ad ad

कारोबार


‘४० दिनमा लाखौँ सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान सम्भव छैन’

इम्बोस्ड नम्बर रिड गर्ने उपकरण नै छैन
‘४० दिनमा लाखौँ सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान सम्भव छैन’

वसन्त अर्याल
जेठ २२, २०७९ आइतबार १९:९, काठमाडौँ

यातायात कार्यालयहरुले असार मसान्तभित्र इम्बोस्ड नम्बर प्लेट जडान गर्न नसकिने बताएका छन्। 

यातायात कार्यालयहरुले ४० दिनमै लाखौँको संख्यामा रहेका गाडीहरुमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न नसकिने बताएका हुन्।

यातायात व्यवस्था विभागले असार मसान्तसम्म उपत्यकाको एकान्तकुना र गुर्जुधारा तथा कास्कीको पोखरामा दर्ता भएका सबै साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान गर्न भनेको छ।

२०७८ फागुनसम्म कुल १७ हजार ४ सय १८ सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान भएका छन्। 

आर्थिक सर्वेक्षण २०७८ अनुसार सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने कार्यअन्तर्गत २०७८ असारसम्म ३८ हजार ३ सय इम्बोस्ड नम्बर उत्पादन  ९ हजार ५१ सवारीमा जडान गरिएको थियो। 

चालू आर्थिक वर्षको फागुनसम्म १ लाख ३५ हजार ३०० इम्बोस्ड नम्बर प्लेट उत्पादन भई थप ८ हजार ३ सवारीसाधनमा जडान गरिएको छ। 

यातायात कार्यालय कास्कीका प्रमुख डिल्लीराम रिज्यालले पोखरामा असार मसान्तसम्म सबै गाडीमा  इम्बोस्ड नम्बर प्लेट जडान सम्भव नभएको बताए।

रिज्यालका अनुसार पोखरा सवारी कार्यलयमा २ लाख ८६ हजार सवारी दर्ता रहेका छन्। जसमा २ लाख २० हजार दुईपांग्रे रहेका छन् भने चारपांग्रे ६६ हजार दर्ता छन्। 

पोखरामा यातायात विभागले माघमा सर्भर जोडेको छ। फागुनदेखि इम्बोस्ड नम्बर प्लेट जडान गर्न सुरु भएको छ। 

‘साउन १ देखि इम्बोस्ड नम्बर प्लेट जडान नगरे कारबाही गर्ने कुरा त्यति जायज देखिँदैन’, रिज्यालले भने, ‘करिब ३ लाख सवारीसाधनका नम्बर प्लेट ४० दिनमा जडान गर्न सकिँदैन।’

इम्बोस्ड नम्बर प्लेट असार मसान्त मात्रै नभई २०८० सम्म जडान नसकिने बताए। दैनिक हजार जडान गरे पनि २०८० सम्म कास्कीमा इम्बोस्ड नम्बर प्लेट जडान नसकिने उनको भनाइ छ। 

पोखरा सवारी कार्यालयबाट दिनमा बढीमा १० वटासम्म इम्बोस्ड नम्बर प्लेट जडान हुँदै आएको छ। अहिलेकै जनशक्तिले दैनिक बढीमा ६० वटा गाडीमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न सकिन्छ। 

‘राज्यले चलाएको अभियान हामीले अस्वीकार गर्ने भन्ने हुँदैन’, उनले भने, ‘हामीले जतिसक्छौँ गरेका छौँ। १०० वटा दुईपांग्रे र ९० वटा चारपांग्रे सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरिएको छ।’

बागमती प्रदेशअन्तगर्तको यातायात कार्यालय एकान्तकुनाका प्रमुख मदन प्रसाद पोखरेलले अहिलेकै जनशक्तिले असारसम्म सबै गाडीमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नसक्ने अवस्था नरहेको बताए। 

नम्बर प्लेट उत्पादन र दर्ताको काम यातायात व्यवस्था विभागमार्फत हुन्छ। यातायात कार्यालयले नम्बर प्लेट जडान मात्रै गर्छन्। विभागले नम्बर प्लेट पठाए पनि जडानको लागि श्रम तथा यातायात मन्त्रालयले थप कर्मचारी उपलब्ध गराउनुपर्ने पोखरेलले बताए। 

‘अहिलेकै तरिकाले असार मसान्तसम्म सबै गाडीमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न सकिँदैन’, उनले भने, ‘यातायातसम्बन्धी अधिकार प्रदेश कार्यालयमा रहेकाले कारबाही गर्ने निर्णय नभएको बताए।’ 

इम्बोस्ड नम्बर प्लेट जडान गर्न सेवाग्राही तयार छैनन्
कास्कीका यातायात व्यवस्था कार्यालय प्रमुख डिल्लीराज रिज्यालले सेवाग्राही इम्बोस्ड नम्बर प्लेट जडान गर्न आनाकानी गर्ने बताउँछन्। 

‘सेवाग्राही मोटरसाइकलमा २५०० र चारपांग्रेमा ३२०० शुल्क तिरेर इम्बोस्ड नम्बर प्लेट जडान गर्न तयार छैनन्’, उनले भने, ‘कर तिर्न पनि गाह्रो मान्ने सेवाग्राही थप शुल्क तिर्न तत्पर छैनन्।’

उनले शुल्कबाहेक इम्बोस्ड नम्बर प्लेटको गुणस्तरको कारणले समेत सेवाग्राही हिच्किचाउने गरेको बताए। जडान गरेको इम्बोस्ड नम्बर प्लेट केही समयमै भाँचियो वा झ¥यो भने सुरुवाती शुल्क नै लाग्ने हुँदा सेवाग्राही तयार नभएको बताए। 

इम्बोस्ड नम्बर प्लेट रिड गर्ने कुनै उपकरण प्रदेश कार्यालयसँग छैनन्। सेवाग्राहीले तत्काल थप सेवा शुल्क बुझाएर नम्बर प्लेट जडान गर्नुबाहेक फाइदा छैन। पोखरामा निजी सवारी धनीसँगै सार्वजनिक सवारी सञ्चालन गर्ने व्यवसायीले विरोध गरिरहेको बताए। 

‘इम्बोस्ड नम्बर प्लेट जडान गरेर के पाउँछौँ। बरु अनलाइन कर तिर्ने व्यवस्था मिलाऔँ। चाहिएको चिज ल्याउनु छैन नचाहिएको प्लेट जडान गर्न लगाइएको सेवाग्राहीको गुनासो छ’, उनले भने, ‘ताकेता गरेर कारबाही गर्दा सफल नहुन सक्छ। क्रमशः गर्दा सफल भइन्छ होला।’

यातायात कार्यालय एकान्तकुनाका प्रमुख पोखरेलले सेवाग्राहीको लिखित रुपमा गुनासो नआए पनि मौखिक रुपमा इम्बोस्ड नम्बर प्लेटबारे थुप्रै गुनासो आएको बताए। 

‘आज राखेको इम्बोस्ड नम्बर प्लेट एक दिन अफरोड गएर आउँदा झर्ने गर्छ’, कार्यालयमा आउने सेवाग्राहीको गुनासोबारे उनले भने, ‘इम्बोस्ड नम्बरको डाटा यातायात कार्यालयमा इन्ट्री भइसकेको छैन। इम्बोस्ड नम्बर प्लेटको गाडीको कर तिर्दा समेत पुरानै नम्बर प्लेट खोज्नुपर्ने अवस्था छ।’

सेवाग्राहीले इम्बोस्ड नम्बर प्लेट जडान गरेर सेवाभन्दा झन्झठ व्यहोर्नुपरेको मौखिक गुनासो आउने गरेको उनले बताए। 

राम्रा कामको सुरुमा जहाँ पनि विरोध हुन्छ : विभाग
यसैबीच यातायात व्यवस्था विभागले भने राम्रो कामको सुरुमा जहाँ पनि विरोध हुने गरेको जनाएको छ। 

विभागका निर्देशक ईश्वरी दत्त पनेरुले करिब साढे २ लाख इम्बोस्ड नम्बर प्लेट उत्पादन भएकाले जडान अनिवार्य गरेको स्पष्ट पारे। 

‘हामीले कार्यालयको मागअनुसार उत्पादन वा प्रिन्ट गर्न सक्छौँ’, विभागका निर्देशक पनेरुले भने, ‘कार्यालयमा दर्ता भएको लटअनुसार इम्बोस्ड नम्बर प्लेट प्रिन्ट भइरहेको छ।’

उनले नकारात्मक रुपमा सोच्यो भने जति पनि कुरा भेटिने भन्दै राम्रा कुराको सुरुमा विरोध हुने गरेको बताए।

‘केही कमीकमजोरी भए सुधार गर्दै जान सकिन्छ’, उनले भने, ‘संघ र प्रदेश सरकारबीच सहकार्य भए ३ वटा कार्यालयमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नु ठूलो कुरा होइन।’

पनेरुले सरकारले निर्णय गरेको कुरा लागू गर्न मात्रै खोजेको बताए।

‘सरकारले इम्बोस्ड नम्बर जडान गर्ने निर्णय गरेपछि विभागले तदारुकता देखाउनैपर्छ’, उनले थपे, ‘हामीले प्रदेश यातायात कार्यालयलाई निर्देशन दिन सक्दैनौँ अनुरोध मात्रै गर्ने हो। कार्यान्वयन उहाँहरुबाटै हुन्छ।’

यातायात व्यवस्था विभागले शुक्रबार एकान्तकुना र गुर्जुधारा तथा पोखरामा रहेको यातायात कार्यालयमा पूर्वाधार तयार गरिएकाले इम्बोस्ड नम्बर प्लेट जडान गर्न सूचना जारी गरेको थियो।  

‘एकान्तकुना, गुर्जुधारा र पोखरामा दर्ता भएका सवारीहरुमा इम्बोस्ड नम्बर प्लेट कार्यान्वयन भए/नभएको सम्बन्धमा २०७९ साउन १ पछि ट्राफिक प्रहरीबाट सडक अनुगमन गर्ने’, सूचनामा उल्लेख छ, ‘तोकिएअनुसार इम्बोस्ड प्लेट जडान नगरिएको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम कारबाही हुनेछ।’

मोटरसाइकलमा २५ सय, चारपांग्रेमा ३२ सय र ठूला साधनमा ३६ सय रुपैयाँ शुल्क तोकिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .