धि गरेका छन्। १०० किलोवाटदेखि २०० किलोवाटसम्मका ३० प्रतिशत, २०० देखि ३०० किलोवाटसम्मकामा ३० प्रतिशत र ३०० किलोवाट बढीकोमा ६० प्रतिशतले कर वृद्धि गरिएको छ।  

बजेटअघि विद्युतीय सवारीसाधनमा १०० किलोवाटसम्मका १० प्रतिशत, २०० किलोवाटसम्मका १५, ३०० किलोवाटसम्मका ३० र ३०० किलोवाट माथिका गाडीमा ४० प्रतिशत भन्सार लगाउँदै आएको थियो।

‘विद्युतीय गाडीमा माग बढेको छ तर आयात प्रतिबन्धले मात्र होइन’
हुन्डाई नेपालका मार्केटिङ म्यानेजर सन्दिप शर्माले पछिल्लो समय विद्युतीय गाडीको माग बढे पनि डिजेल पेट्रोलका गाडी रोकिएको कारण मात्रै नभएको बताए। डिजेल पेट्रोलका गाडी आयात नहुँदा ग्राहक विद्युतीयमा ‘कन्भर्जन’ एकदमै कम हुने उनको भनाइ छ।  

‘लामो समय डिजेल पेट्रोलका गाडी नआउने अवस्था भए विद्युतीयमा कन्भर्जन हुने हो’, शर्माले भने, ‘गाडी खरिद गर्ने १–२ महिना कुर्छन्। आयात प्रतिबन्धभन्दा पनि विद्युतीय गाडीको उपस्थितिले आकर्षण बढ्दै गएको छ।’

उनले अहिले विद्युतीय गाडीका चार्जिङ स्टेसन लगायत पूर्वाधारको विकास र बजारमा विद्युतीय गाडीको बढ्दो उपस्थितिले ग्राहक आकर्षित भएको बताए। 

‘३०–३५ लाखको गाडी खरिद गर्ने ग्राहक विद्युतीयमा डाइर्भट हुँदैनन्। ५०–६० लाखको गाडी खरिद गर्नेले डिजेल पेट्रोलमा नयाँ मोडल नआउँदा विद्युतीयमा जान सक्छन्,’ शर्माले भने, ‘अहिलेको अवस्थामा पेट्रोल डिजेलका गाडी खरिद गर्न चाहने विद्युतीयमा जाने कम छन्।’

उनले गाडी उत्पादकले बजारमा पेट्रोल डिजेलका नयाँ मोडल नल्याए ग्राहक विद्युतीयतर्फ जाने बताउँछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .