ग्लोबल आइएमई बैंकले हाथवे फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गरी बुधबारदेखि एकीकृत वित्तीय कारोबार सुरु गरेको छ। धरानमा आज आयोजित एक समारोहमा धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदीले एकीकृत वित्तीय कारोबारको औपचारिक शुभारम्भ गरेकी हुन्।
कार्यक्रममा बोल्दै मेयर भण्डारीले बैंकहरु एकिकृत भई सबल हुँदा मुलुकको आर्थिक विकासमा सकारात्मक प्रभाव पर्ने बताइन्। बैंक मर्जरमा गएर व्यवस्थित र बलियो बन्दै देशभर शाखा विस्तार हुँदा जनतालाई वित्तीय कारोबार गर्न सहज हुने बताउँदै उनले यसलाई सकारात्मक रुपमा लिन आग्रह गरिन्।
नेपाल राष्ट्र बैंक, क्षेत्रीय कार्यालय, विराटनगरका निर्देशक रोशन कुमार सिग्देलले बैंकहरु जनताको पूँजीबाट सञ्चालन हुने भएकाले जनताको पुँजीको सुरक्षामा विशेष ध्यान दिन आग्रह गरे। उनले बैंक तथा वित्तीय संस्थाको मर्जर तथा एक्विजिशनले जनताको पूँजीलाई सदुपयोग गर्दै आर्थिक विकासमा सहयोग पुग्ने अपेक्षा गरे। उनले वित्तीय संस्थाहरु मर्जर तथा एक्विजिसनमा जाँदा कर्मचारीको काम गर्ने शैली तथा वातावरण फरक पर्ने हुनाले कर्मचारी व्यवस्थापन लगायतका पक्षहरुमा विशेष ध्यान दिनुपर्ने बताए।
उक्त अवसरमा बोल्दै ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल सरकार र नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जर तथा एक्विजिसनका माध्यमबाट सबल र सक्षम वित्तीय संस्था बनाउने नीतिअनुरुप ग्लोबल आइएमई बैंकले हाथवे फाइनान्स कम्पनीलाई प्राप्ति (एक्विजिसन) गरेको बताए।
उनले बैंकले विभिन्न समयमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जर तथा एक्विजिसन गर्दै बैंक सबल बन्दै अगाडि बढ्दै गइरहेको र हालै मात्र जनता बैंक नेपाल लि.सँग मर्जरको समझदारी पत्रमा हस्ताक्षर भई मर्जरलाई छिटो भन्दा छिटो सम्पन्न गराउन लागिरहेको बताए। कार्यक्रममा हाथवे फाइनान्स कम्पनीका अध्यक्ष अम्बिका प्रसाद पौडेलले प्राप्तिपश्चात् सेयर होल्डर तथा कर्मचारीले उचित सम्मान पाउने जानकारी गराए।
हाथवे फाइनान्सको प्राप्तिपछि ग्लोबल आइएमई बैंकको चुक्ता पुँजी १० अर्ब ४३ करोड ६५ लाख रुपैयाँ पुगेको छ। यसका अतिरिक्त बैंकको शाखा सञ्जाल १ सय ४५, कुल निक्षेप १ सय २७ अर्बभन्दा बढी, कुल कर्जा १ सय १९ अर्बभन्दा बढी पुग्नेछ भने ग्राहक संख्या ११ लाखभन्दा बढी पुगेको छ।
हाल बैंकले १ सय ४८ एटीएम, १ सय ८५ शाखारहित बैंकिङ्ग सेवा, ३० वटा राजस्व संकलन तथा एक्सटेन्सन काउन्टर तथा ३ अन्तर्राष्ट्रिय सम्पर्क कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया