समाज


आज बुवाको मुख हेर्ने दिनः गोकर्णेश्वरमा भक्तजनको घुइँचो

आज बुवाको मुख हेर्ने दिनः गोकर्णेश्वरमा भक्तजनको घुइँचो

नेपालखबर
भदौ १३, २०७६ शुक्रबार २:५७,

आज भाद्र कृष्ण औँशी, बुवाको मुख हर्नेदिन।

बिहानैदेखि काठमाडौँको गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवंगत पितृप्रति तर्पण, पिण्डदान र श्राद्ध गर्ने भक्तजनको भीड लागेको छ।

बिहीबार बेलुकीदेखि नै मन्दिर क्षेत्रमा भक्तजनको आवागमन शुरु भएको थियो। बिहान ३ः०० बजेदेखि मन्दिरका चारै ढोका खुला गरिएको पुजारी जगदीशचन्द्र भट्टले जानकारी दिए।

बाबु जीवित हुने छोरा छोरीले भने आज मीठामीठा कुरा खान एवं राम्रा कपडा लगाउन दिएर मुख हेर्छन्। ‘पितृदेवो भव’ अर्थात् बाबुलाई देवता समान मान भन्ने वैदिक मान्यताअनुसार पितृ सम्मान गरी आजको पर्व मनाइन्छ।

यसैगरी आज वर्षभर देव एवं पितृकार्यमा प्रयोग गरिने कुश घर घरमा भित्र्याइन्छ। ब्राह्मण पुरोहितले कुश छेदन गरी जजमानको घर घरमा पु¥याउने परम्परा छ।

यसैले आजको दिनलाई कुशे औँशी पनि भनिन्छ। यस अवसरमा आज गोकर्णेश्वर नगरपालिकाले नगर क्षेत्रमा सार्वजनिक बिदासमेत दिएको छ।

विगत वर्षभन्दा यसपटक गोकर्णेश्वरमा व्यवस्थित रुपमा मन्दिरमा दर्शन एवं परिसरमा श्राद्ध गर्ने व्यवस्था मिलाउन सकिएको उनले बताए।

पितृ तीर्थ धाम एवं उत्तरगया भनेर समेत चिनिने गोकर्णेश्वरमा आज तर्पण, पिण्डदान र श्राद्ध गरे घर, मामाघर र ससुरालीतर्फका २१ पुस्तासम्मका पितृ तर्दछन् भन्ने धार्मिक विश्वास छ।

यही विश्वासमा देशका विभिन्न भागबाट भक्तजन गोकर्णेश्वर पुगेका छन्।

यस वर्ष गोकर्णेश्वर नगरपालिकाको नेतृत्वमा प्यागोडाशैलीको तीन तले मन्दिरमा झिँगटीको छाना निकाली पित्तलमा सुन लेपन गर्ने काम पनि शुरु भएको छ।

दोस्रो तलाको छानामा सुन लेपन गरेर पित्तल हाल्ने काम सम्पन्न भएको नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानाले जानकारी दिए।

दिवङ्गत भइसकेका पिताले भाद्र कृष्ण औँशीका दिन सन्तानबाट जल एवं सिदादानको आशा गरी बसेका हुन्छन् भन्ने शास्त्रीय वचनअनुसार आजको दिन श्राद्ध गर्ने परम्परा शुरु भएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले बताए।

महानगरीय ट्राफिक प्रहरी वृत्त बौद्धले जोरपाटी चोकबाट सुन्दरीजलतर्फ चल्ने सवारीसाधनलाई जोरपाटीबाटै फर्काइदिएको छ। यसकारण भक्तजन र यात्रु लामो दूरीसम्म पैदल यात्रा गर्न बाध्य छन्।

जोरपाटी चोकबाट गोकर्णेश्वर महादेव मन्दिर भएको सडक किनारमा बिहीबारदेखि अस्थायी पसल सञ्चालन सहित मेला लागेको छ।

बिहीबारदेखि नै भक्तजनको भीड लागेपछि जोरपाटीबाट माथितिरको यातायात सञ्चालन भएको छैन । सडकको दूरावस्थाका कारण भने यात्रुले मन्दिर जान पनि सास्ती खेप्नुपरेको गुनासो गरेका छन्। गत वर्षभन्दा यहाँको सडक बिग्रिएको पाइएको भक्तजन रामचन्द बस्यालले बताए।

यसैगरी वाग्मतीको किनारमा रहेको पशुपतिनाथ मन्दिर, शङ्खमूल, टेकुलगायत स्थलमा पनि दिवङ्गत पिताका नाममा श्रद्धा भक्तिपूर्वक श्राद्ध गर्ने भक्तजनको भीड लाग्छ।

गोकर्णेश्वर महादेव मन्दिरमा पिताप्रति सम्मानका साथ श्राद्ध गर्ने भक्तजनको भीड लाग्ने भएकाले आजको दिनलाई गोकर्णे औँशी पनि भनिन्छ।

यसैगरी उपत्यका बाहिर बेत्रावतीस्थित उत्तरगया, देवघाट, त्रिवेणी, रिडी इन्द्रावती किनारस्थित स्फटकिश्वर महादेव मन्दिर क्षेत्र लगायत स्थानमा पनि भक्तजनको भीड लागेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad