चालू आवमा निषेधाज्ञा हुँदा पनि वस्तु आयात बढी देखिएको छ।
गत वर्ष लकडाउनमा वस्तु खपत नै कम हुँदा आयत कम भएको थियो तर चालू आवको १० महिना अवधिमा नै व्यापार घाटा ११ खर्ब ४५ अर्ब रुपैयाँको देखियो।
जसको असर चालू खातामा समेत देखिएको छ। १० महिना अवधिमा चालू खाता २ खर्ब ४७ अर्ब ८ करोडले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ९६ अर्ब १८ करोडले घाटामा रहेको थियो।
त्यस्तै शोधनान्तर स्थिति समेत खस्किएको छ। १० महिना अवधिमा ७ अर्ब ७५ करोडले बचतमा रहेको छ।
अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब २० अर्ब ९० करोडले बचतमा रहेको थियो।
कुल विदेशी विनिमय सञ्चिति पनि घटेको छ। २०७७ असार मसान्तमा १४ खर्ब १ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ०.८ प्रतिशतले कमी आई २०७८ वैशाख मसान्तमा १३ खर्ब ९० अर्ब ८४ करोड कायम भएको छ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७७ असार मसान्तमा १२ खर्ब २६ अर्ब १२ करोड रहेकोमा २०७८ वैशाख मसान्तमा ०.५ प्रतिशतले कमी आई १२ खर्ब १९ अर्ब ८१ करोड कायम भएको छ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७७ असार मसान्तमा १ खर्ब ७५ अर्ब ७१ करोड रहेकोमा २०७८ वैशाख मसान्तमा २.७ प्रतिशतले कमी आई १ खर्ब ७१ अर्ब ३ करोड कायम भएको छ।
२०७८ वैशाख मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २५.१ प्रतिशत रहेको छ।

प्रतिक्रिया