कारोबार


जुम्लामा फल्यो छ हजार मेट्रिक टन स्याउ

जुम्लामा फल्यो छ हजार मेट्रिक टन स्याउ

नेपालखबर
भदौ १३, २०७६ शुक्रबार ३:१२,

जुम्लाको पातारासी गाउँपालिकाकी चैती विष्टलाई आफ्नो बगैँचामा फलेका स्याउ टिप्न भ्याइनभ्याइ छ।

चन्दननाथ १० कि माया देवकोटा पनि एक सातादेखि बारीमा स्याउ टिप्न व्यस्त छिन्। उनको स्याउ बारीमा करीब १५० स्याउका बोट छन्। विष्ट र देवकोटालाई मात्र होइन, जुम्लाका सबै किसानलाई अहिले स्याउ टिप्ने चटारो छ।

भदौ लागेसँगै यहाँका किसानलाई स्याउ टिप्न भ्याइनभ्याइ हुन्छ। अधिकांश किसान बिहानैदेखि राति अबेरसम्म स्याउबारीमै व्यस्त हुन्छन्। स्याउ टिप्न शुरु भएसँगै व्यापारी स्याउ बगैँचामै आएर खरीद गर्ने क्रम बढेको छ।

स्याउ खरीद गर्न नेपालगञ्ज, सुर्खेत, काठमाडौँलगायत जिल्लाबाट व्यापारी जुम्ला पुग्ने गरेका छन् । भदौको दोस्रो सातादेखि स्याउ टिप्न र ढुवानी गर्न स्थानीय तहले अनुमति दिए पनि केही किसानले पहिले नै स्याउ टिपेर सिध्याइसकेका छन्।

ढिलो टिपे स्याउ बिक्री नहुने कतिपय किसानको बुझाई छ। यस वर्ष जुम्लामा छ हजार १०० मेट्रिक टन स्याउ फल्ने अनुमान कृषि ज्ञान केन्द्रको छ।

जिल्लाको स्याउ उत्पादनबारे प्राविधिकले तथ्याङ्क सङ्कलन गरिहेका कृषि ज्ञान केन्द्रका अर्थविज्ञ बालकराम देवकोटाले बताए। उनका अनुसार गत वर्षभन्दा यस वर्ष स्याउ उत्पादन हुने क्षेत्र बढेकाले उत्पादन पनि बढेको छ । देवकोटाले स्याउको बजार वर्षेनी बढिरहेको जानकारी दिए।

केही वर्षअघिसम्म स्याउ बिक्री गर्न खलङ्गा बजार लैजानुपर्ने बाध्यता थियो। यस वर्ष व्यापारी बगैँचामै पुगेर स्याउ खरीद गरिरहेका छन्।

आठ वर्षअघि साविक जिल्ला विकास समितिको १५ औँ जिल्ला परिषद्ले जुम्लालाई प्रांगारिक जिल्ला घोषणा गरेको थियो। जुम्लाले २०६६ सालमा नेपाल प्राङ्गारिक प्रमाणीकरण मान्यता पाएपछि स्याउ जिल्ला बाहिर जाने क्रम बढेको हो।

स्याउको बजार जिल्ला बाहिर भएकाले ढुवानीमा समस्या हुने गरेको स्याउ व्यापारीले बताउने गरेका छन्।

जुम्लाको स्याउको माग काठमाडौं लगायत ठूला शहरमा बढी छ । स्तरीय कार्टुन नहुँदा स्याउ प्याकेजीङमा समस्या भएको कृषि ज्ञान केन्द्रका अर्थविज्ञ देवकोटाले बताए।

जिल्लामा स्याउ भण्डारको व्यवस्थासमेत नहुँदा किसान समस्यामा परेका छन्। केही किसानले आफैँ स्याउ जिल्ला बाहिर बिक्रीका लागि लैजाने गरेका छन्।

बजारको मागभन्दा धेरै स्याउ एकै पटक जाने भएकाले राम्रो मूल्य नपाइने किसानको गुनासो छ। केन्द्रका अनुसार जुम्लामा तीन हजार १०० हेक्टरमा स्याउखेती गरिएकामा ८०० हेक्टरमा मात्रै स्याउ फलेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad