ad ad

कारोबार


मन्त्रिपरिषदमा अड्कियो अन्तर्राष्ट्रिय उडान खोल्ने निर्णय

मन्त्रिपरिषदमा अड्कियो अन्तर्राष्ट्रिय उडान खोल्ने निर्णय

वसन्त अर्याल
असार ७, २०७८ सोमबार ८:५३,

प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको कोभिड १९ संकट व्यवस्थापन केन्द्रले (सीसीएमसी) विभिन्न देशमा अन्तर्राष्ट्रिय उडान खोल्ने निर्णय गरे पनि मन्त्रिपरिषदमा अड्किएको छ।

गत बुधबार सीसीएमसीको बैठकले यात्रु बढी आउजाउ गर्ने मुख्य गन्तव्यहरुमा उडान खोल्ने निर्णय गरे पनि मन्त्रिपरिषदमा अझै छलफलकै क्रममा रहेको छ।

प्रधानमन्त्री आफैँ अध्यक्ष रहेको सीसीएमसीले उडान खोल्ने निर्णय गरेको करिब १ हप्ता हुँदा मन्त्रिपरिषदले निर्णय गर्नसकेको छैन।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रिपरिषदमा अन्तर्राष्ट्रिय उडान खोल्ने प्रस्ताव लगे पनि निर्णय नभएको बताएको छ।

‘सीसीएमसीले पनि अन्तर्राष्ट्रिय उडान खोल्ने निर्णय गरेको हो। मन्त्रालयले पनि मन्त्रिपरिषदमा उडान खोल्ने प्रस्ताव लगेका छौँ’, मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले भने, ‘त्यो अझै छलफलकै चरणमा रहेको जानकारी आएको छ।’

उनले मन्त्रिपरिषदले निर्णय नगरेसम्म उडान सुचारु हुन नसक्ने बताए।

सरकारले यसअघि नै ४ देशमा उडान खोल्ने निर्णय गरे पनि ३ देशमा नियमित उडान भइरहेको छ। चीन, भारत, कतार र टर्कीमा नियमित उडान अनुमति दिए पनि चीनमा नियमित उडान हुनसकेको छैन।

‘मन्त्रालयले अहिले उडान भइरहेको गन्तव्यमा उडान थप गर्नुपर्ने र नयाँ गन्तव्य खोल्नुपर्ने प्रस्ताव लगेको छ’, अधिकारीले भने, ‘आजभोलिमा निर्णय होला।’

उनले मन्त्रिपरिषदमा मलेसिया, साउदी अरब, युएई, ओमान, कोरिया र जापानमा सीमित उडान गर्ने प्रस्ताव गएको बताएका छन्।

त्यसबाहेक धेरै देशले कतारलाई ट्रान्जिट बनाएर आउने भएका त्यहाँ उडान थप गर्ने प्रस्ताव पनि गएको छ।

युरोप तथा अमेरिकाबाट नेपाल आउनको लागि कतारको दोहा र टर्कीको इस्तानबुललाई ट्रान्जिट विमानस्थल बनाउनसक्ने मन्त्रालयले जनाएको छ।

मन्त्रालयका सहसचिव अधिकारीले कोरोना संक्रमितको दर घट्दै गएकाले अब अन्तर्राष्ट्रिय उडान सहज बनाउनुपर्नेमा मन्त्रालय स्पष्ट रहेको बताए।

मन्त्रिपरिषदको बैठक प्रायः सोमबार र बिहीबार बस्दै आएको छ। मन्त्रालयले प्रस्ताव मन्त्रिपरिषदमा गइसकेकोले अबको बैठकले निर्णय गर्ने बताएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्रीले अन्तर्राष्ट्रिय उडान खोल्ने निर्णय भएको बताए पनि आफूहरुकहाँ पत्र नआएको बताए।

‘प्रधानमन्त्रीले नै थप ६ वटा देशमा अन्तर्राष्ट्रिय उडान खोल्ने निर्णय भएको बताउनुभएको छ’, क्षेत्रीले भने, ‘हामीलाई कुन–कुन देश कसरी उडान गर्ने भन्ने पत्र नआई विस्तृतमा भन्न सकिँदैन।’

क्षेत्रीले उड्डयन मन्त्रालयमा आधिकारिक निर्णय आएपछि मात्रै मन्त्रालयले आफूहरुलाई पत्र पठाउने गरेको बताए।

यसअघिको मन्त्रिपरिषदको निर्णयअनुसार कतारमा हरेक सोमबार दुई उडान हुने गरेका छन्।

नेपाल एयरलाइन्स र कतार एयरलाइन्सले हरेक हप्ता उडान गर्दै आएका छन्। त्यस्तै टर्किस एरयलाइन्सले इस्तानबुल–काठमाडौं हरेक बिहीबार उडान गर्दै आएको छ।

अन्तर्राष्ट्रिय उडान वैशाख २३ गतेबाट बन्द भए पनि भारतमा भने एयर बबल सुविधाअनुसार हप्तामा दुई उडान हुँदै आएका छन्।

चीनमा हप्तामा दुई उडान गर्ने निर्णय भए पनि चीनको कडा स्वास्थ्य मापदण्डको कारण नियमित उडान भएको छैन।

अन्तर्राष्ट्रिय उडान नखुल्दा रोजगारीमा गएकाको बिचल्ली
अन्तर्राष्ट्रिय उडान बन्द भएको डेढ महिना बढी हुँदा पनि विदेशमा रोजगारीमा गएका नागरिकलाई समस्या परेको छ। विभिन्न दूतावासले सरकारलाई छिटो नियमित उडान खोल्न आग्रह गर्दा पनि आलटाल गरिरहेको छ।

भिसा, करार अवधि सकिएका थुप्रै कामदार स्वदेश फिर्ताको लागि कुरिरहेका छन्। खाडी मुलुकबाट फर्कनको लागि हाल कतारमा हप्ताको दुई उडान हुने भए पनि यात्रु बढी हुँदा टिकट कालोबजारी हुने गरेको गुनासो बढेको छ।

एयरलाइन्सहरुले होटल क्वारेन्टिन, पीसीआर, यातायात खर्च भन्दै एउटै यात्रुबाट लाखौँ लिइरहेका छन्। वैदेशिक रोजगारीको लागि मलेसियामा गएकाहरुको लागि चर्को भाडा तिरेर फर्किन उडान नै नभएको गुनासो गर्दै आएका छन्।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र एयरलाइन्स कम्पनीहरुले भने बढी भाडा नलिएको दाबी गर्दै आएका छन्।

एयरलाइन्सले होटल क्वारेन्टिन, यातायातलगायत टिकटमै जोडिने भएकाले सामान्य अवस्थाभन्दा महंगो भएको बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .