ad ad

कारोबार


स्वदेशी लगानीकर्तालाई दिल खोलेर लगानी गर्ने वातावरण बनाउन आवश्यक छ: प्रचण्ड

स्वदेशी लगानीकर्तालाई दिल खोलेर लगानी गर्ने वातावरण बनाउन आवश्यक छ: प्रचण्ड

नेपालखबर
असोज ९, २०७६ बिहिबार ९:९,

पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वदेशी लगानीकर्तालाई स्वदेशमै दिल खोलेर लगानी गर्ने वातावरण बनाउन आवश्यक रहेको बताएका छन्।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको तिलोत्तमा लगानी सम्मेलन २०७६ को बिहीबार उद्घाटन गर्दै अध्यक्ष दाहालले सरकारले नीति कार्यक्रम बनाउँदा लगानीमैत्री वातावरण निर्माणको विषयलाई महत्व दिएको बताए। उनले विदेशी लगानी कर्तालाई लगानीको लागि विश्वासको वातावरण बनाउन ऐनकानूनमा सुधार गर्दै स्वदेशी लगानीकर्ता आकर्षित गर्ने खालका योजना बनाउन स्थानीय तहलाई आग्रह गरे।

उनले राष्ट्रिय पूँजीलाई प्रोत्साहन र दलाल पूँजीलाई नियन्त्रण गर्ने कुरामा सरकार गम्भीर रहेको र बजेटसम्बन्धी सैद्धान्तिक पक्षमा छलफल गरेर खरीद ऐनलाई सरलीकरण गर्नेतर्फ ध्यान दिइएको बताए।

उनले प्रदेश नं– ५ मा पर्यटन विकासको ठूलो आधार रहेकाले पर्यटन पूर्वाधारको काममा ध्यान दिन सुझाव दिँदै भने, 'गौतमबुद्धको जन्मभूमि भएका कारण यो क्षेत्रमा पर्यटनको प्रचुर सम्भावना छ।'

अध्यक्ष दाहालले नेपाली जनताले अपेक्षा गरेअनुसारका काम अझै हुन नसकेकाले हाम्रो सोच र शैलीमा परिवर्तन आवश्यक रहेको विचार व्यक्त गरे। उनले हिजो जेलनेल भोगेका व्यक्ति आज सत्तामा पुग्दा जनताका अप्ठ्यारा बिर्सने परिस्थितिको अन्त्य हुनुपर्नेमा जोड दिए। '२५० वर्ष लामो तानशाही र निरङ्कुताले जर्जर बनाएको समाजलाई डेढ वर्षमै चमत्कार हुनुपर्छ भनेर सोच्ने मानसिकतालाई म केही भन्दिन तर यतिका वर्षको फोहर सफा गर्न समय लाग्छ', उनले भने।

अध्यक्ष दाहालले स्थानीय तहले इमान्दारीताका साथ काम नगरे सङ्घीयता ल्याउनेमाथि प्रहार हुने भएकाले यसप्रति सचेत हुन उनले आग्रह गरे। 'जनताप्रति जिम्मेवार र जवाफदेही भएर स्थानीय तह ठिक भन्ने सन्देश देशभर जानुपर्छ, अनिमात्रै मुलुकमा गणतन्त्र ल्याउन ज्यान गुमाउने शहिदहरुको सपना साकार हुन्छ', उनले भने।

कार्यक्रममा प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेशमा लगानीको वातावरण अनुकूल बन्दै गएकाले ढुक्क भएर लगानी गर्न आह्वान गरे। ‘लगानीका लागि यो ठाउँ प्रतिफलयुक्त छ, ढुक्क भएर लगानी गर्नुस्’, उनले भने। प्रदेशले ७ दशमलब १ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरेको उनले जानकारी दिए।

नेपाल सरकारका अर्थमन्त्री डा युवराज खतिवडाले नगरको विकास र समृद्धिका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न सुझाव दिए। उनले नगरको आर्थिक विकासका लागि निजी क्षेत्रसँग सहकार्य र परिपुरकको प्रक्रिया अगाडि बढाएर समृद्धिको यात्रा तय गर्न आग्रह गरे।

तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले लगानी सम्मेलन तिलोत्तमा नगरपालिकाको मात्र नभइ देशको समृद्धिको लागि महत्वपूर्ण हुने बताए। उनले नगरमा सुरक्षाको अवस्थासमेत मजबुत रहेकाले निर्धक्क भएर लगानी गर्न लगानीकर्तालाई आह्वान गरे।

सम्मेलनमा स्वदेशी निजी क्षेत्रका लगानीकर्ता, विदेशी लगानीकर्ता, विदेशी कुटनीतिक नियोगका प्रतिनिधि, सङ्घीय सरकार मन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री तथा सरकारका उच्च पदस्थ अधिकारीलगायत ८०० बढीको सहभागिता छ। उद्घाटनपछि तिलोत्तमा नगरपालिका क्षेत्रमा लगानीको सम्भावना, अवसर, चुनौतीलगायतका विषयमा विशेषज्ञबाट छलफल हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .