छापा खबर


यसकारण नियन्त्रण हुन सकेन डेंगु

यसकारण नियन्त्रण हुन सकेन डेंगु

नेपालखबर
भदौ २४, २०७६ मंगलबार २:५४,

वैशाखयता फैलिएको डेंगु नियन्त्रणमा प्रभावकारी उपाय अपनाउन नसक्दा यसले प्रकोपको रूप लिएको छ। राजधानी काठमाडौंलगायत ४८ जिल्लामा यसको संक्रमण देखिएको छ।

विशेषज्ञहरूका अनुसार लामखुट्टेका अन्डा, प्युपा र लार्भा खोजेर नष्ट गर्ने (सर्च एन्ड डेस्ट्रोय) विधि अपनाउनुको साटो लामखुट्टे मार्न औषधि छर्कने (फगिङ) उपाय अपनाइँदा डेंगु नियन्त्रण हुन नसकेको हो।

स्वास्थ्यसम्बन्धी अधिकार स्थानीय सरकारमा रहेकाले केन्द्रीय सरकारबाट सावधानी अपनाउनका लागि अपिल र प्राविधिक सहयोग गर्नेबाहेक कुनै अभियान चलाइएको छैन। स्थानीय तहले फगिङ मेसिन प्रयोग गरिरहेका छन्। जसलाई विशेषज्ञहरू अनावश्यक भन्छन्। कतिपय मुलुकमा यसरी लामखुट्टे नष्ट गर्न प्रतिबन्ध लगाइएको छ।

‘फगिङ डेंगु नियन्त्रणमा प्रभावकारी हुँदैन,’ स्वास्थ्य सचिव डा पुष्पा चौधरीले भनिन्, ‘स्थानीय सरकार सर्च एन्ड डेस्ट्रोय अभियानमा नजाँदा डेंगु नियन्त्रण हुन नसकेको हो ।’ यो खबर आजको कान्तिपुरमा अतुल मिश्रले लेखेका छन्।

विशेषज्ञहरूले रोग फैलाउने लामखुट्टे खोजेर मास्ने अभियानलाई सशक्त बनाउनुपर्नेमा जोड दिएका छन्। उनीहरूले लामखुट्टेको प्रजनन प्रक्रिया पूरा हुन नदिनका लागि पानी राख्ने भाँडा छोप्ने, घर वरपर पानी जम्न नदिने, खाल्डाखुल्डी पुर्ने उपाय अपनाउनुपर्ने बताएका छन्।

इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा, किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. प्रकाश शाहले धरानमा व्यापक फगिङ गरिए पनि डेंगु फैलाउने लामखुट्टेको संख्या नघटेको बताए। ‘धरानमा लामखुट्टेको बासस्थान खोजेर मास्ने क्रम बढाएपछि प्रकोपमा कमी आयो,’ उनले भने। सरोकारवाला, आमजनसमुदाय सबै मिलेर लामखुट्टेले फुल पार्न सक्ने सबै स्थान खोजेर नष्ट गर्नुको विकल्प नरहेको उनी बताउँछन्।

डा. शाहका अनुसार फगिङले घरबाहिर रहेका र त्यसमा समेत फुल र लार्भा नभई लामखुट्टे मात्र मर्ने भएकाले प्रभावकारी हुँदैन । ‘एउटा मात्र संक्रमित लामखुट्टे बाँच्यो भने त्यसले एक वर्षमा रोग सार्न सक्ने करोडौं लामखुट्टे उत्पादन गर्न सक्छ,’ उनले भने।

उनका अनुसार एक संक्रमित लामखुट्टेले आफ्नो अधिकतम ३० दिनको जीवनकालमा ५ सयदेखि एक हजार संक्रमित फुल पार्छ। यी सबै फुल लामखुट्टेमा परिणत भए महिनामै रोग सार्ने लाखौं लामखुट्टे उत्पादन हुन्छन्। डेंगुको बढ्दो विस्तार नियन्त्रण गर्न सरोकारवाला सबै निकाय र नागरिक समाजले समन्वय गर्नुपर्ने उनले बताए।

काठमाडौं, पोखरा, धरानजस्ता ठूला सहरमा डेंगु नियन्त्रण गर्नु सजिलो नरहेको शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनले बताए । ‘यहाँ गमला, फ्रिज, खाल्डाखुल्डी, टायर, प्लास्टिकका बोतल–बट्टा, टुक्राटाक्री बढी हुन्छन् । पानीको नियमित आपूर्ति नहुँदा जम्मा गरेर राख्ने चलन पनि छ । यसले लामखुट्टे फैलिन सहयोग गरेको छ,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad