चौधरी ग्रुपले चितवनको भरतपुरमा फरक मोडेलको होटलसहितको ल्याण्डमार्क संचालनमा ल्याएको छ। विश्वका उत्कृष्ट ब्राण्डका सामान पाउने सपिङ मल, २ वटा सिनेमा हलसहित द फर्न रेसिडेन्सी (होटल) संचालनमा आएको हो।
‘नेपालमा एउटै भवनमा यति धेरै सुविधा र फरक शैलीको मल यो नै पहिलो हो, जहाँ परिवारका सबै सदस्य एकै पटक आएर आआफ्नो रोजाईमा किनमेल गर्न र ल्याण्डमार्कमा आनन्द लिन सक्छन्’, चौधरी ग्रुपका महाप्रबन्धक मधु पौडेलले भने।
भरतपुर उकालोमा रहेको वीरेन्द्र क्याम्पस अगाडि, विमानस्थलबाट एक किलोमिटर उत्तरतर्फको दुरीमा महेन्द्र राजमार्गसँग जोडिएको अत्याधुनिक ल्याण्डमार्क युरोपियन शैलीमा निर्माण गरिएको छ। मलमा विश्वका उत्कृष्ठ ब्राण्डका सामान होलसेल र खुद्रा मूल्यमा पाइने चौधरी ग्रुपले जनाएको छ।

१० तले भवनमा ४ सय सिट क्षमताका २ वटा सिनेमा हल छन् भने छैठौं तलमा स्वीमिङ पुल छ। २ वटा तलामा अण्डरग्राउण्ड पार्किङ तथा सुविधा सम्पन्न एसी हल रहेका छन्। भवनमा एक हजार जनालाई सुविधा दिनसक्ने २ वटा आधुनिक सुविधा सम्पन्न पार्टी हल रहेका छन्।
सेमिनार, पार्टी र नाचगान सहित मनोरञ्जन लिन सकिने यो क्षमताको सुविधा सम्पन्न हल भरतपुर महानगरमा पहिलो पटक खुलेको हो।
भवनका ५ वटा तलामा नेपाल र विश्वका ब्राण्डेड सामान खरिद गर्न सकिने मल छ।
चितवनबाट निर्वाचित संघीय सांसद कृष्णभक्त पोखरेलको नजरमा ल्याण्डमार्क युरोपियन शैलीको छ। एउटै थलोमा विश्वमा चलेका ब्राण्डका सामान पाइने र मूल्यमा एकरुपता हुनुले यो ल्याण्डमार्क ‘शहरभित्रको शहर’ जस्तो बनेको छ।
विमानस्थल नजिकै मुख्य बजारको एउटै घरमा जिम हाउससहितका अनेक सुविधाले अहिले ल्याण्डमार्कप्रति आकर्षण बढिरहेको छ।
‘बार्गेनिङ नगरी निश्चित दरमा उत्कृष्ट समान पाइने विशेषता ल्याण्डमार्कले कायम राख्ने विश्वास लिएको छु’, सांसद पोखरेलले भने।

भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाहले ल्याण्डमार्कबाट देख्न सकिने चारैतिरको दृश्यले आफु लोभिएको सुनाइन्।युरोपबाट नेपाल आउनेहरूले अब उताबाट सामान बोक्न छाडेर ल्याण्डमार्कमै किनमेल गर्न सक्ने भएकाले यो मल धेरैको रोजाइमा पर्न थालेको उनले बताइन।
‘भरतपुर महानगरपालिकालाई स्मार्टसिटि बनाउन ल्याण्डमार्कको पूर्वाधारले सहयोग पुग्ने विश्वास छ’, शाहले भनिन्, ‘पर्याप्त पार्किङ, बालबालिका खेल्ने ठाउँ, जिमहाउस रहेको र मूल्यमा पनि एक रुपता भएकाले म मात्रै होइन, यो जुनसुकै उमेर समूहका ग्राहकको रोजाइमा पर्नु स्वाभाविक हो।’
ल्याण्डमार्कमा भेटिएका पोखराका उमेश कटुवालले यस्तो मल काठमाडौंमा पनि नभेटेको उल्लेख गर्दै भने, ‘ठ्याक्कै युरोपको झल्को दिने गरि परिवार सहित सपिङ गर्न आउन मिल्ने रहेछ।’
विदेशमा पाइने उत्कृष्ट ब्राण्डका सामानले आफुलाई तानेको उनले बताए।
‘जापान र फ्रान्स जाँदा यस्तो मलको आनन्द लिएको थिएँ, अब ल्याण्डमार्कमै धेरै ब्राण्डका सामान पाइने भएपछि अन्यत्र भौंतारिनु परेन’, कटुवालले थपे, ‘चितवन आउनेको पहिलो रोजाइ सौराह घुम्नु हुन्छ, अब सायद दोस्रो रोजाइ ल्याण्डमार्कमा सपिङ गर्नु हुनेछ।’

ल्याण्डमार्कको ६ तलामाथि अत्याधुनिक सुविधा रहेको ४८ कोठे द फर्न रेसिडेन्सी ब्राण्डको होटल छ।
छैठौं तलामा रहेको खुल्ला स्वीमिङ पुलले धैरैको मन तान्न थालेको छ। महाप्रबन्धक पौडेलका अनुसार स्वीमिङ पुल र रेष्टुरेण्टमा अहिले स्थानीयको आकर्षण बढिरहेको छ।
भारतपुरका रामकुमार श्रेष्ठले होटलको छतमा पहिलो पटक स्वीमिङ पुल देखेको बताए।
‘विदेशतिर होटलको छतमा स्वीमिङ पुल हुन्छ भन्ने सुनेको थिएँ, अहिले भरतपुरमै देख्न पाइयो’, श्रेष्ठले भने, ‘परिवारसँग आएर रमाउने यस्तो वातावरण नेपालमा मैले अन्त भेटेको छैन।’
ल्याण्मार्क सञ्चालनमा आएपछि उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहन प्रधानले ब्राण्डेड सामान किन्न काठमाडौं जानैपर्ने बाध्यताको अन्त्य भएको महशुस गरेका छन्।

‘अब सामान किन्न ५० तिर भौंतारिनु परेन, ल्याण्मार्कले गर्दा चितवनमा किनमेलको शैली नै फेरिने छ’, प्रधान भन्छन्, ‘सपिङको समय कटाएर आनन्द लिन सकिन्छ।’
‘आधुनिक संरचनाले शहरको परिभाषा बदल्छन्। ल्याण्डमार्कले भरतपुरको परिभाषा बदलिदिएको छ’ महाप्रवन्धक पौडेल भन्छन्, ल्याण्डमार्क यस्तो स्तम्भ हो जसले भरतपुरबासीलाई आफु काठमाडौं बाहिरका बासिन्दा हौं भन्ने भावना बिर्साइदिएको छ।’
ल्याण्डमार्कमा रहेको द फर्न रेसिडेन्सी अन्तर्राष्ट्रिय ब्राण्डको चेन होटल हो। यो ब्राण्डका होटलहरू भारतमा निकै लोकप्रिय रहेका छन्।
‘यो होटलको हस्पिटालिटि र खुल्ला वातावरणले नलोभिने कमै हुनेछन्। मलाई लाग्छ, यो होटल समग्र भरतपुरकै शान बन्नेछ’, पौडेल भन्छन्, ‘राजधानीका नाम चलेका तारे होटलहरूको तुलनामा यो होटल उत्कृष्ट छ।’
कर्पोरेट भिजिटर्स र पारिवारिक भ्रमणमा चितवन आउनेहरुको पहिलो रोजाई द फर्न हुने गरेको पौडेलको भनाइ छ।
होटलका प्रत्येक कोठाबाट चितवन र नवलपरासीका पर्यटकीय गन्तव्यहरू देख्न सकिन्छ। कोठाबाटै नारायणी नदी, चितवन राष्ट्रिय निकुन्ज, देबघाट धामका दृश्य छर्लङ्ग देखिन्छन्।

भरतपुरबासीको जीवन शैलीलाई अर्को उचाईमा पु¥याउने नयाँ सोचसहित ल्याण्डमार्क निर्माण गरेको चौधरी ग्रुपको दाबी छ।
चितवनको मेघौलीमा होटल मेघौली सेराई र नवलपरासीको दुम्कौलीमा सिजी गल्फ रिट्रिट सञ्चालन गर्दै आएको चौधरी ग्रुपले आफ्ना ग्राहकलाई फरक शैलीको पारिवारिक आनन्दमा रमाउने वातावरणका लागि ल्याण्डमार्क सुरु गरेको हो।
‘होटलका सबै कोठामा पर्याप्त उज्यालो र आर्कषक सजावट छ’, पौडेल भन्छन्, ‘सरसफाई र सुरक्षा व्यवस्थालाई ल्याण्डमार्कले प्राथकितामा राखेको छ, भवन डिजिटलाइज्ड सुविधाले सज्जित छ।’
चौधरी ग्रुपले देशका ७ वटै प्रदेशमा यस्तै सुविधासहित ल्याण्डमार्क सञ्चालनमा ल्याउने तयारी गरिरहेको महाप्रबन्धक पौडेलले बताए।

प्रतिक्रिया