कारोबार


नारायणी नदीमा दशैंअघि नै क्रुजको परीक्षण

नारायणी नदीमा दशैंअघि नै क्रुजको परीक्षण

नेपालखबर
भदौ २९, २०७६ आइतबार ११:१६,

सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै नारायणी नदीमा निर्माण भइरहेको रिभर क्रुजसिप (मिनी पानी जहाज)को परीक्षण यात्रा दशैँअघि गरिने राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले जनाएको छ।

क्रुजको बाह्य निर्माणकार्य सम्पन्न भई रङरोगन र सजावटको काम शुरु भएको क्रुज निर्माण गरिरहेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलका अनुसार सोमबारसम्ममा क्रुजको मुख्य इन्जिन नेपाल भित्रने छ। इन्जिन जडानलाई धेरै समय नलाग्ने भएकाले सजावट र रङरोगनको काम १५ दिनभित्र सम्पन्न गरी नदीमा परीक्षण गरिने कँडेलले जानकारी दिए।

उक्त परीक्षणपछि नियमित सञ्चालन भने दशैंपछि मात्र गर्ने तयारी गरिएको छ।

भूइतला मात्र वातावरण अनुकूलित बनाइने भनिएकोमा पहिलो तल्ला पनि वातावरण अनुकूलित बनाइने भएको छ। पहिलो तल्लाको अगाडिको भाग र दोस्रो तल्लासमेतमा पर्यटकले उभिएर अवलोकन गर्न सक्ने कँडेलले जानकारी दिए। क्रुजमा २०० जना सिटमा अट्ने छन् भने ३० जना उभिएर यात्रा गर्न सक्ने गरी स्वरुप परिमार्जन गरिएको छ।

भरतपुर महानगरपालिका–१६ स्थित ज्ञानेश्वर सामुदायिक वनको काभ्रेघाट बगरमा पोर्ट र क्रुज निर्माण भइरहेको छ। ज्ञानेश्वर सामुदायिक वनसँग २० वर्षको सम्झौता गरी क्रुज निर्माण गरिएको हो।

क्रुज सञ्चालन गर्न करीब रु। १५ करोड लागत लाग्ने अनुमान गरिएको कँडेलले बताए। उनले क्रुज हालका लागि पर्यटकीय प्रयोजनका लागि मात्र सञ्चालन गरिने जानकारी दिए।

 बिहानको खाजा खाँदै नदीमा सयर गर्न चाहनेले ब्रेकफाष्ट, अपरान्ह खाना खाँदै रमाउन चाहनेका लागि लञ्च र साँझमा डिनरको पनि क्रुजमा नै व्यवस्था हुने बताइएको छ।

प्रत्येक क्रुजिङ यात्रा करीब तीन घण्टा लामा हुनेछ। काभ्रेघाटदेखि यात्रा शुरु भई देवघाट पुगेर गोलाघाटसम्म २५ किलो मिटरको दुरी रहेको यो जलयात्राका लागि बाटोसमेतको अध्ययन भइसकेको छ। क्रुज दुई तल्ला, १०० फिट लम्बाइ र २५ फिट चौडाइको हुनेछ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad