मोतिहारी-अमलेखन्ज पेट्रोलियम पाइपलाइनको आज (मंगलबार) औपचारिक उद्घाटन हुँदैछ।
नेपाल र भारतका प्रधानमन्त्रीले दिउँसो १२ बजे औपचारिक रूपमा पाइपलाइन उद्घाटन गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आ–आफ्नै देशबाट स्विच थिचेर पाइपलाइन उद्घाटन गर्दैछन्।
त्यसक्रममा सिंहदरबार र भारतीय प्रधानमन्त्रीको कार्यालय, आयल निगमको अमलेखगञ्ज डिपो तथा भारतीय आयल निगमको मोतिहारी डिपोलाई प्रत्यक्ष भिडियोमा जोडिने छ।
नयाँदिल्लीबाट मोदीले थिचेको स्विचले तेल नेपाल पठाउने र काठमाडौँबाट ओलीले थिचेको स्विचले तेल अमलेखगञ्जमा झर्ने छ।
अमलेखगन्ज डिपोमा खसेको इन्धन भारतीय आयल निगमका निर्देशक जेपी सिन्हाले भाँडोमा थापेर नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडललाई हस्तान्तरण गर्नेछन्।
पाइपलाइनबाट दैनिक ३० हजार किलोलिटर इन्धन भित्र्याउन सकिने निगमले जनाएको छ। यसका लागि पाइपलाइन दैनिक २० घन्टा सञ्चालन हुनेछ।
पाइपलाइनबाट तत्कालका लागि डिजेल मात्रै आयात गरिने छ। पेट्रोल आयात गर्न भने एक वर्ष लाग्न सक्ने अमलेखगन्ज डिपो प्रमुख प्रदीप यादवले जानकारी दिए।
पाइपलाइनबाट पेट्रोलियम पदार्थ भित्रिएपछि ढुवानीमा वार्षिक ७० देखि ८० करोड रुपैयाँ बचत हुने निगमको अनुमान छ।
कम्प्युटरकै माध्यमबाट पाइपलाइन बन्द र खुला गर्न अमलेखगञ्जमा कन्ट्रोल रुम राखिएको छ। उद्घाटनसँगै निमयति रुपमा पाइपलाइनबाटै तेल आयत हुनेछ।
अमलेखगञ्ज डिपोमा पाइपलाइनबाट आएको तेल भण्डारणका लागि ४१ सय किलोलिटर क्षमताका दुई र ३९ सय किलोलिटर क्षमताका दुई गरी चारवटा ट्यांकी निर्माण गरिएको छ।

प्रतिक्रिया