ad ad

राजनीति


नेपाल प्रहरी अनुसन्धानमा अब्बल रहेको महानिरीक्षको दावी

नेपाल प्रहरी अनुसन्धानमा अब्बल रहेको महानिरीक्षको दावी

वाशुदेव मिश्र
भदौ ३, २०७६ मंगलबार ८:५५,

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अपराध अनुसन्धानमा नेपाल प्रहरी विश्वकै उत्कृष्ट भएको दावी गरेका छन्।

निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा दोषी पत्ता लगाउन नसकेको प्रहरी संगठनका प्रमुखले अपराध नियन्त्रणमा पनि प्रहरी अब्बल भएको जिकिर गरे।

पोखरामा बनेको संघीय प्रहरी कार्यालय भवनको मंगलबार उद्घाटन गर्दै उनले अवान्छित गतिविधि हुनै नदिने र भएमा पनि तत्काल नियन्त्रण गर्न प्रहरी सक्षम भएको बताए। आपराधिक समूहहरुसँग मिलेर निर्दोषलाई फसाउनेहरु विरुद्ध प्रहरी कठोर बन्ने उनको भनाई थियो।

शान्तिसुरक्षा स्थापनामा प्रविधिमैत्री प्रहरी आवश्यक भएको बताउँदै उनले ‘मुस्कानसहितको प्रहरी’ अवधारणा भने सफल हुन नसकेको स्वीकारे। बरु, आफ्नै पालामा सुरु भएको समुदाय प्रहरी कार्यक्रम प्रभावकारी बन्दै गएको उनको दावी थियो।

प्रहरीले २०७१ सालको जेठमा मुस्कानसहितको प्रहरी सेवा कार्यक्रम सुरु गरेको थियो। नारा आकर्षक भए पनि प्रहरीले मुस्कानसहित सेवा दिन नसकेको भन्दै यो अभियानको बिरोध हुँदै आएको छ।

आइजी खनालले सामुदायिक प्रहरीसँग समुदायले सोचेजस्तो सहकार्य गर्न नसकेको बताउँदै अगाडि भने, ‘सामुदायिक प्रहरीको नाममा प्रहरीलाई झाडु लगाउने काममा मात्र सीमित राख्न हुँदैन।’

आइजीका आँखा बुलेटतिर

प्रहरी महानिरीक्षक खनालले पोखराको प्रमुख पर्यटकीय केन्द्र लेकसाइड २४ सै घण्टा खुल्ला राख्न प्रहरी सकारात्मक भएको बताए। आफू ठमेल र पोखरा रातभर खुल्ला हुनुपर्छ भन्ने मान्यतामा रहेको बताउँदै उनले लेकसाइडमा रातको समयमा हुने होहल्ला नियन्त्रणमा लाग्न प्रहरीलाई कडा निर्देशन पनि दिए।

‘लेकसाइडमा पूरै अप्रेसन गरिदिनोस्। ठूलो आवाज दिने मोटरसाइकल ल्याएर राखिनोस्’, डिआइजी विनोद शर्मातर्फ हेर्दै उनले भने,‘ठूलो जरिवाना गराउनुहोस्।’ उनले प्रहरीले लाठी लिएर बसेर मात्रै समस्या समाधान नहुने र चर्को आवाज दिने बुलेट मोटर साइकलको आयात नै घटाउनु पर्ने तर्क गर्दै अगाडि भने, ‘प्रहरी लाठी लिएर कतिञ्जेल बस्नुपर्ने, ‘प्रहरीले कति दिन रोक्ने, कति दिन पछिपछि दौडिने? बरु आयातमै रोकौं न।’

केही दिनअघि पोखराको लेकसाइडलाई २४सै घण्टा खुलाउने विषयमा स्थानीयवासी, होटल व्यवसायी तथा रेष्टुरेण्टवालाहरुबीच मत बाझिएको थियो। होटलवाला र स्थानीयवासी रातभर खुल्नुपर्छ भन्ने मान्यतको विपक्षमा र रेष्टुरेण्टवाला खोल्नैपर्छ भन्ने पक्षमा थिए।

अहिले पोखराका केही डिस्को र रेष्टुुरेण्टहरु रातको २ बजेसम्म खुल्छन् भने बाँकी लेकसाइड ११ बजेपछि सुनसान हुन्छ। अदालतको आदेशबाट खुलेका डिस्को र रेष्टुरेण्टमा आउने ग्राहकको कारण सो क्षेत्र असुरक्षित बनेको एकथरीको गुनासो छ।

यहाँका पर्यटनमन्त्री विकास लम्साल नै लेकसाइड २४ सै घण्टा खुलाउनु पर्ने पक्षमा छन् तर लेकसाइड २४ सै घण्टा खुल्ला भने हुन सकेको छैन। लेकसाइड खुल्ला राख्ने विषय अहिले अदालतमा विचाराधीन छ। प्रहरी महानिरीक्षक खनालले समस्या समाधानका लागि नागरिक समाज, होटल व्यवसायी, डिस्को संचालकहरुलाई मिलेर आउन आग्रह गरे ।

‘बसौँ, कसरी जाने भन्ने कुरा राखौं। सहज छ’, उनले भने, ‘सबैले बिजनेस पनि चलाइराख्नुपर्ने, सबैले पैसा पनि कमाउनुपर्ने, कसरी हुन्छ समाधान, मिलेर जाऔँ न।’ आईजी खनालको निर्देशनपछि प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) विनोद शर्मा घिमिरेले लेकसाइडमा हाल गत शुक्रबारदेखि लेकसाइडमा रातिको समयमा थप ५० जना प्रहरी परिचालन गरिएको बताए।

उनले लेकसाइड रातमा पनि सुरक्षित भएको जिकिर गरे।

कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव मनोहरप्रसाद खनाल, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारी,नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, प्रहरी नायव उपरीक्षक कृष्णप्रसाद अधिकारी, प्रहरी निरीक्षक चतुर्भुज बोहरालगायले बोलेका थिए।

२ करोड ७८ लाख ७० हजार रुपैयाँ लागतमा भवन निर्माण गरिएको हो । सो अवसरमा संघीय प्रहरी कार्यालयको भवन निर्माणमा उल्लेख्य कार्य गरेकोमा प्रहरी नायव निरीक्षक गणेश पाण्डे, प्रहरी हवल्दार बुद्धि श्रेष्ठ र प्रहरी जवान गौतम कुमाललाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .