कारोबार


विज्ञ भन्छन् : खानीजन्य वस्तुको व्यवस्थित उत्खनन गरे पनि निकासी आवश्यक छैन

विज्ञ भन्छन् : खानीजन्य वस्तुको व्यवस्थित उत्खनन गरे पनि निकासी आवश्यक छैन

नेपालखबर
जेठ २४, २०७८ सोमबार १३:८,

विज्ञहरुले ढुंगा, गिट्टी, बालुवा व्यवस्थित उत्खनन गरे पनि निकासी गर्न नहुने बताएका छन्।

निर्माण सामग्रीको दिगो व्यवस्थापनसम्बन्धी एक छलफलमा सोमबार विज्ञहरुले पहाडमा खानी उत्खनन गरे पनि निर्यात आवश्यक नभएको बताएका हुन्।

पूर्वअर्थसचिव रामेश्वर खनाललले निर्यात अहिलेको अवाश्यकता नभएको बताए। ढुंगा, गिट्टी, बालुवा उपयोग नभए पनि भन्डार भइरहने उनको भनाइ छ।

उनले सरकारी बजेटमा उल्लेख गरेअनुसार निर्यात गरेर व्यापारघाटा कम नहुने बताए।

‘तराईका नदीबाट गिट्टी बालुवा निकाल्न आवश्यक छ । तर बढी उत्खनन गर्न दिनुहुँदैन’, खनालले भने, ‘सरकारले नै नदी उत्खनन गरेर घाटगद्दी गरी निजी क्षेत्रलाई बोलकबोलमा बेच्न सक्छ।’

खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले विभागबाट चुरे, निकुञ्ज, आरक्षण क्षेत्रमा उत्खननका लागि हालसम्म कुनै अनुमति नदिएको बताए।

उनले कुनै नदीमा बढी उत्खनन भएको र कुनैमा उत्खनन नहुँदा नदीले धार परिवर्तन गर्ने समस्या रहेको उल्लेख गरे।

विभागले ९२ वटा खानीको पहिचान गरेको बताउँदै घिमिरेले प्राविधिक तथा वातावरणीय प्रतिवेदन स्वीकृत भइसकेको जानकारी दिए।

वातावरणीय प्रभाव मूल्याङ्कन गरी वन, पर्यावरणमा असर नपर्ने गरी स्वदेश खपत तथा विदेश निर्यात गर्न सकिने उनले बताए।

त्यस्तै, पूर्वाधार विज्ञ सूर्यराज आचार्यले बजेटअघि नै छलफल गर्नुपर्नेमा भर्खर छलफल भइरहेको बताए।

नदी उत्खनन र पहाड उत्खननको छुट्टाछुट्टै कानुन आवश्यक रहेको उनको भनाइ छ।

नदी तथा खानी उत्खनन गर्न सकिने तर निर्यात भने आवश्यक नभएको उनले बताए।

‘अहिले निर्यातको कुरा गर्दै नगरौँ। अहिले निर्यात गर्ने ३० वर्षपछि फेरि महंगोमा आयात गर्नुपर्ने अवस्था आउँछ’, आचार्यले भने।

उनले विकास र वातावरणको सन्तुलन हुनुपर्ने बताउँदै कुनै ठाउँमा छुँदाबित्तिकै वातावरण सकियो भन्ने अतिवाद विकास भइरहेको पनि बताए।

नास्टका वातावरणविद् दिनेश भुजुले प्रकृतिको दोहन गरेर कमाउन नसकिने बताए।

खानी उत्खनन दिगो विकास नभएको उनको भनाइ छ।

छलफल कार्यक्रममा त्रिभुवन विश्वविद्यालयको डिपार्टमेन्ट अफ जिओलजीका एसोसिएट प्रोफेसर डा.सुबोध ढकालले हामीसँग भएको सम्पदाको प्रयोग नै नगर्ने भन्ने नहुने बताए।

‘सबै नदीलाई एउदै दृष्टिकोणबाट हेर्नुहुँदैन। एक–एक नदीलाई हेरेर त्यसको उत्खनन गर्न सकिन्छ’, ढकालले भने, ‘चुरेको निर्माण सामग्री बलियो हुँदैन। महाभारत क्षेत्रका खानीबाटै उत्पादन गर्नुपर्छ। तर निकासी अहिले नै गर्नुपर्छ भन्ने छैन।’

निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले पहिला आन्तरिक खपत व्यवस्थापनमा ध्यान दिनुपर्नेमा जोड दिए।

‘३० हजारको निर्माण सामग्री खरिद ग¥यो भने १०–१२ हजारको मात्रै बीजक पाउँछौँ’, सिंहले भने, ‘सरकारले जबसम्म कहाँ–कहाँ क्रसर उद्योग स्थापना गर्ने भनेर तयार गर्दैन तबसम्म यो समस्या समाधान हुँदैन।’

सडक विभागका उपमहानिर्देशक शिव नेपालले २० अर्बको निर्माण सामग्री सडक विभागले मात्रै प्रयोग गरिरहेको बताए।

उनले नेपालमा सबै गरी ढुंगा गिट्टीको करिब ६० अर्बको व्यापार भइरहेको बताए।

उनले गिट्टी, बालुवाको गुणस्तर हेर्ने निकाय नै नभएको समेत उल्लेख गरे।

‘चुरेबाट उत्खनन गर्नुहुँदैन तर सम्भावित ठाउँबाट उत्खनन गर्नुपर्छ’, नेपालले भने, ‘नदीमाथीको निर्भर घटाई खानीजन्य उद्योग सञ्चालन गर्नुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad